प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सट्टाबाजी गर्ने/गराउनेमा संलग्न एक जना पक्राउ

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वानएक्स बेट, जुवा ३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने/ गराउनेमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ढुंगानाले विभिन्न ब्यक्तिहरूको नाममा रहेका मोबाइल नम्बरहरूबाट ११ वटा कनेक्ट आइपिएस एकाउन्ट, १५ वटा इसेवा वालेट एकाउन्ट लगायतका एकाउन्टहरूमा लिंक अप भएका ५६ वटा बैंक खाताबाट हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार १ सय २ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । सट्टेबाजी गर्न/गराउन प्रयोग भएका ल्यापटप १ थान, मोबाइल ६ थान, वाइफाइ राउटर १ थान, सिमकार्ड ३८ थान, एटिएम कार्ड ५ थान, चेकबुक १६ थान, भारतीय आधारकार्ड १ थान,  भारतीय प्यान कार्ड १ थान लगायत अन्य कागजातहरू समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ । 


सम्बन्धित समाचार
सार्वजनिक बसमा अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
२०८३-०७-२०

कञ्चनपुर, सार्वजनिक बसमा अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-९ मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, २४ वर्षीय अनिल नाथ र सोही नगरपालिका-३ तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन् । उनीहरूले काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सु.प.प्र.०२-००१ ख १५६३ नम्बरको रात्रि बसमा सवार महिला यात्रुलाई मंगलबार हातपात तथा अभद्र व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०७-२०

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने २५ वर्षीय प्रितम गुरूङ र २९ वर्षीया प्रिया गुरूङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१ लाल दरबारस्थित घरबाट सोमबार सुन तथा चाँदीका गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने विभिन्न गरगहना र नगद ३ लाख ४८ हजार रूपैयाँ समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।    पक्राउ मध्ये पुण्य प्रसादले अजरवैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख रूपैयाँ र श्रेयाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुण्य प्रसादलाई काठमाडौं महानगरपालिका-२६ बाट र श्रेयालाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८३-०७-१९

रौतहट, ईशनाथ नगरपालिका-४ महुलिया काली मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ३० लाख रूपैयाँ सहित भारत बिहार राज्य पूर्वी चम्पारन ग्राम फुलबरिया-१३ बस्ने ३० वर्षीय सनि कुमार जैसवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मठिया मौलियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त नगद गौर नगरपालिका-१ स्थित न्यू तराई ट्रेडर्सका संचालक ५१ वर्षीय शेख कमरूललाई दिन ल्याएको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रेडर्स तलासी गर्दा स्रोत नखुलेको नगद १४ लाख ६४ हजार ६ सय ५ रूपैयाँ फेला पारी शेखलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।