प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न थप क्रियाशील हुँदै नेपाल प्रहरी

२०८२-०९-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी क्रियाशील छ । सीमित साधन स्रोतको उच्चतम प्रयोग गर्दै निर्वाचनलाई सफल बनाउन नेपाल प्रहरीले उच्च मनोबलका साथ सुरक्षा रणनीतिलाई प्रभावकारी रूपमा परिचालन एवम् व्यवस्थापन गरी थप सक्रिय रूपमा प्रस्तुत हुँदै आएको छ । 

विगतमा भएका निर्वाचनको अनुभव र सिकाई समेतको आधारमा मजबुत सुरक्षा व्यवस्था गर्न ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरिएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्णयहरू समेतलाई आत्मसात् गरी उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्‍न गर्न नेपाल प्रहरी दृढ संकल्पित रहेको छ । 

आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको   छ । निर्वाचन लक्षित गस्तीलाई थप प्रभावकारी र पहुँचलाई व्यापक बनाइएको छ । हाल सम्म लामो दुरीको गस्ती १ हजार १ सय ३६ पटक र सानो दुरीको गस्ती ३ लाख ८९ हजार ९ सय ६० पटक गरिएको छ । यी गस्तीमा १३ लाख ४६ हजार ३ सय २८ जनशक्ती परिचालित गरिएको छ । निर्वाचनको विषयलाई लिएर हुन सक्ने तोडफोड, आगजनी जस्ता क्रियाकलाप नियन्त्रण गर्न दिनानुदिन प्रहरीले गस्तीलाई अझ प्रभावकारी रूपमा वृद्धि गर्दै आइरहेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीले नियमित गस्तीको साथसाथै सूचना संकलन, खतरा मूल्याङ्कन सहितको विश्लेषण तथा प्रवाहलार्इ प्रभावकारी बनाउने कार्य गरिरहेको छ । सीमा क्षेत्रमा हुने घुसपैठ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागि नियमित अनुगमन तथा प्रभावकारी रूपमा प्रहरी परिचालित छन् ।’ उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचार प्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको छ । निर्वाचन आयोग, निर्वाचन कार्यालयका पदाधिकारीहरू¸ निर्वाचनमा खटिने कर्मचारीहरू, राजनीतिक दलका कार्यालय, मतदानस्थल, निर्वाचन तथा मतदान सामग्री, मतपत्र छपाई, मतपेटिका ढुवानी, मतगणनास्थल लगायतको सुरक्षा व्यवस्थापनमा समेत प्रहरी थप संवेदनशील भई रणनीतिहरू तयार गरिएका  छन् । 

महत्वपूर्ण राजमार्ग लगायत सबै सडक मार्ग र अन्य पैदल मार्गहरूमा समेत कुनै किसिमको अवरोध हुन नदिन र अवरोध गरेमा तत्काल आवश्यक कारवाही एवम् समन्वय गरी सुचारू गर्न समेत प्रहरी तल्लीन छ । महत्वपूर्ण तथा संवेदनशील प्रतिष्ठान र संरचनामा विशेष सुरक्षा व्यवस्था मिलाउन, निर्वाचन विरोधी समूहहरूको गतिविधिको निगरानी, नियन्त्रण र कारवाही गर्न¸ अवैध तथा जबरजस्ती चन्दा संकलन र धम्की नियन्त्रण गर्ने, अराजक, उच्छृखंल, आपराधिक क्रियाकलाप एवम् गुण्डागर्दी नियन्त्रण गर्न प्रहरी क्रियाशील छ । निर्वाचनको समयमा अत्यावश्यक वस्तुको सहज आपूर्ति र सेवा प्रवाहको व्यवस्था मिलाउन, निर्वाचन आचार संहिता पालना गराउन, मानव अधिकारका आधारभूत मूल्य र मान्यताहरूलार्इ पालना गर्न/गराउन, निर्वाचन सम्बन्धी कार्यको केन्द्रदेखि मतदानस्थलसम्म अनुगमन, सुपरीवेक्षण गरी परिस्थिति अनुसार सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँदै लैजान प्रहरी थप क्रियाशील रहेको छ । 

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भौतिक रूपमा क्षतिग्रस्त संरचनाहरूको पुन: निर्माण गरी पूर्ण क्षमतामा संचालन एवम् प्रभावकारी जनशक्ति परिचालनलाई समेत उच्च प्राथमिकतामा राखि प्रहरीले कार्यसम्पदान गर्दै आइरहेको छ । प्रहरी नायव महानिरीक्षक काफ्ले भन्नुहुन्छ, ‘जेन-जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालयहरूको पुन: निर्माण एवम् सवारी साधनको व्यवस्थापनको कार्यलाई तीव्रता दिई पूर्ण क्षमतामा संचालन गर्ने प्रयास गरिएको छ । निर्वाचनको समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति तयार गरी योजनाबद्ध रूपमा प्रहरी परिचालनलाई विशेष जोड दिएको छ । राजनीतिक दलहरूबीच हुने अस्वस्थ प्रतिस्पर्धा, जेन-जी आन्दोलनपछिका राजनीतिक विभाजन र असहमतिका कारण विभिन्न पार्टी वा समूहले निर्वाचनलाई बहिष्कार वा अवरोध गर्न सक्ने सम्भावनाका साथै मतदाता, उम्मेदवार र निर्वाचन कर्मचारीहरूलाई धम्की वा हिंसाको जोखिम जस्ता चुनौतीहरूको सूचना संकलनमा प्रहरी थप सचेत र सजग भई कार्य गरिरहेको छ ।’ साथै उम्मेदवारको सुरक्षा सुनिश्चितता, सामाजिक सञ्जालहरूको दुरूपयोगबाट उत्पन्न हुन सक्ने प्रतिकूल अवस्थाको नियन्त्रण, देशभर स्वतन्त्र उम्मेदवारको नाममा राजनीतिक दल प्रमुख, उम्मेदवारहरू विरूद्धमा उत्पन्न हुन सक्ने गतिविधि नियन्त्रणमा समेत प्रहरी सक्रिय रूपमा अगाडि बढिरहेको छ ।   

आन्दोलनको क्रममा लुटिएका तथा हराएका हातहतियार तथा असवाव लगायतका सामाग्रीबाट हुन सक्ने संभावित खतरालाई निस्तेज गर्न ‍लुटिएका हातहतियारको पहिचान र बरामद गर्न नेपाल प्रहरीले विशेष टोली निर्माण गरी परिचालन गरेको छ । आन्दोलनको क्रममा लुटिएका तथा हराएका हातहतियार बरामद एवम् फरार कैदीबन्दी तथा थुनुवाहरूको पक्राउ बारे प्रहरी नायव महानिरीक्षक काफ्ले भन्नुहुन्छ, ‘आन्दोलनको क्रममा लुटिएका तथा हराएका हातहतियार बरामदको साथै कारागारबाट फरार कैदीबन्दी एवम् हिरासतबाट फरार रहेका थुनुवाहरूलाई पक्राउ गर्न प्रहरीले ७ वटै प्रदेशमा विशेष अभियान संचालन गरेको छ । निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गराउन देखापर्न सक्ने सम्भावित चुनौतीहरूको पहिचान र त्यस्ता चुनौतीहरूको सामना गर्न प्रहरी कटिबद्ध छ ।’ 

प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत सुरक्षा योजना, २०८२ तालुक गृह मन्त्रालयबाट स्वीकृत भइसकेको सन्दर्भमा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन आवश्यक तयारीका निमित्त नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति बारे प्रहरी अतिरिक्त महानिरीक्षक चतुर्बेदी भन्नुहुन्छ, ‘आसन्न निर्वाचनलाई निष्पक्ष एवम् भयरहित वातावारणमा सम्पन्न गराउन उच्च मनोबालका साथ प्रहरी खटिरहेको छ । निर्वाचन लक्षित सुरक्षा योजना निर्माण एवम् परिचालनको लागि स्थानीय तह र अन्य सुरक्षा निकायहरूसँग आवश्यक समन्वय भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ बमोजिम उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूमा प्र.व.उ /प्र.उ को कमाण्डमा र जिल्ला प्रहरी कार्यालयहरूमा  प्र.ना.उ./प्र.नि.को कमाण्डमा निर्वाचन सेल गठन गरी प्रारम्भिक चरणका कार्यहरू गरिएको छ ।’  

भौगोलिक विकटता तथा प्रतिकूल मौसमको कारण हुन सक्ने सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी मतदान केन्द्र तथा मतगणनास्थलसम्म निर्वाचन सामग्रीको ढुवानी तथा सुरक्षा व्यवस्थापनमा प्रहरीले आवश्यक योजना बनाइरहेको छ । नेपाल प्रहरीले निर्वाचनलाई सम्पन्न गराउन सबै सरोकारवाला पक्ष र अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको छ । विभिन्न राजनीतिक दलहरूसँग नियमित संवाद तथा समन्वय साथै सर्वपक्षीय छलफल, अन्तर्क्रिया मार्फत निर्वाचनको वातावरण तयार गर्न प्रहरी क्रियाशील छ ।  

सम्बन्धित समाचार
चाडपर्वको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी
२०८३-०७-१९

काठमाडौं, नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड दिपावली, नेपाल सम्वत् र छठपर्व लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गरी कार्य गरिरहेको छ । चाडपर्वको समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न तथा कुनै पनि किसिमका अवाञ्छित घटना हुन नदिन सुरक्षा योजना अवलम्बन गरी सोही अनुरूप प्रभावकारी रूपमा प्रहरी परिचालन भइरहेको छ । देउसी-भैलो कार्यक्रम रातको निश्चित समय (स्थानीय प्रशासनले तोकेको समय) भित्र मात्र मर्यादित रूपमा सञ्चालन गर्ने, तिहारमा बालिने दियो, बत्ती र पटकाका कारण हुनसक्ने आगलागीको जोखिमलाई ध्यानमा राखी दमकल एवम् विपद् व्यवस्थापन टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘सीमा नाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात तथा मुख्य बजार क्षेत्रहरूमा विशेष अनुगमन र चेकिङ टोली खटाई पटका लगायत अन्य प्रज्ज्वलनशील/विष्फोटक पदार्थको गैर कानूनी ओसारपसार, भण्डारण र बिक्री वितरणलाई पुर्णरुपमा नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा क्रियाशील भइरहेको छ । पटका नपड्काउन, जुवा तास नखेल्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा पर्व मनाउन स्थानीय रेडियो, पत्रपत्रिका र सामाजिक सञ्जालहरू मार्फत सूचना प्रवाह गर्नुका साथै जुवातास, सट्टेबाजी र अवाञ्छित गतिविधि हुनसक्ने सम्भावित क्षेत्रहरूमा आवश्यकता अनुसार सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । पटका र विस्फोटको सट्टा दीप प्रज्वलन, देउसी-भैलो, सांस्कृतिक कार्यक्रम तथा पारिवारिक भेटघाटमार्फत तिहारको खुसी साटासाट गरौँ । आफ्नो खुसीले अरूको सुरक्षा, स्वास्थ्य र वातावरणमा असर नपर्ने कुरामा सचेत बनौँ ।’ चाडपर्वका बेला निकालिने र्‍याली, जुलुस वा शोभायात्राको मार्ग र समयका कारण दुई समुदाय बीच हुनसक्ने विवाद वा झडपलाई न्यूनीकरण गर्न सुरक्षा व्यवस्थापन थप मजबुत पारिएको छ । चाडपर्व, पूजाआजा वा मेलाहरूमा राति अबेरसम्म चर्को आवाजमा डिजे र साउण्ड सिस्टम बजाउने, पटका पड्काउने, आतिशबाजीको भयानक आवाजले ध्वनि प्रदूषण हुने जस्ता गतिविधिले वृद्धवृद्धा, बालबालिका, बिरामीहरूमा नकारात्मक असर पर्न जान सक्ने सम्भावनालाई समेत मध्यनजर गरी सुरक्षा व्यवस्थापन चुस्त बनाइएको छ । चाडपर्वको नाममा अनियन्त्रित रूपमा मादक पदार्थ सेवन गर्ने र जुवातास खेल्ने प्रवृत्तिले गर्दा घरेलु हिंसा, कुटपिट र व्यक्तिगत झगडाहरू समेत हुने तथा मेला परिसर वा सार्वजनिक ठाउँहरूमा प्लाष्टिक, फूलमाला र पूजा सामग्रीहरूको अव्यवस्थित विसर्जनले जल र स्थल प्रदूषण हुन/गर्न नदिन सम्बद्ध पक्षहरूसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको छ । तिहार पर्वमा पटका तथा आतिसबाजी नगर्न नेपाल प्रहरीको विशेष अनुरोध :तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व हो । यस पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउनु हामी सबैको साझा दायित्व हो । पटका, आतिसबाजी तथा पटकाजन्य पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले नेपाल प्रहरी आम नागरिकहरूमा विशेष अनुरोध गर्दछ । पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने हुनाले त्यसको प्रयोग नगर्न प्रहरीले विशेष अनुरोध गरेको छ । बालबालिकाको हातमा पटका तथा प्रज्वलनशील पदार्थ नदिन, उनीहरूलाई यस्ता वस्तुबाट टाढा राख्नुका साथै अभिभावकले विशेष निगरानी र सचेतना अपनाउनुपर्ने, आगलागीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने, विद्युत सर्ट हुन सक्ने सम्भावनालाई ध्यानमा राखी घर तथा पसलको सुरक्षा गर्नुपर्ने, पटका तथा अन्य विस्फोटक पदार्थको आवाजबाट हुनसक्ने ध्वनि प्रदूषण नियन्त्रणमा सहयोग गर्न, सार्वजनिक स्थान तथा सडकमा पटका नपड्काउन, पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार नगर्न एवम् मादक पदार्थ सेवन गरी यात्रा नगर्न समेत प्रहरीले विशेष अनुरोध गरेको छ । कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न अनुरोध गर्दै घाइतेलाई यथाशीघ्र उद्दार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ । अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन १०० मा जानकारी गराई सहयोग गर्ने समेत सबै नागरिकहरूलाई प्रहरीले आग्रह गरेको छ । कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणमा प्रहरीको सक्रियता :चाडपर्वको समयमा खाद्यान्न, लत्ताकपडा, इन्धन, उपभोग्य वस्तु तथा दैनिक आवश्यकताका सामग्रीको माग बढ्ने हुँदा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने र उपभोक्तालाई ठगी गर्ने गतिविधि हुन सक्ने भएकाले नेपाल प्रहरीले त्यस्तो गतिविधि नियन्त्रण गर्न विशेष सक्रियता अपनाएको छ ।नेपाल प्रहरीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी बजार अनुगमनमा सहकार्य गरिरहेको छ । कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा बढी मूल्य लिने व्यवसायीमाथि निगरानी र आवश्यक अनुसन्धान गर्ने,  उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने म्याद गुज्रिएका, नक्कली तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण सम्बन्धी सूचनामा तत्काल कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुका साथै ठूला व्यापारिक केन्द्र, गोदाम, डिपो, बजार क्षेत्र तथा आपूर्ति मार्गहरूमा आवश्यक सुरक्षा निगरानी र चेकजाँचलाई थप तीव्र बनाउँदै प्रहरीले कार्य गरिरहेको छ । कालोबजारी, मूल्यवृद्धि र उपभोक्ता ठगी सम्बन्धी सूचना संकलन गरी तत्काल प्रहरी परिचालन गर्ने तथा प्राप्त उजुरीमाथि अनुसन्धान गर्नुका साथै उपभोक्ताबाट प्राप्त गुनासो, सूचना तथा उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रहरी कार्यालयहरूलाई सक्रिय बनाउनुका साथै आवश्यकता अनुसार संयुक्त अनुगमन टोली परिचालन गरिने छ । फूलमाला तथा पूजासामग्रीको बिक्रीवितरणमा उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले व्यवसायीलाई पारदर्शी मूल्यमा बिक्रीवितरण गर्न अनुरोध गर्दै फूलमाला तथा अन्य पूजासामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने र उपभोक्तालाई ठगी गर्ने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन, मूल्यसूचीको पालना तथा उपभोक्ता हित संरक्षणमा निगरानी गर्ने कार्य समेत प्रहरीले गरिरहेको छ ।चाडपर्वको अवधिमा देशभर समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गरिएको छ । चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभवाकारी रूपमा प्रहरी परिचालित हुनेछन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनहरूको सम्बन्धमा बाहिरिनु भन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे नराखेको चेकजाँच, TCA (Traffic Communication Application) को प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल चेकजाँच समेत गरिनेछ ।नेपाल प्रहरी तिहार पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध छ । यस अभियानमा आम नागरिक, अभिभावक, व्यवसायी, स्थानीय तह तथा सरोकारवाला सबैको सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ । नेपाल प्रहरीले चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा शान्तिपूर्ण वातावरण कायम गर्न ‘सूचना-प्रविधि-प्रहरी परिचालन-नागरिक सहकार्य’ लाई मुख्य आधार बनाउँदै सुरक्षा व्यवस्था मिलाएको छ ।“ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईहरूको साथमा छ ।”

१५ दिनको अवधिमा २ सय ३९ जना लागूऔषध कारोबारी पक्राउ
२०८३-०७-११

काठमाडौं, सुनसरी इनरूवा नगरपालिका-४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा ९ सय १५ किलो ६ सय ८० ग्राम सहित ३६ वर्षीय बुलबुल यादव समेत ४ जना कात्तिक १ गते पक्राउ परे । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित बारा घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा घर भएका २७ वर्षीय सुनिल सहनी कात्तिक २ गते पक्राउ परे ।  विगत १५ दिनको अवधिमा अवैध लागूऔषध सहित पक्राउ पर्ने बुलबुल यादव लगायतका व्यक्तिहरू प्रतिनिधि पात्र मात्र हुन् । नेपाल प्रहरीले यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशभरबाट २ सय ३९ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये लागूऔषध नियन्त्रण ब्यूरोबाट ३ जना, उपत्यकाबाट ४७ जना, कोशी प्रदेशबाट ३८ जना, मधेश प्रदेशबाट २४ जना, बागमती प्रदेशबाट २६ जना, गण्डकी प्रदेशबाट १२ जना, लुम्बिनी प्रदेशबाट ३९ जना, कर्णाली प्रदेशबाट १८ जना र सुदूरपश्चिम प्रदेशबाट ३२ जना पक्राउ परेका हुन् । पछिल्लो समयमा लागूऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणमा प्रहरीले विशेष अप्रेशन सञ्चालन गरी कार्य गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न नेपाल प्रहरी आक्रमक रूपमा प्रस्तुत भइरहेको छ । चाडपर्वको समयमा समेत लागूऔषध कारोबार हुने विभिन्न नाकाहरूमा सुक्ष्म रूपमा सूचना संलकनका साथै योजनावद्ध प्रभावकारी प्रहरी परिचालन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय भई कार्य गरिरहेको छ ।’सो अवधिमा अवैध लागूऔषध गाँजा २ हजार ८ सय ७९ किलो ६८९ ग्राम ६८ मिलिग्राम, चरेस करिब ३६ किलो, अफिम १ किलो ३१६ ग्राम ५२१ मिलिग्राम, हेरोइन १ किलो ७७ ग्राम ९१९ मिलिग्राम, कोकिन २७ ग्राम ६७८ मिलिग्राम तथा  विभिन्न किसिमका नियन्त्रित लागूऔषध समेत प्रहरीले बरामद गरेको छ ।   विगत १५ दिनको अवधिमा विभिन्न अपराधमा संलग्न १ हजार ३ सय २७ जना पक्राउनेपाल प्रहरीले यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशभरबाट १ हजार ३ सय २७ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये ब्यूरोहरूबाट ४ जना, उपत्यकाबाट २ सय ३० जना, कोशी प्रदेशबाट २ सय ४ जना, मधेश प्रदेशबाट २ सय ८९ जना, बागमती प्रदेशबाट १ सय जना, गण्डकी प्रदेशबाट ९१ जना, लुम्बिनी प्रदेशबाट २ सय ३ जना, कर्णाली प्रदेशबाट ६० जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ४६ जना पक्राउ परेका हुन् । सो अवधिमा १ हजार ४ सय २२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ज्यान सम्बन्धी कसुर अन्तर्गत २ सय ६४, आत्महत्या सम्बन्धी १ सय २६, चोरी सम्बन्धी १ सय ५८, लागूऔषध सम्बन्धी २ सय ७, हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी ८, अपहरण तथा शरिर बन्धक सम्बन्धी ३, आर्थिक अपराध सम्बन्धी ३९, चेक अनादर सम्बन्धी १ सय ८, सामाजिक अपराध सम्बन्धी २ सय ६१, महिला तथा बालबालिका सम्बन्धी १ सय २, सवारी सम्बन्धी १ सय २९, विद्युतीय कारोबार सम्बन्धी ७, लिखित सम्बन्धी ५ र नागरिकता सम्बन्धी कसुर अन्तर्गत ५ वटा मुद्दाहरू दर्ता भएका हुन् । गत वर्षको दसैंको अवधिमा ८ सय १ जना पक्राउ परेका थिए भने ९ सय ६० वटा मुद्दा दर्ता भएको थियो ।  आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ । 

चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित
२०८३-०७-०९

काठमाडौं, सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो जनधनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक, मापसे, लापसे लगायतका कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना हुन नदिन तथा यात्रुहरूलाई आवगमनमा  सहजता प्रदान गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित भइरहेको छ । यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १ सय २४ जनाको मृत्यु भएको छ । तीमध्ये ८३ जना पुरूष, ३९ जना महिला, ७ बालक र ५ बालिका रहेका छन् । ती दुर्घटनामा परी २ हजार ९८८ जना घाइते भएका छन् । घाइते मध्ये ४ सय ३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका छन् । चाडपर्वको अवधिमा दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धमा चालिएको कदम बारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरूको सुरक्षा तथा सहजताको लागि प्रभावकारी व्यवस्थापन गरेको छ । सवारी छुट्ने स्थानमै चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे/नराखेको चेकजाँच, TCA (Traffic Communication Application) को प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए/नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल टेष्ट (चेकजाँच) गर्दै सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्य तर्फ पठाउने व्यवस्था मिलाईएको छ ।’ सो अवधिमा देशका विभिन्न स्थानमा १ हजार ३३९ वटा सवारी दुर्घटनाका घटनाहरू भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा १७१ वटा, कोशी प्रदेशमा ३९७ वटा, मधेशमा ८० वटा, बागमतीमा ११२ वटा, गण्डकीमा ९७ वटा, लुम्बिनीमा १६१ वटा, कर्णालीमा १७१ वटा र सुदूरपश्चिममा १५० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा मोटरसाइकल १ हजार ५५२ वटा, जिप\कार ३३७ वटा, टेम्पो २०७ वटा, ट्रक\ट्याङ्कर ७१ वटा, माइक्रोबस ६४ वटा, बस ५४ वटा, ट्याक्टर ३८ वटा, टिपर १५ वटा, डोजर\स्काभेटर\लोडर १० वटा र अन्य १३३ वटा गरी जम्मा २ हजार ४८१ वटा सवारी साधनहरू संलग्न रहेका छन् । तथ्यङ्कको विश्लेषण गर्दा सबै भन्दा बढी दुर्घटना कोशी प्रदेशमा र सबै भन्दा कम मधेश प्रदेशमा भएका छन् भने सबै भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । गत वर्षको दसैंको अवधिमा कुल १ हजार ४ सय ९२ वटा सवारी दुर्घटनाका घटनाहरू भएका थिए । ट्राफिक नियम उल्लङघन गर्ने ५ हजार ७०३ सवारी साधन कारबाही :दसैंको अवधिमा देशभरबाट ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको छ । जसमध्ये मादक पदार्थ सेवन अन्तर्गत २ हजार ७९४, सिट क्षमता भन्दा बढी १ हजार ८८२, तीव्र गति ७४६, यान्त्रिक परिक्षण कारबाहीतर्फ ८८, छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लापसे ५३ र TCA तर्फ ९ वटा गरी ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको हो । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रहरीले कारबाही गर्ने भन्दा पनि यात्रु एवम् चालकहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राखी दुर्घटना हुन सक्ने स्थानको पहिचान गरेर नियमित तथा आकस्मिक रूपमा चेकजाँच गर्ने गर्छ । सुरक्षित र मर्यादित सडकको प्रयोग एवम् सवारी आगमनलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीले विभिन्न प्रविधिहरूको समेत प्रयोग गरी कार्य गरिरहेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाएको देखेमा, पाइएमा नजिकको प्रहरी कार्यालय वा १००/१०३ मा खबर गर्नुहुन आम नागरिकमा अनुरोध छ ।’  नेपाल प्रहरीले दुर्घटना न्यूनीकरणको लागि ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत संचालन गर्दै आइरहेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यस वर्षको दसैंको अवधिमा देशभर ४ सय ८ वटा यात्रु सहायता कक्ष, अन्तर्राष्‍ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरी दुर्घटना न्यूनीकरणमा विशेष सतर्कता अपनाई कार्य गरिएको थियो । साथै नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘दिपावली, नेपाल सम्वत् र छठपर्व’ लगायतका पर्वहरूलाई केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले सवारी दुर्घटना न्यूनीकरणमा विशेष योजना अवलम्बन गरी कार्य गरिरहेको छ ।

विपद् उद्धार कार्य तथा सडक व्यवस्थापनमा सक्रिय नेपाल प्रहरी
२०८३-०६-१२

काठमाडौं, प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्यलाई अन्य सुरक्षा निकाय तथा स्थानीय तहसँगको समन्वयमा सक्रियताका साथ गरिरहेको छ । यसका साथै विपद् प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न समेत प्रहरी अहोरात्र खटिरहेको छ । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १० जना, मनाङमा ४ जना, म्याग्दीमा ६ जना, पाल्पामा ५ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् ।  बाढी, पहिरो लगायतका विपद्‍मा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार ६ सय ४ जनाको उद्धार गरिएको छ । साथै १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिरोका कारण १ सय ६८ वटा घर, २० वटा गोठ, ४ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा १ सय १३ वटा पशु चौपायको मृत्यु भएको छ । साथै विपद्‍का घटनाबाट २ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन् । वर्षा कम भएसँगै केही स्थानमा सडक एकतर्फी सुचारू भइसकेको छ भने अन्य धेरै स्थानमा सडक अझै पनि पूर्ण रूपमा बन्द रहेका छन् ।बाढी पहिरोका कारण कान्थिलोकपथ (टाकुर्चे र पाङ्दुर खण्ड), पृथ्वी राजमार्ग (बेनीघाट खण्ड-धादिङ र घाँसीकुवा सडकखण्ड-तनहुँ), पृथ्वी लोकमार्ग (धादिङ),  रसुवा र नुवाकोट जिल्लाका मुख्य राजमार्ग, हेटौंडा-भैंसे-भीमफेदी फाखेल-काठमाडौं सडक (महालक्ष्मी खोला नजिक), नारायणगढ-मुग्लिङ सडकखण्ड (चितवन), मध्यपहाडी लोकमार्ग (बागलुङ, लमजुङ), कालीगण्डकी कोरिडोर (बागलुङ, नवलपरासी पूर्व, गुल्मी), चामे-बेसीशहर सडकखण्ड (मनाङ, लमजुङ), बेनी-जोमसोम सडकखण्ड (म्याग्दी), बेनीदरबाङ सडकखण्ड (म्याग्दी), जोमसोम कोरोला सडकखण्ड (मुस्ताङ), मालढुंगा बेनी सडकखण्ड (पर्वत), घोराही थवाङ रूकुम शहिदमार्ग (रोल्पा), मदन भण्डारी राजमार्ग (रोल्पा), रूद्रबिनि वामीटक्सार सडकखण्ड (गुल्मी), तुलसी घोराही सडकखण्ड (दाङ), गाईघाट वालिङ सडकखण्ड (पाल्पा), सिदार्थ राजमार्ग (पाल्पा), ढोरपाटन सडकखण्ड (अर्घाखाँची), कर्णाली राजमार्ग (कालिकोट), कर्णाली कोरिडोर (हुम्ला), नाग्म गम्गढी सडकखण्ड (मुगु), भेरी कोरिडोर (डोल्पा) र महाकाली राजमार्ग (बैतडी) लगायतका राजमार्ग तथा सडकखण्डहरू पूर्णरूपमा अवरोध भएका छन् ।     यसैगरी पृथ्वी राजमार्ग (कृष्णभीर खण्ड), मध्यपहाडी लोकमार्ग (पर्वत तामादी खोलाखण्ड) र बिपी राजमार्ग (काभ्रे) एकतर्फी सुचारू भएको छ भने सिद्धिचरण लोकमार्ग (सोलुखुम्बु र उदयपुर), मध्यपहाडी लोकमार्ग (भोजपुर), टोखा छहरे सडकखण्ड (नुवाकोट) मा रात्रीकालीन आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ ।   प्रहरीले अवरूद्ध भएका देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डहरू अन्य निकाय तथा स्थानीयबासीको समन्वय र सहयोगमा उपकरणसहित सडक सुचारू गर्न र पहिरो पन्छाउन निरन्तर खटिरहेका छन् । यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजबाट सडकको ताजा अवस्था बुझ्न नेपाल प्रहरी अनुरोध समेत गर्दछ ।  

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु
२०८३-०६-१०

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै ४ सय ७ जनाको उद्दार गरिएको छ । यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।

विपद् पश्चात नागरिकको दैनिकीलाई सहज बनाउन नेपाल प्रहरी निरन्तर सक्रिय
२०८३-०५-२९

काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । नदी तटीय क्षेत्रका बस्ती, सडक र पुलहरू भग्नावशेषमा परिणत भएका छन् । बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढी पछिको अवस्थालाई सामान्य बनाउन आफ्नो सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरीले विपद्को समयमा नागरिकको सहयात्री बनेर जनजीवनलाई चाँडो भन्दा चाँडो सामान्य बनाउन निरन्तर रूपमा खटिरहेको छ ।नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुंगामाटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवम् स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाई गरी पुनसंचालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेर प्रहरीले जिम्मेवारी वहन गरिरहेको छ । प्रहरीले स्थानीय तह, स्थानीय बासिन्दा अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै तीव्र रूपमा काम गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढी प्रभावित क्षेत्रहरूमा नागरिकको जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरी थप क्रियाशील भएर लागि परेको छ । पीडितहरूको घर सफा गर्ने, भग्नावशेषबाट भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने, स्कुल, स्वास्थ्य संस्थाहरूमा जम्मा भएका ढुंगामाटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । यस विषम परिस्थितिमा नागरिकको सुरक्षा, विपद्‍बाट सिर्जित मनोवैज्ञानिक त्रास समेतलाई मध्यनजर गरी नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन नेपाल प्रहरी प्रयासरत छ ।’  भोटेकोशी बाढीले भौतिक तथा मानवीय क्षति मात्र नभई प्रभावित क्षेत्रका बासिन्दा विशेष गरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूमा गम्भीर मनोवैज्ञानिक त्रास समेत सिर्जना गरेको छ । बाढीमा घर, परिवार र सम्पत्ति गुमाउँदा प्रभावित क्षेत्रका बसिन्दाहरूमा मानसिक तनाव उत्पन्न हुन सक्ने जोखिमलाई समेत ध्यानमा राखेर पीडितहरूलाई मनोपरामर्श (Psychosocial Counseling) सेवा प्रवाह गर्दै उनीहरूको दैनिक जीवनयापनमा समेत सहजीकरण गरिरहेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत स्थानीय समुदाय विशेष गरी महिला, बालबालिका युवा, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै नागरिकलाई पुन:स्थापनमा सहजीकरण गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेलिरहेको छ । बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति थप संवेदनशील भई कार्य गर्नुका साथै उद्दार गरिएका व्यक्तिहरूलाई पारदर्शी राहत वितरणमा स्थानीय तह एवम् सरोकारवाला निकायसँग समन्वय गर्दै व्यवस्थित रूपमा कार्य गरिरहेको छ ।बाढी प्रभावित जिल्लाहरूमा हालसम्म समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १ सय ९६ वटा कार्यक्रम मार्फत ४७ हजार ७ सय ७४ जना व्यक्तिहरू लाभान्वित भएका छन् ।  T2T(TIMURE TO TRIVENI) Operation अप्रेशन समेत संचालन गरी प्रहरीले विपद् पश्चातको विभिन्न व्यवस्थापन कार्य गरिरहेको छ ।  स्थानीय बासिन्दा अझै पनि त्रास र चिन्तामा छन् । एक स्थानीय महिला भन्छिन, ‘बाढीले धेरैको घरहरू बगायो । केही  घरहरू माटोले पुरिएका छन् । हामी घरहरू खोतल्दै गर्दा प्रहरीहरू आएर हामीलाई हिलो सरसफाई अनि सामानहरू सार्न सहयोग गरिरहेका छन् । प्रहरीसँग मिलेर काम गर्दा छिटो पनि हुनेरहेछ ।’ प्रहरीको यो निरन्तर प्रयासले त्यहाँका बासिन्दाहरूमा हौसला जगाएको छ र उनीहरूले थोरै भएपनि राहत महसुस गरिरहेका छन् ।