प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

२०८१-०९-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय याद बहादुर बुर्जा मगर र बारा पचरौता नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय संजय साह बानिया रहेका छन् । 

पक्राउ मध्ये याद बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ७५ हजार रूपैयाँ र संजयले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले याद बहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र संजयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०५-०५

काठमाडौं महानगरपालिका-१० शंखमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा सोही होस्टलमा बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही होस्टलमा १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले शुक्रबार बिहान कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका बसन्तको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ‍भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धानको लागि ५ जनालाई नियन्त्रणमा लिई हाल फरार प्रमितको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०५-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका ५१ वर्षीय फुलमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फुलमानले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०५-०३

काठमाडौं, रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, सोही नगरपालिका-१ बस्ने उदयपुर घर भएका ७० वर्षीय संजिब थापा, चाँगुनारायण नगरपालिका-५ बस्ने ५८ वर्षीय मदन कृष्ण फोजु, काठमाडौं बस्ने नुवाकोट घर भएका ५७ वर्षीय उमेश प्रसाद ढकाल र काठमाडौं बालाजु बस्ने ६७ वर्षीय ईन्द्र बहादुर केसी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल रेडक्रस सोसाइटी संस्थाको लागि गोदाम घर सञ्चालनको लागि भक्तपुर, भक्तपुर नगरपालिका-४ (क) मा खरिद गरेको जग्गा बोलपत्रमा उल्लेख भएको सर्त विपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत गरेको, जग्गा खरिदमा ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रूपैयाँ भुक्तानी गरेकोमा सो रकम मध्ये १ करोड ९३ लाख ७ सय ५० रूपैयाँ मध्यस्थकर्ता (बिचौलिया) ले लिएको एवम् क्षेत्रफल ५-१३-३-० जग्गा खरिद गरेकोमा नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल एकिन गराउँदा फिल्डमा क्षेत्रफल ५-६-२-१ मात्र रहेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

सुनको सिक्री लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०५-०२

भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीका विभिन्न स्थानबाट सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनको सिक्री लुटपाट गर्नेहरू काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-२ घर भएका ३२ वर्षीय योगेन्द्र तामाङ र काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ ढोईगाउँ घर भएका ३६ वर्षीय काले भन्ने देबेन्द्र थापा मगर तथा चोरी भएको सुन खरिद गर्नेहरू काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ मालबासे घर भएका ४० वर्षीय मिलन विक र काठमाडौं महानगरपालिका-१८ भेडासिंह बस्ने भारत कलकत्ता वेष्ट बंगाल घर भएका ४० वर्षीय संजित साम्नत रहेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बिग मार्ट नजिकमा गत असार २६ तथा लोकन्थली हनुमान चोकमा गत असार ३० गते मोटरसाइकलमा सवार अपरिचित २ जना व्यक्तिहरूले पैदल हिँडिरहेका महिला तथा जेष्ठ नागरिकहरूको घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०५-०२

काठमाडौं,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने बर्दिया बासगढी नगरपालिका-५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौं शंखरापुर नगरपालिका-८ बस्ने ५० वर्षीय रंजित केसी रहेका छन् । पक्राउ मध्ये रेश्माले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ र रंजितले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रेश्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट आइतबार र रंजितलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।