प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात भएका उल्लेखनीय कार्यहरू

२०८३-०२-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठानिक सुदृढीकरणमा विभिन्न प्रयासहरू भएका छन् । 

जसमध्ये प्रहरी कल्याण, कर्मचारी हित तथा मनोवल अभिवृद्धि, प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरण, नीतिगत, कानुनी तथा संगठनात्मक सुधार, संस्थागत क्षमता विस्तार,  समुदाय-केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रम, पूर्वाधार विकास तथा सेवा विस्तारका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका छन् ।

प्रहरी कल्याण, कर्मचारी हित तथा मनोवल अभिवृद्धितर्फ प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगी सम्मलाई आकस्मिक समस्या समाधानको लागि ५% ब्याजदरमा २ लाख रूपैयाँ आकस्मिक सहुलियत कर्जा उपलब्ध गराउने गरी कल्याण कोषको सेवा बिस्तार गरिएको, यस अवधिमा प्रहरी कल्याण कोषबाट ४,८४७ जना प्रहरी कर्मचारीलाई २,३८,७३,२३,९०५ रुपैयाँ बराबरको सहुलियत कर्जा, घर खरिद वा निर्माण कर्जा, शैक्षिक कर्जा, सवारी साधन खरिद कर्जा, निर्ब्याजी उपचार सापटी, आकस्मिक सहुलियत कर्जा उपलब्ध गराइएको छ । प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि,२०८० लाई संशोधन गरी समयानुकूल सेवा अभिवृद्धि र सेवा सुविधा बिस्तार गर्नुका साथै प्रहरी कल्याण कोषबाट प्रवाह हुने सेवाहरूलाई सरल, सहज र छरितो हुने गरी व्यवस्था मिलाइएको छ । 

यसैगरी प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरणतर्फ नेपाल प्रहरी प्रधान कार्यालयमा Artificial Intelligence And Advance Analytics Cell (AI-AAC) को स्थापना गरी सञ्चालन गरिएको, अभियुक्त र कसूरदारको अभिलेखीकरण (Recording) र ट्रयाकिङ (Tracking) प्रणाली सम्बन्धी SOP- स्वीकृत भई कार्यान्वयनमा आएको छ । यस अवधिमा ६७४७५३ जनालाई चारित्रिक प्रमाण पत्र वितरण गरिएको छ । हाल नेपाल प्रहरीमा संचालनमा रहेको प्रहरी मोबाइल एप मार्फत सर्वसाधारणले उजुरी तथा निवेदन दिन सक्ने व्यवस्था मिलाइएको, विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा प्रदेशका नाकाहरू सहित देशभरका विभिन्न स्थानमा १०४२ वटा CCTV क्यामेरा जडान भएको छ ।  

नीतिगत, कानुनी तथा संगठनात्मक सुधारतर्फ सरूवा कार्यान्वयनलाई व्यवस्थित बनाउन बढुवा तथा पदस्थापन भएका प्रहरी कर्मचारीहरूलाई आफ्नो दरबन्दीमा हाजिर भएपश्चात मात्रै दर्ज्यानी चिह्न प्रदान गर्ने पद्दतीको शुरूवात गरिएको छ । संगठनको निष्पक्षता, पारदर्शीता र व्यावसायिक मर्यादालाई अक्षुण्ण राख्ने उद्देश्यले बाह्य प्रभाव पार्ने वा त्यस्तो प्रभावमा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधी तीनपुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको संस्थागत रूपमा औपचारिक शुभारम्भ गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर समिति गठन भई छलफल अगाडि बढाइएको, 

कार्यसम्पादन र मूल्याङ्कन अभिलेख ढाँचा प्रतिवेदन,२०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, नेपाल प्रहरी रणनीतिक सम्मेलन प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, Training Need Analysis (TNA) कार्यविधि, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल प्रहरीका लागि आवश्यक हातहतियार तथा खरखजना र भिड नियन्त्रणका लागि आवश्यक असवावका सामाग्रीहरूको आवश्यकताको मापदण्ड, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, जेन-जी (gen-Z) लगायतका युवा पुस्ताहरूको अभिरूची र जोखिमको विश्रलेषण प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, भिड नियन्त्रणको क्रममा Baton/Firearms को प्रयोग मापदण्ड, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, भीड नियन्त्रणको विशिष्टिकृत प्रशिक्षण क्षमता विकासको निमित्त मापदण्ड निर्माण गर्ने सम्बन्धी प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल प्रहरी रणनीतिक योजना २०८३-२०८५ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल सरकारबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीका नेपाल प्रहरीसँग सम्बन्धित बुँदाहरू कार्यान्वयन भइरहेको, नेपाल प्रहरी ठाडो निवेदन उपर छलफल र मेलमिलाप सम्बन्धि कार्यविधि,२०८२ स्वीकृत भई कार्यान्वयनको लागि देशभरका प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ । 

संस्थागत क्षमता विस्तारतर्फ देशभरका विभिन्न १७ वटा प्रहरी कार्यालयका लागि ४८ हजार ९ सय २९ वर्ग मिटर जग्गा प्राप्ति भएको, कार्यसम्पादन मूल्यांकन मार्गनिर्देशनका आधारमा जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादनको स्तर मापन गर्ने पद्धतिको शुरूवात, नेपाल प्रहरीमा नयाँ UN (FPU) मिशन स्थापनाको लागि UNDPO मा प्रस्ताव पठाइएको र यसका लागि नियमित समन्वय गरिएको, नेपाल प्रहरीमा ड्रोन तथा एन्टी-ड्रोन इकाई स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइएको, स्वदेश तथा विदेश तालिम अन्तर्गत ११५०० जना जनशक्तिलाई प्रशिक्षण प्रदान गरिएको छ ।

समुदाय केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रमतर्फ गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक छात्रवृत्तिका लागि मिति २०८२/१०/२० गते स्वर्गीय कृष्णबहादुर कार्कीको स्मृतिमा देवीस्थान माध्यमिक विद्यालय, मालिका गाउँपालिका वडा नं ७ घमिर गुल्मीमा रू. ५,००,००० बराबरको अक्षयकोष स्थापना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. १ मा र बाराको महागढीमाई नगरपालिका वडा नं १० मा न्यानो कपडा वितरण गरिएको, पर्साको वीरगंजस्थित मानवसेवा आश्रममा र कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं २ स्थित गुरूकुल, कैलास आश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको छ । प्रहरीको सम्पर्कमा आउने बालबालिका र प्रहरी कर्मचारीका कम उमेरका बालबालिकाहरूको स्याहारका लागि १० वटा प्रहरी कार्यालयहरूमा प्रति जिल्ला रू. १,५०,००० रकम उपलब्ध गराइ बालमैत्री कक्ष स्थापना गरिएको छ । सो अवधिमा समुदाय प्रहरी साझेदारी अन्तर्गत ६,५१७ वटा कार्यक्रममार्फत ११,३३,९६२ जना नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

सो अवधिमा पूर्वाधार विकास तथा सेवा विस्तारतर्फ जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय  नवलपरासी पूर्व सहित इलाका प्रहरी कार्यालयहरू कोहलपुर, बरहथवा, बुटवल, गढवा, सिम्रौनगढ र वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु गरी ८ वटा प्रहरी कार्यालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्‌घाटन भएको छ ।


सम्बन्धित समाचार
आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न
२०८३-०६-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा बिहीबार आयोजित एक समारोहबीच विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रका सल्लाहकारहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजलाई प्रशंसापत्र तथा केन्द्रको आन्तरिक सुरक्षा एवम् व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूका सन्देशमूलक फोटोहरू तथा लागूऔषध एवम् समसामयिक विषयवस्तुहरूसँग सम्बन्धित विभिन्न लेख रचनाहरू संकलन गरी केन्द्रद्वारा प्रकाशित साहित्यिक रचना  ‘आसरा दर्पण २०८३ ’ को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आसरा सुधार केन्द्रको गरिमा र प्रतिष्ठा कायम राख्दै आजको दिनसम्म ल्याई पुर्‍याउन अथक परिश्रम गर्नुहुने सुधार केन्द्र परिवार, सल्लाहकार, सहयोगी लगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई मानवीय तथा सुधारात्मक दृष्टिकोण आत्मसात् गर्दै उपचार मार्फत उनीहरूमा सकारात्मक परिवर्तन ल्याई समाजमा पुनर्स्थापित गर्न केन्द्रले पुर्‍याउँदै आएको योगदानको उहाँले उच्च प्रशंसा गर्नुभयो । लागूऔषधको उत्पादन, विक्री वितरण, ओसारपसार र सेवन विश्वव्यापी रूपमै एक जटिल समस्याको रूपमा देखिएको र लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समुदायका साथै राष्ट्रको समग्र सामाजिक, आर्थिक र उत्पादनशील क्षेत्रमा समेत गम्भीर असर पुगिरहेको बताउँदै नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम र न्यूनीकरणका क्षेत्रमा निर्मम रूपमा कार्यसम्पादन गर्दै आइरहेको उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले लागूऔषधको प्रयोगमा फसेर सुधार केन्द्र पुग्नुभन्दा लागूऔषध दुर्व्यसनमा फस्न नदिनु नै हाम्रो चासो र चिन्ताको विषय रहेको बताउँदै यसका लागि परिवार, समाज, विद्यालय तथा सकारात्मक परिवर्तन सोच्ने सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा समेत लागूऔषध दुर्व्यसनको बद्लिँदो स्वरूप र यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न यस केन्द्रले उपलब्ध साधनस्रोतको उच्चतम् प्रयोग गर्दै सेवा क्षेत्रको विस्तार, सीपमूलक तथा आयमूलक कार्यक्रम, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू, नवीन तथा वैज्ञानिक उपचार पद्दतिको अवलम्बन गरी आफ्नो सेवालाई व्यवस्थित परिणाममुखी र पुनर्स्थापनामैत्री बनाउँदै दुर्व्यसनबाट प्रभावित व्यक्तिहरूलाई समाजको मुलधारमा पुनर्स्थापित गर्ने तर्फ निरन्तर योगदान पुर्‍याउँदै जाओस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभयो ।     समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीले केन्द्रका परामर्शदाता तथा कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष कार्कीले लागूऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्ताहरूलाई सुधारात्मक तथा उपचारात्मक पद्दतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलन गर्ने लक्ष्य राखी केन्द्र स्थापना भएको उल्लेख गर्नुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गरी केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउँदै लैजाने उहाँले बताउनुभयो ।   केन्द्रकी उपाध्यक्ष श्रीमती सुस्मिता केसी अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरूले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन समेत प्रस्तुत गरिएको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।

काठमाडौं महानगर प्रहरी बलले निर्वाह गरेको भूमिका सराहनीय - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०५-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण, सार्वजनिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो ।  काठमाडौं महानगर प्रहरी बलको ३४ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभा गृहमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रमा प्रहरी महानिरीक्षक कार्कीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण महानगर प्रहरी बल परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्दै काठमाडौं महानगरपालिकाको सुशासन, शहरी व्यवस्थापन र नागरिक सेवाको प्रभावकारिता अभिवृद्धिमा थप योगदान पुर्‍याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले काठमाडौं महानगर प्रहरी बलले तीन दशकभन्दा लामो समयदेखि महानगरपालिकाको नीति, निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाह गरेको भूमिकाको चर्चा गर्दै विपद्को समयमा खोज, उद्दार, राहत वितरणमा लगायतमा नेपाल प्रहरीसँग समन्वयका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । महानगर प्रहरी बलको कामको प्रकृति र नेपाल प्रहरीको कामको प्रकृति फरक भएता पनि नागरिक सेवा, सार्वजनिक सुरक्षा, शान्ति, सुव्यवस्था र सुरक्षित तथा व्यवस्थित शहर निर्माण गर्नु दुबैको साझा उद्देश्य रहेको बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले स्वच्छ, सुन्दर, सुरक्षित र व्यवस्थित महानगरको परिकल्पनालाई सार्थक बनाउन सडक सुरक्षा, ट्राफिक तथा शहरी आवागमन व्यवस्थापन, फुटपाथ व्यवस्थापन, साधन स्रोत व्यवस्थापन, विपद् तथा आपत्कालिन प्रतिकार्य, ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण, शहरी क्षेत्रको समग्र शान्ति, सुरक्षा, अपराध नियन्त्रण, Smart City Security, समुदाय-प्रहरी साझेदारी लगायतमा नेपाल प्रहरी सदैव साथमा रहने र आगामी दिनमा महानगरको सहयोग अझ घनीभूत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट प्रहरी वृत्त गौशालाको पुन:निर्मित कार्यालय भवन उद्‌घाटन
२०८३-०५-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुन:निर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले पूर्ण रूपमा क्षति भएका भवनहरू पुनः निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै यो सद्भाव एवम् साथले प्रहरी र समुदाय बीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै नेपाल प्रहरीलाई अझ बढी नागरिकमैत्री, उत्तरदायी र सेवाभावका साथ कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संरचनाको पुनर्निर्माण सँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताउनुभयो । भवन पुन:निर्माण सँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार, अनुशासित, पारदर्शी, संवेदनशील, उत्तरदायी हुँदै नागरिक प्रति समर्पित भएर कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुन:निर्माण कार्य समितिका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुन:निर्माण समितिका कोषाध्यक्ष वि.एन पाठकले भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा ई. डा. शंकर ढकालले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू लागयतको उपस्थिति रहेको थियो । 

गृहसचिव केदारनाथ शर्माबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८३-०५-२४

काठमाडौं, गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव केदारनाथ शर्मालाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधि बारे जानकारी लिनुभयो ।कार्यक्रममा गृहसचिव शर्माले भोटेकोशी बाढीमा परी दिवंगत हुनुभएका प्रहरी कर्मचारीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो । साथै कर्तव्यपालनाका सिलसिलामा घाइते भई जीवन बिताइरहनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । गृहसचिव शर्माले जस्तोसुकै कठिन परिस्थिति एवम् चुनौतीका वावजूद पनि सदैव अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । प्रहरीको मुख्य जिम्मेवारी नै समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्नु भएको उल्लेख गर्दै नेपाल प्रहरीले सीमित स्रोतसाधन, प्रविधि र दक्ष जनशक्तिका वावजूद अपराधको नियन्त्रण तथा सफल अनुसन्धानका साथै समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम एवम् कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । गृहसचिव शर्माले प्रहरी नागरिकको सबै भन्दा नजिक रहेर काम गर्ने निकाय भएकोले नागरिकका अपेक्षाहरूको सम्बोधन गर्दै आफ्नो काम, कर्तव्य र जिम्मेवारी पुरा गर्न सदैव अग्रसर हुनुपर्ने बताउनुभयो । ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पुरा गर्न थप सजग, सचेत, इमानदार एवम् कर्तव्यनिष्ठ भई कार्य गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अझ सक्षम र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि, प्रविधिको विकासका साथै समग्र प्रहरी संगठनको हित एवम् श्रीवृद्धिका लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृहसचिवज्यूबाट भएको सारगर्भित, समयसापेक्ष मार्गदर्शक निर्देशनको लागि हार्दिक आभार व्यक्त गर्दै नेपाल सरकार गृहमन्त्रालयबाट नेपाल प्रहरीलाई सधै अभिभावकत्व र मार्गनिर्देशन प्राप्त भएको र नेपाल प्रहरीले आफ्ना काम, कर्तव्यहरू पूर्ण अनुशासित, इमानदारी एवम् निष्ठापूर्वक निर्वाह गर्दै आइरहेको बताउनुभयो । साथै गृहसचिवज्यूबाट भएको अमुल्य निर्देशन समेत पूर्ण निष्ठा, थप उर्जा र उत्साहका साथ अझ प्रभावकारी ढंगले कार्यक्षेत्रमा पालना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले विगतको जेनजी आन्दोलन तथा विनाशकारी बाढीमा दिवंगत हुनुभएका अमर प्रहरी कर्मचारीहरू प्रति नेपाल प्रहरी संगठनको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका प्रहरी कर्मचारीहरूको खोजी र अवस्था एकिन गर्न प्रहरी संगठनले हर प्रकारका संयन्त्रहरू परिचालन गरी क्रियाशील रहेको बताउनुभयो । नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको परिधिभित्र रहँदै नागरिकको सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको उहाँले बताउनुभयो । विपद् प्रतिकार्य, खोज तथा उद्दार लगायतको कार्यमा अग्रपंक्तिमा रही खटिने नेपाल प्रहरीसँग स्रोत साधनको चरम अभाव रहेको उल्लेख गर्दै तत्काल घटनास्थलमा पुगेर नागरिकको जीउ धनको सुरक्षाका साथै उद्दार कार्यको लागि प्रहरीलाई समयसापेक्ष प्रविधि एवम् स्रोतसाधन युक्त बनाउन गृहमन्त्रालयबाट अभिभावकीय भूमिकाको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले विश्वव्यापी अपराधका चुनौती तथा जोखिमहरूको न्यूनीकरण गर्न समयानुकुल प्रविधिको विकास र क्षमता अभिवृद्धि सहितको पूर्वाधार विकासका साथै समग्र संगठनको विकासमा गृहमन्त्रालयको सदैव महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै प्रहरी संगठनलाई अझ बढी व्यावसायिक र मर्यादित बनाउन आगामी दिनमा समेत गृहमन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा गृहसचिव केदारनाथ शर्मा समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, इन्टरपोल शाखाद्वारा सम्पदित कामहरू, प्राप्त वैदेशिक सहायता, चालु आर्थिक वर्षमा सम्पादित मुख्य कार्यहरू, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, भोटेकोशी बाढी सम्बन्धी उद्दार, खोजी तथा राहत वितरणमा नेपाल प्रहरीको योगदान, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

इन्टरपोल दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न
२०८३-०५-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसरमा काठमाडौं सुन्धारा, धरहरामा सोमबार आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवंगत हुनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा दिवंगत हुनुभएका नेपाल प्रहरी लगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्वाञ्जली अर्पण समेत गरिएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र यसको महत्त्वलाई देखाउने गरी सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गर्नुभयो । विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदान-प्रदान र समन्वयले अपराध अनुसन्धानमा पुऱ्याउने योगदानका बारेमा वृत्तचित्र मार्फत प्रस्तुत गरिएको छ ।  International Day of Police Cooperation हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो । विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदान-प्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुऱ्याउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट बाढी प्रभावित जिल्लाहरूको स्थलगत अवलोकन
२०८३-०५-१९

काठमाडौं,  प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवा लगायतका जिल्लाहरूको शुक्रबार स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बाढी प्रभावित क्षेत्रहरूमा प्रहरीले गरिरहेको उद्दार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरण लगायतका कार्यको वस्तुस्थितिको बारेमा जानकारी समेत लिनुभयो ।अनुगमनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् सुरक्षा निकायका प्रतिनिधिहरूसँग प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार, खोजी, राहत वितरण तथा समग्र विपद् व्यवस्थापनलाई अझ प्रभावकारी रूपमा व्यवस्थित एवम् पारदर्शी रूपमा अगाडि बढाउन छलफल समेत गर्नुभयो ।  अनुगमनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा अझ उच्च मनोबलका साथ कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आफ्नो ज्ञान, सीप, विवेक एवम् क्षमताको उच्चतम् प्रयोग गरी उद्दार तथा खोजी कार्यमा कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले बाढी प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति थप संवेदनशील भई कार्य गर्नुपर्ने बताउनुभयो । विपद्को मौका छोपी हुन सक्ने आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न थप चनाखो भई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहसँग आवश्यक समन्वय गरी राहत वितरणलाई पारदर्शी रूपमा लैजान समेत विशेष रूपमा सक्रिय भई कार्य गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई बताउनुभयो । प्रहरी महानिरीक्षक दान बहादुर कार्की सँगै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत बाढी प्रभावित जिल्लाहरूको स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको थियो ।