अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-१७
- A
- A-
- A+
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थली मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद २८ हजार ९ सय ७५ रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ डाँछी बस्ने २६ वर्षीय सुनिल ब्रमाशाखा र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने २० वर्षीय सबिन श्रेष्ठ रहेका छन् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले बा.३२ प ७२०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ८० ग्राम र डिजिटल तराजु १ थान सहित भारत मधुवनी मधुवापुर थाना-३ घर भएका ३५ वर्षीय मोहम्मद सन्तोष नदापलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने २८ वर्षीय बिबेक सापकोटालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।