वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०८-१२
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएका २१ वर्षीय आयुष बाबु भट्टराई, टोखा नगरपालिका-८ बस्ने नवलपरासी पूर्व कावासेती नगरपालिका-१ घर भएकी ३७ वर्षीया विनु गुरूङ र काठमाडौं महानगरपालिका-१५ घर भएका रसुवा आमाछोदिङमो गाउँपालिका-१ घर भएका ३७ वर्षीय फुर्पा तेन्जेन लामा रहेका छन् ।
पक्राउ मध्ये आयुषले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, विनुले इन्डोनेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ र फुर्पाले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आयुषलाई काठमाडौं महानगपालिका-९ बाट र विनुलाई काठमाडौं महानगरपालिका-२६ बाट बिहीबार तथा फुर्पालाई काठमाडौं महानगरपालिका-१५ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।