प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहसचिव केदारनाथ शर्माबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

२०८३-०५-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । 

गृहसचिव केदारनाथ शर्मालाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधि बारे जानकारी लिनुभयो ।

कार्यक्रममा गृहसचिव शर्माले भोटेकोशी बाढीमा परी दिवंगत हुनुभएका प्रहरी कर्मचारीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो । साथै कर्तव्यपालनाका सिलसिलामा घाइते भई जीवन बिताइरहनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । 

गृहसचिव शर्माले जस्तोसुकै कठिन परिस्थिति एवम् चुनौतीका वावजूद पनि सदैव अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । प्रहरीको मुख्य जिम्मेवारी नै समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्नु भएको उल्लेख गर्दै नेपाल प्रहरीले सीमित स्रोतसाधन, प्रविधि र दक्ष जनशक्तिका वावजूद अपराधको नियन्त्रण तथा सफल अनुसन्धानका साथै समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम एवम् कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । 

गृहसचिव शर्माले प्रहरी नागरिकको सबै भन्दा नजिक रहेर काम गर्ने निकाय भएकोले नागरिकका अपेक्षाहरूको सम्बोधन गर्दै आफ्नो काम, कर्तव्य र जिम्मेवारी पुरा गर्न सदैव अग्रसर हुनुपर्ने बताउनुभयो । ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पुरा गर्न थप सजग, सचेत, इमानदार एवम् कर्तव्यनिष्ठ भई कार्य गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अझ सक्षम र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि, प्रविधिको विकासका साथै समग्र प्रहरी संगठनको हित एवम् श्रीवृद्धिका लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृहसचिवज्यूबाट भएको सारगर्भित, समयसापेक्ष मार्गदर्शक निर्देशनको लागि हार्दिक आभार व्यक्त गर्दै नेपाल सरकार गृहमन्त्रालयबाट नेपाल प्रहरीलाई सधै अभिभावकत्व र मार्गनिर्देशन प्राप्त भएको र नेपाल प्रहरीले आफ्ना काम, कर्तव्यहरू पूर्ण अनुशासित, इमानदारी एवम् निष्ठापूर्वक निर्वाह गर्दै आइरहेको बताउनुभयो । साथै गृहसचिवज्यूबाट भएको अमुल्य निर्देशन समेत पूर्ण निष्ठा, थप उर्जा र उत्साहका साथ अझ प्रभावकारी ढंगले कार्यक्षेत्रमा पालना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले विगतको जेनजी आन्दोलन तथा विनाशकारी बाढीमा दिवंगत हुनुभएका अमर प्रहरी कर्मचारीहरू प्रति नेपाल प्रहरी संगठनको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका प्रहरी कर्मचारीहरूको खोजी र अवस्था एकिन गर्न प्रहरी संगठनले हर प्रकारका संयन्त्रहरू परिचालन गरी क्रियाशील रहेको बताउनुभयो । नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको परिधिभित्र रहँदै नागरिकको सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको उहाँले बताउनुभयो । विपद् प्रतिकार्य, खोज तथा उद्दार लगायतको कार्यमा अग्रपंक्तिमा रही खटिने नेपाल प्रहरीसँग स्रोत साधनको चरम अभाव रहेको उल्लेख गर्दै तत्काल घटनास्थलमा पुगेर नागरिकको जीउ धनको सुरक्षाका साथै उद्दार कार्यको लागि प्रहरीलाई समयसापेक्ष प्रविधि एवम् स्रोतसाधन युक्त बनाउन गृहमन्त्रालयबाट अभिभावकीय भूमिकाको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले विश्वव्यापी अपराधका चुनौती तथा जोखिमहरूको न्यूनीकरण गर्न समयानुकुल प्रविधिको विकास र क्षमता अभिवृद्धि सहितको पूर्वाधार विकासका साथै समग्र संगठनको विकासमा गृहमन्त्रालयको सदैव महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै प्रहरी संगठनलाई अझ बढी व्यावसायिक र मर्यादित बनाउन आगामी दिनमा समेत गृहमन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

निरीक्षण भ्रमणको क्रममा गृहसचिव केदारनाथ शर्मा समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, इन्टरपोल शाखाद्वारा सम्पदित कामहरू, प्राप्त वैदेशिक सहायता, चालु आर्थिक वर्षमा सम्पादित मुख्य कार्यहरू, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, भोटेकोशी बाढी सम्बन्धी उद्दार, खोजी तथा राहत वितरणमा नेपाल प्रहरीको योगदान, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
इन्टरपोल दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न
२०८३-०५-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसरमा काठमाडौं सुन्धारा, धरहरामा सोमबार आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवंगत हुनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा दिवंगत हुनुभएका नेपाल प्रहरी लगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्वाञ्जली अर्पण समेत गरिएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र यसको महत्त्वलाई देखाउने गरी सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गर्नुभयो । विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदान-प्रदान र समन्वयले अपराध अनुसन्धानमा पुऱ्याउने योगदानका बारेमा वृत्तचित्र मार्फत प्रस्तुत गरिएको छ ।  International Day of Police Cooperation हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो । विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदान-प्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुऱ्याउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट बाढी प्रभावित जिल्लाहरूको स्थलगत अवलोकन
२०८३-०५-१९

काठमाडौं,  प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवा लगायतका जिल्लाहरूको शुक्रबार स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बाढी प्रभावित क्षेत्रहरूमा प्रहरीले गरिरहेको उद्दार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का, राहत वितरण लगायतका कार्यको वस्तुस्थितिको बारेमा जानकारी समेत लिनुभयो ।अनुगमनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् सुरक्षा निकायका प्रतिनिधिहरूसँग प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार, खोजी, राहत वितरण तथा समग्र विपद् व्यवस्थापनलाई अझ प्रभावकारी रूपमा व्यवस्थित एवम् पारदर्शी रूपमा अगाडि बढाउन छलफल समेत गर्नुभयो ।  अनुगमनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले विपद्को कठिन घडीमा राष्ट्र र नागरिकको सेवामा अझ उच्च मनोबलका साथ कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आफ्नो ज्ञान, सीप, विवेक एवम् क्षमताको उच्चतम् प्रयोग गरी उद्दार तथा खोजी कार्यमा कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले बाढी प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति थप संवेदनशील भई कार्य गर्नुपर्ने बताउनुभयो । विपद्को मौका छोपी हुन सक्ने आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न थप चनाखो भई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहसँग आवश्यक समन्वय गरी राहत वितरणलाई पारदर्शी रूपमा लैजान समेत विशेष रूपमा सक्रिय भई कार्य गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई बताउनुभयो । प्रहरी महानिरीक्षक दान बहादुर कार्की सँगै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत बाढी प्रभावित जिल्लाहरूको स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको थियो ।

रसुवा बाढीमा परी दिवंगत एवं प्रभावित प्रहरी कर्मचारीको परिवारजनहरूलाई तथा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा विशेष आर्थिक सहयोग गर्ने नीति निर्माण समिति बैठकको निर्णय
२०८३-०५-१७

काठमाडौं,  भदौ १० गते रसुवा भोटकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाट राहत स्वरूप संकलन गरिएको रकमबाट तत्काल प्रति व्यक्ति १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा उक्त निर्णय गरिएको हो । साथै उक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ४० करोड रूपैयाँ समेत प्रदान गर्ने निर्णय गरेको छ ।बैठकमा रसुवा भोटेकोशी/त्रिशूली बाढीमा परी दिवंगत हुनु भएका प्रहरी कर्मचारीहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना एवम् मृतक प्रहरी कर्मचारीहरूको परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरिएको थियो । साथै बाढीमा परि हालसम्म फेला पर्न नसेकका प्रहरी कर्मचारीहरूको खोजीको लागि परिवारका सदस्यहरूको सम्पर्क एवम् समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गरी सक्रियताका साथ खोजतलासलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ । यसैगरी दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उनीहरूको परिवारबाट इच्छुक १ जनालाई सीपमूलक तालिम प्रदान गर्ने साथै रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई ‍शैक्षिक वृत्ति अन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकमा निर्णय गरिएको छ । बाढी प्रभावित क्षेत्रका प्रहरी एकाइ (इ.प्र.का. टिमुरे, अ.प्र. पोष्ट मैलुङ, प्र.चौ. रसुवागढी, प्र.चौ. स्याफ्रुवेशी, प्र.चौ. बेत्रावती) मा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्रीहरू क्षतिको राहत स्वरूप जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी दिवंगत, सम्पर्कविहीन एवम् घाइते प्रहरी कर्मचारीहरू र निजका आफन्त एवम् परिवारजनहरूलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिको लागि सहजीकरण गर्ने समेत बैठकमा निर्णय गरिएको छ । 

उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०५-०४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समुदायस्तरमा चासोको विषय बन्न सक्ने कुनै पनि आपराधिक घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बिहीबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो ।प्रहरी महानिरीक्षक कार्कीले सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्ने बताउँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्यालाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रविधिमैत्री प्रहरी सेवालाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक सञ्जालहरूबाट प्राप्त सूचना तथा जानकारीहरूलाई सक्रियताका साथ सम्बोधन गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले विपद् तथा प्रकोपको समयमा उच्च सतर्कता अपनाई उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै सरोकारवाला अन्य निकायहरूको समन्वयमा प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो । परिस्थितिको मूल्याङ्कन गरी बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी भीड नियन्त्रणमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले समयसापेक्ष आफ्नो व्यवहारमा परिवर्तन गर्दै प्रविधिको उच्चतम प्रयोग गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरू सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो । आ-आफ्नो जिम्मेवारी क्षेत्रको सूचना संकलनलाई विशेष प्राथमिकतामा राखि शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीहरू कटिबद्ध भई जिम्मेवारी बहन गर्नुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक श्रीवृद्धि तथा उद्देश्य प्राप्तिका लागि विगतमा भएका कमी कमजोरीहरूलाई विश्‍लेषण गरी सामूहिक भावनाका साथ आवश्यक योजना तथा नीति बनाई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीहरूको सुविधालाई ध्यान दिँदै कार्यालयको भौतिक संरचनाको उचित व्यवस्थापन, कार्यालय परिसरको नियमित सरसफाई तथा सवारी साधनहरूको उचित मर्मत संभारमा समेत विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

१० जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०४-२१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका १० जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार गृहमन्त्रीस्तरको २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई. अमरेन्द्र प्रसाद सिंह, राम बाबु राना, अभय कुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू ई. निशा चौधरी, ई. सन्जिप दाहाल, ई. रमेश कुमार साह र ई. अञ्जन राज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिन प्रसाद खत्री रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि गर्दै दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन एवम् शान्ति सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका प्रहरी कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै सांगठनिक श्रीवृद्धिमा थप योगदान पुर्‍याउन उहाँले निर्देशन   दिनुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू दिनानुदिन वृद्धि हुँदै गइरहेको सन्दर्भमा त्यस्ता अपराधहरूलाई सम्बोधन गर्न एवम् बदलिदो परिवेशलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी उच्च व्यावसायिकता प्रदर्शनका साथै थप उत्तरदायी भई उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।    समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेलले प्रहरी संगठनको गरिमा, प्रतिष्ठा र संगठन प्रतिको विश्वासलाई अझ उच्च बनाउने कार्यमा सदैव इमानदार, निष्पक्ष, अनुशासित, व्यावसायिक, प्रविधिमैत्री र सेवामुखी रही आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो । 

मानव बेचबिखन नियन्त्रणका लागि सबैको एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०४-१२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मानव बेचबिखन संगठित अपराध तथा अन्तर्राष्ट्रिय अपराधिक सञ्जालसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएको उल्लेख गर्दै यसको नियन्त्रणको लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, संचारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीचको सचेतना, सूचना आदानप्रदान, समन्वयात्मक उद्धार तथा अनुसन्धान एवम् अन्तर्राष्ट्रिय सहकार्यमा आधारित एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस, २०२६ को अवसरमा ‘Trapped Behind the Scam’ भन्ने नाराका साथ नेपाल प्रहरीको आयोजना र माइती नेपालको सहकार्यमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आगामी एक वर्षसम्म मानव बेचबिखन विरूद्धको राष्ट्रिय सचेतना अभियानमा आफ्नो कला, आवाज र लोकप्रियतालाई समर्पित गरी Anti Human Trafficking Awareness को राजदूतको रूपमा सहकार्य गर्नुहुने एवम् हास्यव्यङ्ग्यको माध्यमबाट गम्भीर सामाजिक विषयवस्तुहरूलाई जनमानसमा पुर्‍याउँदै मानव बेचबिखनको अभियानलाई थप सशक्त एवम् प्रभावकारी बनाउन अमुल्य योगदान पुर्‍याउनु हुने वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेठ र हरिवंश आचार्यलाई कदरपत्र  प्रदान गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले मानव बेचबिखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र संगठित अन्तर्राष्ट्रिय अपराधको समग्र सन्दर्भमा हेर्नुपर्ने उल्लेख गर्दै बहुपक्षीय सहभागीतामा आयोजित यस अन्तरक्रिया कार्यक्रमले मानव बेचबिखनको बद्लिदो स्वरूपलाई सम्बोधन गर्न प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । विगतको भन्दा पछिल्ला दिनहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीडितको कानुनी कागजातहरू प्रयोग गरेर हुने गरेको अनलाइन ठगी तथा साइबर स्क्याम जस्ता गतिविधिहरू थप चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई समयसापेक्ष परिमार्जन गर्दै सूचना संकलन प्रणालीलाई थप विस्तार, सीमा क्षेत्रमा थप निगरानी, जोखिममा रहेका यात्रुहरूको प्रोफाइलिङ तथा ठगी गर्ने म्यानपावर कम्पनी र शैक्षिक कन्सलटेन्सीको आवरणमा मानव तस्करी गर्ने संस्थाहरू माथिको कारबाहीलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले अन्तरक्रियाबाट प्राप्त सुझाव, निष्कर्ष एवम् पृष्ठपोषणले नेपाल प्रहरीलाई मानव बेचबिखनको बद्लिदो स्वरूप बुझ्न नयाँ दृष्टिकोण, अनुसन्धानका नयाँ आयाम तथा अझ प्रभावकारी कार्यदिशा प्रदान गर्ने उल्लेख गर्दै यसबाट प्रहरी कर्मचारीहरू थप सुसुचित हुने र आगामी दिनमा अझ सशक्त, उत्तरदायी र परिणामुखी अनुसन्धान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  नेपाल प्रहरी मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण, अपराधी माथि कठोर कारबाही तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउन सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । माइती नेपालका कार्यकारी निर्देशक विश्व राम खड्काले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव महानिरीक्षक दिपक कुमार बस्नेतले स्वागत मन्तव्य तथा वरिष्ठ कलाकार हरि वंश आचार्यले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले आप्रवासन, मानव बेचबिखन तथा ओसारपसार र मानव तस्करीको अवधारणा, विद्यमान अवस्था, चुनौती र सुझावहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा माइती नेपाल र नेपाल प्रहरीले तयार पारेको छुट्टाछुट्टै मानव बेचबिखन सम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा मानव बेचबिखन नियन्त्रण, अनुसन्धान, पीडित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी, डिजिटल सुरक्षा, अन्तर्राष्ट्रिय समन्वय, मानव बेचबिखन न्यूनीकरणमा देखिएका समस्या र चुनौती लगायतका विषयमा वृहत्त अन्तरक्रिया एवम् छलफल भएको थियो । डिजिटल तथा अनलाइन माध्यमबाट हुने बेचबिखनका जोखिमहरू बारे सचेतना अभिवृद्धि गर्नु, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी संस्था, सञ्चारमाध्यमहरू, निजी क्षेत्र र समुदायबीच समन्वय तथा सहकार्यलाई सुदृढ बनाउनुका साथै युवाहरू, अभिभावक, समुदाय तथा सरोकारवालाहरूलाई सुरक्षित डिजिटल व्यवहार र सचेत निर्णय गर्नका लागि प्रेरित गर्नु यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख, वरिष्ठ प्रहरी अधिकृतहरू, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय महिला आयोगका प्रतिनिधि, राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, माइती नेपालका पदाधिकारीहरू, संचारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, काठमाडौं, ललितपुर र भक्तपुरस्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।