प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव सम्पन्न

२०७८-१२-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्‍घाटन गर्नुभयो । साथै उहाँले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गर्नुभयो । अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र Nepal Medical Journal को समेत उहाँले लोकार्पण गर्नुभयो । 

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्नुहुने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।  साथै भिजिटिङ कन्सल्टेन्ट डा. विकल घिमिरे तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत अर्थोपेडिक विभागलाई शिल्ड तथा प्रशंसापत्र र अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत उहाँले प्रदान गर्नुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गर्नुभयो । साथै कोभिड-१९ को संक्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी अस्पतालको विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो ।  

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले Combo ultrasound TENS and IFT Physiotherapy Machine अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । साथै संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो । 

समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नेपाल प्रहरी अस्पताल सदैव प्रतिवद्ध रहेको बताउनुभयो । 

नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छायाँ देवी गुरूङले स्त्री तथा प्रसुती सेवा सम्बन्धी प्रस्तुतीकरण तथा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-११-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ-आफ्नो क्षेत्रमा त्रुटीरहित तवरमा कार्यसम्पदान गर्न निर्देशन दिनुभयो । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखि भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, ‍निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्वमा आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई आ-आफ्नो जिम्मेवारी वहन गर्न उहाँले निर्देशन दिनुभयो । निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरू प्रति गरिने आचरण, व्यवहार प्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने बताउँदै निर्वाचनको समयमा थप मद्दतको रूपमा खटि आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाहरूको सम्बोधनको लागि सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताउनुभयो । आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग समन्वय गरी संयुक्त परिचालनमा समेत थप क्रियाशील भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समसामायिक विषयमा छलफल गरी प्रदेश अन्तर्गत शान्ति सुरक्षाको अवस्था एवम् आसन्न निर्वाचनको तयारी लगायतका विषयवस्तु सम्बन्धी जानकारी समेत लिनुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापान सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न
२०८२-१०-२९

काटमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित कार्यक्रमबीच काठमाडौं उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापान सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको हो  ।सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम संचालनमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षा सम्बन्धमा सडक प्रयोगकर्ता, सडक विभाग, यातायात व्यवस्था विभाग, सवारी साधन धनी तथा यातायात व्यवसायीहरू लगायतका सरोकारवाला पक्षहरूको जिम्मेवारी, दायित्व र जवाफदेहिता अपरिहार्य रहने उल्लेख गर्दै सडक सुरक्षामा कुनै एक निकायको जिम्मेवारी नभई सबैको संयुक्त जिम्मेवारी एवम् दायित्व हुने भएकोले त्यसतर्फ सबै सरोकारवाला पक्षहरू केन्द्रित हुनुपर्ने बताउनुभयो । सडक प्रयोगकर्ताहरू स्वयम्‌ले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै सडक सुरक्षाको लागि सबै सरोकारवालाहरूबीच आपसी समन्वय र सहकार्य समेत आवश्यक रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण जिम्मेवारी भएकोले उक्त व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीहरूलाई जनस्तरबाट समेत सहयोग र सद्भाव प्राप्त हुने गरेको उल्लेख गर्दै गोष्ठीबाट प्राप्त भएका ज्ञान अनुभवहरूले ट्राफिक प्रहरीको व्यावसायिक क्षमता, विश्लेषणात्मक सोच, निर्णय र नेतृत्व क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउने र आम नागरिकको अपेक्षा अनुरूपको उत्तरदायित्व एवम् प्रभावकारी सेवा प्रवाह गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीबाट सडक प्रयोगकर्ता, सरोकारवाला पक्षहरू र ट्राफिक प्रहरी बीच थप व्यावसायिक निकटतामा वृद्धि भई सडक सुरक्षा व्यवस्थापनमा थप प्रभावकारिता आउने समेत उहाँले बताउनुभयो । कार्यक्रममा Institute of Road Traffic Education का अध्यक्ष डा. रोहित बालूजा र Nepal Automobile Importers and Manufacturers Association (NAIMA) का अध्यक्ष ऋतु सिंह वैद्यले गोष्ठीको औचित्य सम्बन्धी आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।       आजै बिहान शुरू भएको उक्त कार्यशाला गोष्ठीको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले उद्‌घाटन गर्नुएको थियो । गोष्ठीमा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी, सडक विभागका प्रतिनिधि राकेश महर्जन, वातावरण विभागका वातावरणीय निरीक्षक हस्ता श्रेष्ठ, सडक सुरक्षा परिषद्‍का सरोज प्रधान, स्थानीय निकायको तर्फबाट काठमाडौं महानगरपालिकाका प्रतिनिधि शिरिस पाण्डे लगायतले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी मन्तव्य एवम् प्रस्तुतीकरण गर्नुभएको थियो ।  सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिक, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी लगायतले गोष्ठीमा छलफल भएका विषयहरूमा सुझाव तथा टिप्पणी दिनुभएको थियो ।  

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८२-१०-२९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा बिहीबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी निरीक्षक ठागा प्रसाद चौधरीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्‍याई सर्वोत्कृष्ट तालिम केन्द्र बन्न सफल नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ्ग शिल्ड सहित प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०८२’ को लोकार्पण गर्नुभयो । साथै उहाँले रस्साकस्सी खेलका विजेता तथा उपविजेतालाई पुरस्कार समेत प्रदान गर्नुभयो । सो अवसरमा उहाँले उक्त प्रतिष्ठानमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक उमेश गुरूङ श्रेष्ठलाई पुरस्कार तथा खेलकुद गतिविधमा उल्लेखनीय सहयोग पुर्‍याउने रूप्से स्पोर्टस म्यानेजमेन्ट प्रालिलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको वार्षिकोत्सवको सुखद घडीमा प्रतिष्ठान परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । साथै प्रतिष्ठानलाई आजको गरी मामय उचाईमा पुर्‍याउन आफ्नो व्यावसायिक भूमिका निर्वाह गर्नुहुने अग्रजहरू प्रति कृतज्ञता व्यक्त गर्दै उहाँहरूको दुरदृष्टि र अथक लगन प्रति उच्च श्रद्धा एवम् सम्मान व्यक्त गर्नुभयो । नेपाल प्रहरीले विभिन्न कालखण्डमा सामना गरेका सुरक्षा चुनौती, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र प्रशासनिक सुधारका हरेक चरणमा प्रतिष्ठानले समयानुकूल दक्ष, सक्षम, गुणस्तरीय तथा अनुशासित जनशक्ति उत्पादनमा खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको आधारशीला भनेकै अनुशासन र तालिम रहेको र त्यो आधारशिलालाई मजबुत बनाउन प्रतिष्ठानले विगत सात दशक देखि दिँदै आएको योगदान स्मरणीय रहेको चर्चा गर्दै बद्लिँदो सुरक्षा चुनौती, प्रविधिको तीव्र विकास लगायतमा आएको परिवर्तन र अपराधका नयाँ-नयाँ स्वरूपहरूलाई मध्यनजर गर्दै प्रतिष्ठानले तालिम प्रणाली र तालिम प्रदान गर्ने शैलीमा गर्दै आएको समय सापेक्ष परिमार्जनको प्रयास सराहनीय रहेको बताउनुभयो । प्रहरी तालिमको प्रभावकारिता अभिवृद्धि सँगै प्रहरी सेवा प्रति जनविश्वास बढाउन पनि गुणस्तरीय तालिम अपरिहार्य रहेको उल्लेख गर्दै अनुशासन र सेवाभावलाई प्रहरीको उदाहरणीय पहिचान बनाउने कार्यमा प्रतिष्ठानको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीको एक आदर्श र अनुकरणीय संस्थाको रूपमा चित्रण गरिने यस प्रतिष्ठानको गरीमा, विशिष्टता र व्यावसायिकतालाई अक्षुण्ण राख्न प्रतिष्ठान परिवार सदैव कटिबद्ध रहेको बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, एमपिएस कार्यक्रमका सल्लाहकार, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट पुरस्कृत प्रहरी कर्मचारीहरूलाई बधाई तथा सम्मान
२०८२-१०-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच बधाई तथा सम्मान गर्नुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा उक्त आयोगमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आफ्नो व्यावसायिक ज्ञान एवम् लगनशीलताको उच्च प्रदर्शन गर्दै खटिएको ठाउँमा अनुसन्धानको क्षेत्रमा गरेको उत्कृष्ट कार्यसम्पदानको मुल्याङ्कनको आधारमा पुरस्कृत हुनुभएका प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी संगठनको तर्फबाट हार्दिक बधाई दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उद्देश्य पुर्ति गर्दै राष्ट्रलाई सुशासनतर्फ डोर्‍याउन उक्त आयोगमा खटिएका प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत थप व्यावसायिकता प्रदर्शन गर्दै इमानदारिताका साथ अझ कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।      

अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८२-१०-२६

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राखी अपराध रोकथाम र अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भएता पनि संचार माध्यमहरू लोकतन्त्रका मेरूदण्ड, सूचनाका संवाहक, राष्ट्रिय सुरक्षा र राज्य तथा नागरिक बीचको सन्देश वाहकको रूपमा स्थापित संस्थाहरू भएको चर्चा गर्दै कुनैपनि घटनाक्रम बारे सर्वसाधारणको पहिलो धारणा संचार माध्यम मार्फत नै निर्माण हुने हुँदा सम्प्रेषण हुने प्रत्येक सूचना सत्य, तथ्य, सन्तुलित र जिम्मेवारीमा आधारित हुनु अत्यन्त जरूरी रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सूचना प्रविधिको विकाससँगै आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फर्मेसन हुने, विचार फरक भएर डिस इन्फर्मेसन हुने, डिप फेक र एआइको दुरूपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटा सामग्रीले बढावा पाइरहेको कुरा हामी सबैको साझा चिन्ताको विषय रहेको उल्लेख गर्दै यस प्रकारको गतिविधिहरूले अपराध अनुसन्धान, शान्ति सुरक्षा, सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र न्यायिक प्रक्रियामा समेत प्रत्यक्ष असर पार्ने भएको हुँदा यसको समाधानका उपाय र नीतिगत सुधारका विषयमा संयुक्त रूपमा गहिरो विश्लेषण र ठोस सुझाव निकाल्नु अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । संचार माध्यम र प्रहरीहरूले आपसी सम्मान, निष्पक्षता, व्यवसायिकता, संस्थागत मर्यादा र आचार संहितालाई उच्च प्राथमिकतामा राख्नुपर्ने एवम् प्रहरी र सञ्चार माध्यमहरू दुवैको साझा लक्ष्य सत्यको खोजी गर्नु रहेकोले दुवै पक्ष बीच प्रभावकारी अन्तरक्रिया, अन्तर निकाय सहयोग, समन्वय र सुस्पष्ट सूचना आदान प्रदान हुनुपर्ने उहाँले जोड दिनुभयो । साथै यस अन्तरक्रियाबाट अपराध अनुसन्धान तथा शान्ति सुरक्षा र संचार माध्यम बीचको सम्बन्ध अझ मजबुत, जिम्मेवार र परिणाममुखी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार लक्ष्मण हुमागाँईले Misinformation, Disinformation र Deepfake को सम्प्रेषणले राष्ट्र र समाजमा पार्ने असर एवम् समाधानका उपाहरू तथा यसको नियन्त्रणमा सञ्चारकर्मीको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त कार्यपत्र माथि टिप्पणी प्रस्तुत गर्नुभएको थियो । यसैगरी अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले Misinformation, Disinformation र Deepfake को सम्प्रेषणले उत्पन्न हुनसक्ने सुरक्षा चुनौती, अपराध अनुसन्धानमा हुने प्रभाव एवम् समाधानका लागि अवलम्बन गर्नुपर्ने रणनीतिहरू सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने वरिष्ठ पत्रकार प्रतिक प्रधानले प्रस्तुत भएको कार्यपत्र माथि सञ्चारकर्मीहरूको तर्फबाट टिप्पणी प्रस्तुत गर्नुभएको थियो । दुबै कार्यपत्रमा सहभागीहरूबीच वृहत रूपमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सूचना तथा प्रसारण विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।सञ्चारकर्मीहरूलाई अपराध अनुसन्धान प्रक्रियाको बारेमा जानकारी प्रदान गर्नु, नेपाल प्रहरी र सञ्चार माध्यमबीच प्रभावकारी सहयोग आदान प्रदानको रूपरेखा स्थापित गर्ने, दुवै पक्षको आ-आफ्नो भूमिका, साझा चुनौती र नैतिक द्विविधा सम्बोधन गर्ने, अपराध अनुसन्धानमा सञ्चार माध्यमको भूमिका, सार्वजनिक धारणा साथै यसको प्रभावको विश्लेषण गर्ने एवम् अपराध अनुसन्धान र अनुसन्धानात्मक प्रक्रियामा सञ्चार माध्यमको प्रभाव पहिचान गर्ने यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।  

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी रणनीतिक सम्मेलन सम्पन्न
२०८२-१०-२६

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालित प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” सोमबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूको व्यावसायिक एवम् व्यवहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावहरूबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गर्नुभयो । प्रविधिको माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखा परेका नवीनतम् चुनौतीहरू समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्नको लागि नागरिकको रचनात्मक सहयोगको पनि निरन्तर आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका साथै क्षमता अभिवृद्धि, प्रशिक्षण एवम् वृत्ति विकासमा मार्गदर्शक हुने बताउनुभयो । सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बन्न प्रेरणा दिएको तथा नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तरमा सुधार र नागरिकको प्रहरी प्रतिको विश्वासमा वृद्धि गर्न समेत सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरी रणनीतिक सम्मेलनका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्मेलनको महत्व सम्बन्धी मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी रणनीतिक सम्मेलनको गतिविधि समेटिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, विभिन्न क्षेत्रका विज्ञ, विद्यार्थीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । सम्मेलनमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, पूर्व मुख्यसचिव लिलामणि पौडेल, अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, गृहमन्त्रालयका सहसचिव काली प्रसाद पराजुली, नविल बैंकका प्रमुख कार्यकारी अधिकारी मनोज कुमार ज्ञवाली, कानुनविद्हरू विष्णु सापकोट, अपुर्व खतिवडा, लक्ष्मी बखाड्यो, डा. रमेश पराजुली, गोपाल रिजाल, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, मानवअधिकारकर्मी कृष्ण पहाडी, सुरक्षाविद् चिरनजंग थापा, वरिष्ठ कलाकार राजेश हमाल, लेखक खगेन्द्र संग्रौला, अनुसन्धानकर्ता डा. खगनाथ अधिकारी, अन्तर्राष्ट्रिय विपद विज्ञ डा. सुमन कुमार कर्ण, सूचना प्रविधि विज्ञ गौरव राज पाण्डे, दीपक मल्ल, डा. श्रीधर मरासिनी, मनोज शाक्य, सडक पूर्वाधार विज्ञ ई. पार्थ पराजुली, सुनिल पौडेल, अनिल मर्सानी लगायत विभिन्न क्षेत्रका विषय विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलनमा नेपाल प्रहरीको संचालन, सुपरीवेक्षण र समन्वय, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम् प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधार : नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरण, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, संचार र कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिका लगायतका विषयहरूमा सहभागी र विषय विज्ञबीच वृहत रूपमा छलफल एवम् अन्तरक्रिया भएको थियो ।      नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीहरूको समग्र मुल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्नु, विद्यमान संगठन संचालनको अवस्था र सुधारका उपायहरू समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपायहरू पहिचान गर्नु एवम् नेपाल प्रहरी प्रतिको दृष्टिकोण र जनअपेक्षाको सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रहरूमा सुधारका उपायहरू पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।