प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित

२०७९-०१-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ बैशाख १८ गतेको निर्णयअनुसार बैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।

नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा सोमबार आयोजित बिशेष समारोहबीच गृहसचिव टेक नारायण पाण्डेले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो ।

  सुशोभन समारोहमा गृहसचिव पाण्डेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक सिंहलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै राज्य, सरकार, आमनागरिक र सिंगो समाजले राखेका अपेक्षा पूरा गराउन प्रहरी संगठनलाई दृढतापूर्वक अगाडि बढाउने पहल नयाँ नेतृत्वबाट हुने विश्चास व्यक्त गर्नुभयो । विगतमा भोगेका भन्दा नयाँ ढाँचा  र आधुनिक प्रकृतिका अपराधहरु विकसित हुँदै गएको अवस्थामा तिनको नियन्त्रण र चुनौती सामना गर्न सक्षम प्रहरी संगठन निर्माण गर्नुका साथै स्वस्थ्य सामाजिक संस्कार सभ्यताको विकासका लागि प्रहरी संगठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो ।

गृहसचिव पाण्डेले हालै प्रहरी संगठनकोतर्फबाट प्रस्तुत स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाको खाका समावेश भएको कार्ययोजना कार्यान्वयनका लागि गृहमन्त्रालयले अभ्यास, प्रयास र निरन्तरता दिने बताउनुभयो । प्रहरी संगठनलाई अपराध पत्ता लगाउने सुयोग्य साधन बनाउने र शान्ति सुरक्षाको अभिभारा पूरा गर्न प्रहरी संगठन सफल हुने सुभेक्षा उहाँले व्यक्त गर्नुभयो । सांगठनिक पुनसंरचनाको काम, जनशक्तिको क्षमता, संगठनलाई स्रोत साधन युक्त र संगठनमा क्षमतावान र प्रतिस्पर्धी जनशक्तिलाई भित्राउन टिकाउन र सक्षम नेतृत्व विकास गर्नुपर्ने चुनौतीलाई पूरा गर्न नेपाल सरकारले प्रहरी संगठनलाई सदैव सहयोग र सहकार्य गर्ने उहाँले बताउनुभयो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृह मन्त्रीज्यू तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार र गृहमन्त्रालयको मार्ग निर्देशन प्रहरी संगठनका लागि मार्ग प्रशस्त गर्ने आधार भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हाँसिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्यलाई सफल पार्न नेपाल प्रहरी कटिवद्ध र कृतसंकल्पित रहेको छ ।”

सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णत: निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कामय राख्ने, आपराधिक तत्वहरुसँगको साठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रीत राखी सहकर्मीहरुको सहकार्यमा संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “शहरकेन्द्रित अपराधहरुको स्वरुपमा भैरहेको तीव्र परिवर्तनले थपिएका चुनौतीहरुको सामना गर्न नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै लैजानुको विकल्प छैन । अपराध र सुरक्षा चुनौतीका आधारमा मापदण्ड बनाई Urban Policing र Rural Policing को अवधारणा अनुरुप ‘सुरक्षित शहर र सुरक्षित गाउँ’ निर्माण गरी आमनागरिकहरु माझ नेपाल प्रहरीको विश्वास अभिवृद्धि गर्नेतर्फ प्रहरी रणनीति केन्द्रीत रहनेछ ।” राष्ट्रिय प्राथमिकतामा रहेको स्थानीय तहको निर्वाचनलाई सुरक्षित एवं भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो बालिग मताधिकारको प्रयोग गर्न सक्ने गरी निर्वाचन सुरक्षा योजना अनुरुप प्रहरीको सम्पूर्ण स्रोतसाधनहरु प्रभावकारी रुपमा परिचालित हुने उहाँले बताउनुभयो । 

कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले सोमबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंह नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो । 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुसाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

विसं २०२४ कात्तिक २० गते दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर ७ मा जन्मनु भएका प्रहरी महानिरीक्षक सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नुभएको थियो । प्रहरी महानिरीक्षक सिंह २०६२ जेठ २२ गते प्रहरी नायव उपरीक्षक, २०६९ माघ ११ गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ वैशाख ७ गते प्रहरी नायब महानिरीक्षक र २०७८ चैत ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको  थियो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक सिंहले कम्प्रिहेन्सिभ क्राईसिस मेनेजमेन्ट, अपराध अनुसन्धान, क्रिमिनल इन्टेलिजेन्स एनालाइसिस कोर्ष, एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी, ट्रेनिङ कोर्स अन बोर्डर ल ईनफोर्समेनट फर नेपाल, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न १३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको   छ । प्रहरी महानिरीक्षक सिंहले सुप्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको  साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । 


सम्बन्धित समाचार
लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सबैको सामूहिक प्रयास आवश्यक - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०८-१४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।  प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा र लैङ्गिक हिंसा रहित प्रविधि, सुरक्षा र न्यायको विधि भन्ने नेपाल प्रहरीको नारा सहित नेपाल प्रहरी प्रधान कार्यालयमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिकीकरण समेत गर्नुभयो । साथै उहाँले लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैङ्गिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने उल्लेख गर्दै यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो । लैङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य र समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान केवल एउटा अभियान वा अवधिमा सीमित नरही वर्षभरी उत्तिकै उर्जाका साथ सम्बन्धीत सबै निकायहरूले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्रले लैङ्गिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीका सबै निकायहरूबाट सम्पादन भएका काम कारबाहीहरूलाई समेटेको चर्चा गर्दै यस तथ्यपत्रले महिला बालबालिका तथा जेष्ठ नागरिकको हितमा कार्यरत समस्त नेपाल प्रहरीका सकल दर्जाको सदैव प्रतिबद्धता रहेको र आगामी दिनमा लैङ्गिक हिंसा न्यूनीकरणमा समेत मार्गदर्शन गर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय एआइको विकास र प्रविधिको प्रयोगले हिंसा न्यूनीकरणमा थप चुनौती देखा परेको उल्लेख गर्दै नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षा प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी विभिन्न संघसंस्थाहरू, शैक्षिक संस्थाहरु, स्थानीय तह र महिला संजालहरूसँग समेत समन्वय गरी हिंसा विरूद्धका सचेतनामुलक कार्यक्रम संचालनलाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो । लैङ्गिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा गृहमन्त्रालयका उपसचिव मिना अर्याल, राष्ट्रिय महिला आयोगका उपसचिव रोसनी देवी कार्की, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई, युनिसेफ नेपाल चिफ अफ चाइल्ड प्रोटेक्सन Leon Muwoni र स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका उपसचिव कविता अर्यालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको  थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लैङ्गिक हिंसा नियन्त्रण: तथ्यमा वर्तमान अवस्था, विश्लेषण, प्रमुख चुनौती र भावी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

तीन जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०८-१०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहनुभएको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूका धर्मपत्नी एवम् परिवारजनहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । जेष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकोले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको चर्चा गर्दै निस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसाथ गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताउनुभयो । प्रहरी प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०८-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउँदै कुनै पनि अपराध विरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन दिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।  प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउँदै बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न क्रियाशील हुनुपर्ने बताउँदै आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न समेत उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
२०८२-०८-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच अपराध अनुसन्धान सम्बन्धी एकदिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ  । अपराध अनुसन्धान विभागको ७०औं स्थापना दिवस, २०८२ को अवसरमा उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अपराध अनुसन्धान विभागका पूर्व प्रमुख एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहलाई सम्मान गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान विभागद्वारा प्राकाशित CID Magazine, 2082 को विमोचन समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले यस अन्तरक्रिया कार्यक्रममा सबैको सक्रियतापूर्ण सहभागिताले अपराध अनुसन्धान सम्बन्धी समसामयिक पक्षहरू, अपराधका प्रकृतिहरू, प्रहरी क्रियाशीलता र प्रविधिको विधि सम्मत प्रयोग, कानून कार्यान्वयनका नवीन तौरतरिका समेतका विषयमा गहिरो विचार विमर्श गरी अपराध अनुसन्धानको मूल दायित्व बोकेको नेपाल प्रहरीलाई मार्गनिर्देश गर्न महत्वपूर्ण एवम् प्रभावकारी हुने विश्वास लिएको बताउनुभयो । अन्तरक्रिया तथा छलफल कार्यक्रममा समसामयिक आपराधिक घटनाहरूको अध्ययन विश्लेषणका साथै विद्युतीय र आर्थिक अपराधका घटनाहरूको तुलनात्मक अध्ययन विश्लेषण र आगामी दिनमा बढ्न सक्ने अपराधका संभावित घटनाहरू विश्लेषण समेतमा गहिरो छलफल हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सामाजिक संजालको दुरूपयोगले सामाजिक सुरक्षा व्यवस्थामा चुनौति बढिरहेको उल्लेख गर्दै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा संगठित अपराधहरूका अनुसन्धानमा समेत क्षमता विकासको उत्तिकै आवश्यकता रहेको बताउनुभयो । फैसला कार्यान्वयन र फरार प्रतिवादीहरूको खोजतलास र पक्राउलाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न एवम् विगतमा घटेका अपराधका घटनाहरू तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित सबै अपराध अनुसन्धान क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले निष्पक्ष, प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानले कानुन विपरित कार्य गर्नेहरूलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा प्रहरी प्रतिको प्रतिष्ठा एवम् विश्वास समेत अभिवृद्धि गर्ने उल्लेख गर्दै सूचना संकलन एवम् विश्लेषण गरी संभावित अपराधको नियन्त्रण तथा घटित अपराधको अनुसन्धान गर्न र कानुन कार्यान्वयनको माध्यमले कानुनी शासनको प्रत्याभूति गर्ने हुनाले सबै प्रहरी कर्मचारीहरूको थप क्रियाशीलता जरूरी रहेको बताउनुभयो । अदालतले सजाय तोकेका कसुरदारहरू समाजमा खुलेआम हिड्ने अवस्था भयो भने समाजमा त्रासको अवस्था सिर्जना भइराख्ने र कानुन कार्यान्वयनले त्यस्तो अवस्थालाई अन्त्य गर्ने चर्चा गर्दै हालसम्म भएका असल अभ्यासहरूको पहिचान गरी अपराध अनुसन्धानलाई प्रमाणमुखी, वैज्ञानिक एवम् पारदर्शी बनाउन आवश्यक रणनीतिहरू र कानुनी सुधारको विषयहरूमा समेत यस अन्तरक्रिया केन्द्रित हुनेछ भन्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।   नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अपराध अनुसन्धान विभागका पूर्व प्रमुख एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाह र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक अनन्तराम भट्टराई लगायतले आ-आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक बासुदेव पाठकले विभागीय गतिविधि सम्बन्धी संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा अपराध नियन्त्रण र अनुसन्धानको वर्तमान अवस्थामा, चुनौति र समाधानका उपायहरू लगायतका विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अपराध अनुसन्धान विभागका पूर्व प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने नीति निर्माण समितिको बैठकको निर्णय
२०८२-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ नायव निरीक्षक सम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५ % ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा रकम २ लाख रूपैयाँ सम्म उपलब्ध गराउने निर्णय गरिएको हो । साथै उक्त रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम रू. १० करोड सम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको हो ।  

जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सबैको सामूहिक प्रयत्न आवश्यक - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको नेतृत्वको जिम्मेवारी सम्हाल्दै गर्दा प्रहरी कर्मचारीहरूको साहस, चरित्र र व्यावसायिकतालाई सांगठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामर्थ्यको रूपमा लिएको बताउँदै यसकै जगमा अझ जनविश्वास आर्जन गर्न जनअपेक्षा अनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गराई भय रहित समाज निर्माण गर्न हामी सबैको सामूहिक प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकांक्षा अनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेको उल्लेख गर्दै विभिन्न आयामका सुरक्षा चुनौतिहरूको कारणले समग्र सुरक्षा संवेदनशीलता बढेको र यो विषम परिस्थिति र संकट पश्चात उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरी प्रति असाधारण किसिमका अपेक्षाहरू रहेको तथ्य प्रति आफू पूर्णरूपमा जानकार र सजग रहेको बताउनुभयो । असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकहरूको सेवाका लागि नेपाल प्रहरीका सकल दर्जाले लिएको अग्रसरता, साहस र धैर्यताको उच्च प्रशंसा गर्दै जस्तो सुकै प्रतिकुल परिस्थितिको अवस्थामा पनि तत्काल पुनर्जागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामर्थ्यलाई फेरी एकपटक पुन: पुष्टि गरेको उहाँले बताउनुभयो । असाधारण परिस्थितिले असाधारण कर्तव्यपरायणताको अपेक्षा राखेको हुने बताउँदै प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, ‘आजको यस परिस्थितिमा हामीले हाम्रा व्यक्तिगत स्वार्थहरूलाई थाती राखेर सुशासन प्रतिको असाधारण जनअपेक्षा अनुरूपको संगठन निर्माण र तदनुरूपको सेवा प्रवाह गर्नका लागि अहोरात्र आफ्नै काम सम्झेर, घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनुपर्ने अवस्था छ । साधन स्रोतको अभावको देखाएर बसिराख्ने छुट हामीलाई प्राप्त छैन । भनिन्छ प्रतिकुल परिस्थितिमा नै मानिसहरूको वास्तविक क्षमताको मूल्याङ्कन हुन्छ । मान्छेको वास्तविक परिचय पनि त्यही निर हुन्छ ।’  नवीनतम् प्रविधिको रूपमा साइबर सम्बन्धी अपराधहरू एवम् आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू असाधारण रूपमा वृद्धि भइरहेको, लागूऔषधको दुर्व्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्थाहरू रहेको उल्लेख गर्दै यस्ता चुनौतिहरूको सम्बोधन गर्न एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैको सामूहिक सक्रियता, अग्रसरता र सिर्जनशीलता आवश्यक रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले संगठनात्मक र व्यक्तिगत रूपमा आम नागरिकहरू प्रतिका व्यवहारलाई अझ परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आपराधिक प्रवृत्ति विरूद्ध कठोर रूपमा र आम नागरिकसँग अपेक्षा अनुरूप व्यवहार गरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आआफ्नो आचरण र व्यावसायिकतालाई व्यक्तिगत पुँजीको रूपमा मात्र ग्रहण नगरेर सांगठनिक आस्था र सम्मानको साधनको रूपमा ग्रहण गर्नुहुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी विधिवत रूपमा स्थापना भएको करिब सात दशक लामो कालखण्डमा आइपरेका विभिन्न किसिमका उतार चढाव, आरोह अवरोह पार गर्दै संगठनलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउनु हुने अग्रज प्रहरी महानिरिक्षकहरू लगायत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रति उच्च सम्मानका साथ हार्दिक आभार व्यक्त गर्नुभयो । साथै संगठनलाई समयानुकुल विकासको अर्को चरणमा पुर्‍याउने अभिभारा सबैको साझा दायित्वको रूपमा रहेको उहाँले बताउनुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।