प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित

२०७९-०१-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ बैशाख १८ गतेको निर्णयअनुसार बैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।

नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा सोमबार आयोजित बिशेष समारोहबीच गृहसचिव टेक नारायण पाण्डेले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो ।

  सुशोभन समारोहमा गृहसचिव पाण्डेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक सिंहलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै राज्य, सरकार, आमनागरिक र सिंगो समाजले राखेका अपेक्षा पूरा गराउन प्रहरी संगठनलाई दृढतापूर्वक अगाडि बढाउने पहल नयाँ नेतृत्वबाट हुने विश्चास व्यक्त गर्नुभयो । विगतमा भोगेका भन्दा नयाँ ढाँचा  र आधुनिक प्रकृतिका अपराधहरु विकसित हुँदै गएको अवस्थामा तिनको नियन्त्रण र चुनौती सामना गर्न सक्षम प्रहरी संगठन निर्माण गर्नुका साथै स्वस्थ्य सामाजिक संस्कार सभ्यताको विकासका लागि प्रहरी संगठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो ।

गृहसचिव पाण्डेले हालै प्रहरी संगठनकोतर्फबाट प्रस्तुत स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाको खाका समावेश भएको कार्ययोजना कार्यान्वयनका लागि गृहमन्त्रालयले अभ्यास, प्रयास र निरन्तरता दिने बताउनुभयो । प्रहरी संगठनलाई अपराध पत्ता लगाउने सुयोग्य साधन बनाउने र शान्ति सुरक्षाको अभिभारा पूरा गर्न प्रहरी संगठन सफल हुने सुभेक्षा उहाँले व्यक्त गर्नुभयो । सांगठनिक पुनसंरचनाको काम, जनशक्तिको क्षमता, संगठनलाई स्रोत साधन युक्त र संगठनमा क्षमतावान र प्रतिस्पर्धी जनशक्तिलाई भित्राउन टिकाउन र सक्षम नेतृत्व विकास गर्नुपर्ने चुनौतीलाई पूरा गर्न नेपाल सरकारले प्रहरी संगठनलाई सदैव सहयोग र सहकार्य गर्ने उहाँले बताउनुभयो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृह मन्त्रीज्यू तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार र गृहमन्त्रालयको मार्ग निर्देशन प्रहरी संगठनका लागि मार्ग प्रशस्त गर्ने आधार भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हाँसिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्यलाई सफल पार्न नेपाल प्रहरी कटिवद्ध र कृतसंकल्पित रहेको छ ।”

सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णत: निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कामय राख्ने, आपराधिक तत्वहरुसँगको साठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रीत राखी सहकर्मीहरुको सहकार्यमा संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “शहरकेन्द्रित अपराधहरुको स्वरुपमा भैरहेको तीव्र परिवर्तनले थपिएका चुनौतीहरुको सामना गर्न नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै लैजानुको विकल्प छैन । अपराध र सुरक्षा चुनौतीका आधारमा मापदण्ड बनाई Urban Policing र Rural Policing को अवधारणा अनुरुप ‘सुरक्षित शहर र सुरक्षित गाउँ’ निर्माण गरी आमनागरिकहरु माझ नेपाल प्रहरीको विश्वास अभिवृद्धि गर्नेतर्फ प्रहरी रणनीति केन्द्रीत रहनेछ ।” राष्ट्रिय प्राथमिकतामा रहेको स्थानीय तहको निर्वाचनलाई सुरक्षित एवं भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो बालिग मताधिकारको प्रयोग गर्न सक्ने गरी निर्वाचन सुरक्षा योजना अनुरुप प्रहरीको सम्पूर्ण स्रोतसाधनहरु प्रभावकारी रुपमा परिचालित हुने उहाँले बताउनुभयो । 

कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले सोमबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंह नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो । 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुसाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

विसं २०२४ कात्तिक २० गते दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर ७ मा जन्मनु भएका प्रहरी महानिरीक्षक सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नुभएको थियो । प्रहरी महानिरीक्षक सिंह २०६२ जेठ २२ गते प्रहरी नायव उपरीक्षक, २०६९ माघ ११ गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ वैशाख ७ गते प्रहरी नायब महानिरीक्षक र २०७८ चैत ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको  थियो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक सिंहले कम्प्रिहेन्सिभ क्राईसिस मेनेजमेन्ट, अपराध अनुसन्धान, क्रिमिनल इन्टेलिजेन्स एनालाइसिस कोर्ष, एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी, ट्रेनिङ कोर्स अन बोर्डर ल ईनफोर्समेनट फर नेपाल, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न १३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको   छ । प्रहरी महानिरीक्षक सिंहले सुप्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको  साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । 


सम्बन्धित समाचार
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय: प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-११-२५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले संगठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउनुभएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले निर्देशन सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारहरूको अभाव एवम् प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका चिन्तन एवम् आकांक्षाका वावजूद निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले उच्च मनोबल, सामूहिक भावना एवम् जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको उच्च व्यावसायिकता प्रशंसनीय रहेको बताउनुभयो । प्रतिकुल परिस्थितिका वावजूद मुलुकप्रतिको समर्पण भावका साथ आफूलाई तोकिएको जिम्मेवारीमा केन्द्रीत रहेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको व्यावसायिक भूमिका प्रति उहाँले आभार व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले प्रहरीको अथक सक्रियता र क्रियाशीलताको कारणले समाजमा शान्ति सुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी इलाकाको विस्तृत जानकारीहरू राखी योजनावद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्ने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरूले परिवर्तनलाई आत्मसात् गर्न जरूरी रहेको बताउँदै समयानुकूल अझ शिष्ट बोली, वचन र आचरणका साथै जनउत्तरदायी भई नागरिकहरूप्रति पूर्णरूपमा समर्पित भएर कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेशा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमानदारीता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवम् दृढ अनुशासन आवश्यक रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनीक लक्ष्य प्रति सदैव केन्द्रीत भई सामूहिक भावना एवम् भातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । निश्चिन्त भएर कानूनी रूपले प्रदत्त अधिकारहरू प्रयोग गर्दै आगामी दिनमा सम्पूर्ण प्रहरी कर्मचारीहरूले निष्ठावान्, इमानदार भई अझ उच्च अनुशासन एवम् व्यावसायिकता प्रदर्शन गर्दै कर्तव्य निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । संगठनको सुदृढीकरण र शुद्धिकरणको लागि आफू सदैव प्रयत्नशील रहने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत प्रहरी कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

सबै प्रहरी कर्मचारीहरूले आफ्नो उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न जरूरी : प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-११-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीहरूले निर्वाह गर्दै आइरहेको भूमिका उत्कृष्ट रहेको चर्चा गर्दै आगामी दिनमा समेत सबै प्रहरी कर्मचारीहरूले निष्ठावान्, इमानदार भई अझ उच्च अनुशासन एवम् व्यावसायिकता प्रदर्शन गर्न जरूरी रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियालाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका एवम् जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको व्यावसायिकता प्रशंसनीय रहेको बताउनुभयो । सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ निर्वाचनको समयमा प्राप्त आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको समेत उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले मतगणनास्थलमा देखा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी आवश्यक सुरक्षा रणनीति सहित प्रभावकारी प्रहरी परिचालनमा विशेष सतर्कता अपनाउन निर्देशन दिनुभयो । मतगणनास्थल, मतगणनाको परिणाम एवम् विजयी दलको र्‍याली, जुलुस लगायतका क्रियाकलापमा कुनै पनि त्रुटि नहुने गरी थप संवेदनशील भई कार्य गर्न समेत उहाँले जोड दिनुभयो । सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले कुनै पनि अवाञ्छित गतिविधिमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरू थप क्रियाशील हुन निर्देशन दिनुभयो । साथै सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । निर्वाचन प्रहरीप्रति सबै प्रहरी कर्मचारीहरूले अझ उत्कृष्ट आचरण एवम् व्यवहार प्रस्तुत गर्नुपर्ने बताउँदै उनीहरूको उचित व्यवस्थापन तथा प्राप्त गर्ने सेवा सुविधामा कुनै पनि कमिकमजोरी नहुने गरी कार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालय सम्मका निर्वाचन सेलका प्रमुख तथा प्रतिनिधिहरू एवम् थप मद्दतका रूपमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लगायत अन्य प्रहरी अधिकृतहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-११-१७

काठमाडौं,  प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर कार्य गर्ने र सो समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति सहित प्रहरी कर्मचारीहरू सदैव तयार हुनुपर्ने उल्लेख गर्दै सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो । भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ-आफ्नो क्षेत्रमा त्रुटीरहित तवरमा कार्यसम्पदान गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिका साथै सामाजिक सञ्जाल मार्फत गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत भई कार्य गर्नुपर्नेमा विशेष जोड दिनुभयो । आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय गरी संयुक्त परिचालनका साथै संयुक्त पूर्वअभ्यासहरूलाई समेत प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, ‍निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्व तथा सामाजिक सञ्जालको प्रयोगमा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई आ-आफ्नो जिम्मेवारी वहन गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनको वातावरणलाई शान्तिपूर्ण बनाउनको लागि आ-आफ्नो क्षेत्रमा खटिएका निर्वाचन अधिकृतसँग आवश्यक समन्वय र सहकार्य गर्दै कार्य गर्नुपर्ने उल्लेख गर्दै मतदान अधिकृतसँग समन्वय गरी मतदान केन्द्रको निर्माण एवम् मतदानस्थलमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलतामा कुनै पनि त्रुटी नहुने गरी काम गर्नुपर्ने बताउनुभयो । निर्वाचनको समयमा थप मद्दतको रूपमा खटि आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममूखी परिचालनमा केन्द्रित हुन उहाँले आग्रह   गर्नुभयो । साथै कुनै पनि आर्थिक अपराध एवम् हुण्डी कारोबारमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन अझ खरोरूपमा प्रस्तुत भई काम गर्नु समेत उहाँले निर्देशन दिनुभयो ।   कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले समेत जनशक्ति व्यवस्थापन, आचारसंहिताको पालना, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी, विद्यमान सुरक्षा चुनौतीहरू र अपनाउनुपर्ने सुरक्षा सावधानी लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालय सम्मका निर्वाचन सेलका प्रमुख तथा प्रतिनिधिहरू एवम् थप मद्दतका रूपमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लगायत अन्य प्रहरी अधिकृतहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको समुपस्थितिमा निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न
२०८२-११-१३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको समुपस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ : सुरक्षा व्यवस्थापन र सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।  कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गरी कार्य गर्नुपर्ने  बताउनुभयो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सूचना संकलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राखि तर्जुमा गरिएका सुरक्षा रणनीति एवम् कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । साथै विगतमा सम्पन्न भएका निर्वाचन सुरक्षाको विश्लेषण गर्दै आसन्न निर्वाचनमा समेत अझ प्रभावकारी सुरक्षा रणनीति अपनाई कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षहरूले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलता अनुसार आपसी समन्वयात्मक ढंगबाट कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । यस अन्तरक्रियाबाट प्राप्त भएका सुझाव, प्रतिक्रिया एवम् पृष्ठपोषणले निर्वाचन सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचन पश्चातको सम्पूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न यस अन्तरक्रियाबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने   बताउनुभयो । साथै विगतमा भएका त्रुटी एवम् कमीकमजोरीहरूको समेत विश्लेषण गरी आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन लक्षित सुरक्षा योजना/रणनीति अवलम्बन गरी प्रभावकारी प्रहरी परिचालन गरिएको उहाँले उल्लेख गर्नुभयो । निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, सामाजिक सञ्जाल मार्फत हुनसक्ने निर्वाचन विरोधी लगायतका क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय रूपमा परिचालन भइरहेको उहाँले बताउनुभयो ।  कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवम् सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्न सक्ने जोखिम र चुनौतीहरूलाई सुक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । निर्वाचनको सन्दर्भमा नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति प्रशंसनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन समेत गृह मन्त्रालय सदैव क्रियाशील रहेको बताउनुभयो ।    सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र बोहोराले निर्वाचन सुरक्षा तयारी र आगामी रणनीति, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन, सुरक्षा चुनौती/विश्लेषण लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो । आसन्न प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गरी नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना तर्जुमा गर्दै प्रभावकारी कार्यान्वयनको लागि पूर्व तयारीका कार्यहरू अगाडि बढाइरहेको सन्दर्भमा विगतमा सम्पन्न निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका दिग्गज व्यक्तित्वहरू एवम् पूर्व वरिष्ठ प्रहरी अधिकृतहरूको अनुभव, व्यवहारिक ज्ञान तथा रणनीतिक सुझावहरूले निर्वाचन सुरक्षाको निम्ति महत्वपूर्ण आधार तय गर्ने भएकोले उक्त अनुभवलाई संस्थागत रूपमा समेटी निर्वाचन सुरक्षालाई थप प्रभावकारी, सुदृढ तथा परिमाणमुखी बनाउने अन्तरक्रियाको मुख्य उद्देश्य रहेको छ । 

सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-११-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ-आफ्नो क्षेत्रमा त्रुटीरहित तवरमा कार्यसम्पदान गर्न निर्देशन दिनुभयो । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखि भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, ‍निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्वमा आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई आ-आफ्नो जिम्मेवारी वहन गर्न उहाँले निर्देशन दिनुभयो । निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरू प्रति गरिने आचरण, व्यवहार प्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने बताउँदै निर्वाचनको समयमा थप मद्दतको रूपमा खटि आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाहरूको सम्बोधनको लागि सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताउनुभयो । आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग समन्वय गरी संयुक्त परिचालनमा समेत थप क्रियाशील भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समसामायिक विषयमा छलफल गरी प्रदेश अन्तर्गत शान्ति सुरक्षाको अवस्था एवम् आसन्न निर्वाचनको तयारी लगायतका विषयवस्तु सम्बन्धी जानकारी समेत लिनुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापान सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न
२०८२-१०-२९

काटमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित कार्यक्रमबीच काठमाडौं उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापान सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको हो  ।सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम संचालनमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षा सम्बन्धमा सडक प्रयोगकर्ता, सडक विभाग, यातायात व्यवस्था विभाग, सवारी साधन धनी तथा यातायात व्यवसायीहरू लगायतका सरोकारवाला पक्षहरूको जिम्मेवारी, दायित्व र जवाफदेहिता अपरिहार्य रहने उल्लेख गर्दै सडक सुरक्षामा कुनै एक निकायको जिम्मेवारी नभई सबैको संयुक्त जिम्मेवारी एवम् दायित्व हुने भएकोले त्यसतर्फ सबै सरोकारवाला पक्षहरू केन्द्रित हुनुपर्ने बताउनुभयो । सडक प्रयोगकर्ताहरू स्वयम्‌ले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै सडक सुरक्षाको लागि सबै सरोकारवालाहरूबीच आपसी समन्वय र सहकार्य समेत आवश्यक रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण जिम्मेवारी भएकोले उक्त व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीहरूलाई जनस्तरबाट समेत सहयोग र सद्भाव प्राप्त हुने गरेको उल्लेख गर्दै गोष्ठीबाट प्राप्त भएका ज्ञान अनुभवहरूले ट्राफिक प्रहरीको व्यावसायिक क्षमता, विश्लेषणात्मक सोच, निर्णय र नेतृत्व क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउने र आम नागरिकको अपेक्षा अनुरूपको उत्तरदायित्व एवम् प्रभावकारी सेवा प्रवाह गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीबाट सडक प्रयोगकर्ता, सरोकारवाला पक्षहरू र ट्राफिक प्रहरी बीच थप व्यावसायिक निकटतामा वृद्धि भई सडक सुरक्षा व्यवस्थापनमा थप प्रभावकारिता आउने समेत उहाँले बताउनुभयो । कार्यक्रममा Institute of Road Traffic Education का अध्यक्ष डा. रोहित बालूजा र Nepal Automobile Importers and Manufacturers Association (NAIMA) का अध्यक्ष ऋतु सिंह वैद्यले गोष्ठीको औचित्य सम्बन्धी आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।       आजै बिहान शुरू भएको उक्त कार्यशाला गोष्ठीको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले उद्‌घाटन गर्नुएको थियो । गोष्ठीमा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी, सडक विभागका प्रतिनिधि राकेश महर्जन, वातावरण विभागका वातावरणीय निरीक्षक हस्ता श्रेष्ठ, सडक सुरक्षा परिषद्‍का सरोज प्रधान, स्थानीय निकायको तर्फबाट काठमाडौं महानगरपालिकाका प्रतिनिधि शिरिस पाण्डे लगायतले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी मन्तव्य एवम् प्रस्तुतीकरण गर्नुभएको थियो ।  सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिक, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी लगायतले गोष्ठीमा छलफल भएका विषयहरूमा सुझाव तथा टिप्पणी दिनुभएको थियो ।