प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिजिट भिषामा दुबई पठाई ठगी गरेको अभियोगमा पाँच जना पक्राउ

२०७९-०२-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, भिजिट भिषामा नेपालबाट दुबई पठाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा लम्जुङ राईनास नगरपालिका-३ ठेगाना भएका ४७ वर्षीय मधुबिलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका-८ ठेगाना भएका ५४ वर्षीय होम बहादुर खड्का, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३५ वर्षीया रंजना ढकाल प्याकुरेल, रुपन्देही देवदह नगरपालिका-५ ठेगाना भएका ३० वर्षीय राजु भन्ने खुम बहादुर बस्याल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ टाउन प्लानिङ बस्ने ४० वर्षीय सन्तोष प्याकुरेल रहेका छन् । 

 दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसिको संचालक कोमलराज उपाध्याय समेतको गिरोहले आमर्स गार्डमा ५ सय जनाको भ्याकेन्सी भएको, मासिक तलब ३ हजार दिराम सम्म पाउने बैदेशिक रोजगारमा लगाई दिने, सो वापत जनही ३ लाख ५० हजार रूपैयाँ देखि ८ लाख रूपैयाँसम्म खर्च लाग्ने भनि फेसबुक वाट्सएप जस्ता सामाजिक संजालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारणलाई विभिन्न मितिमा भिजिट भिषामा दुबईमा पुर्‍याई ९० दिनभित्र काममा लगाई दिन्छु भनि विश्वासमा पारी काममा नलगाई बिचल्ली बनाई फरार भएका थिए । उक्त घटनामा संलग्न उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सर्लाही, रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो ।

नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल र दुबईस्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको र हालसम्म ७६ जना पीडितहरुबाट २ करोड ४३ लाख ३६ हजार ८ सय १० रूपैयाँ ठगी भएको खुल्न आएको छ । 

उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।