अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-११
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१७ आइसीपी गेटस्थित घुम्ती पसलबाट करिब १ किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-२५ सिर्सिया बस्ने ६५ वर्षीय सुन्दर देव दासलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घुम्ती पसलमा लागूऔषध गाँजा विक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्सा, छिपरमाई गाउँपालिका-५ कवरगाहस्थित सडकबाट नियन्त्रित लागूऔषध ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल नुर्फिन र ३ सय एम्पुल फेनारगन सहित भारत घर भएका २० वर्षीय रोहित कुमार सोनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको स्कुटरलाई प्रहरी चौकी भिष्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ७२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१४ घर भएका २१ वर्षीय सुजन खड्का र उनकी श्रीमती १९ वर्षीया बिनिशा खड्का रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूको डेरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले ४ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।