प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

२०७८-०६-२६

  • A
  • A-
  • A+
Share

मोरङ,

धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई १ थान कटुवा पेस्तोल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा विराटनगर उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया गोराहा-४ बस्ने ३० वर्षीय बिजय सहनी र भारत सेखपुरा-५ बस्ने २८ वर्षीय सुनिल यादव रहेका छन् । उक्त बैंकमा मोटरसाइकलमा आएका हतियारधारी समूहले बैंकको गार्डलाई गोली प्रहार गरी घाइते बनाई नगद लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट लुटपाटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये को.२५ प ३८९९ नम्बरको मोटरसाइकलमा सवार ३ जनालाई कटुवा पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । साथै घाइते भएका लुटपाटमा संलग्न बिजय सहनीको प्रहरीको निग्रानीमा रङगेली अस्पतालमा उपचार भइरहेको छ भने गोली प्रहारबाट घाइते भएका बैंकका गार्ड रंगेली नगरपालिका-२ बस्ने ४० वर्षीय सितल कुमालको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 

लुटपाटमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।