प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको तत्वावधानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट शुभारम्भ भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।

गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन तथा गमलामा जल सिंचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममा समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जन धनको रक्षा, शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको बताउनुभयो ।

राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “यो कार्यक्रमको माध्यमबाट देशभरिकै आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ, आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ ।” सहभागी युवाहरूले समाजमा सचेतना जगाउन तथा नेपालमा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्चास उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो । 

उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप देशभर आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्य एवम् नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा उल्लेखनीय सफलता हासिल गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो  । 

आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, गृहमन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिस दत्तले आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सामुदायिक सेवा केन्द्रहरूको तर्फबाट सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह, विद्यालयकोतर्फबाट अरनिको ईन्टरनेश्नल सेकेण्डरी स्कुल एण्ड कलेज ताल्छिखेलका किरण जंग बिष्टले आत्महत्या न्यूनीकरणमा सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले सन् २०२१ देखि सन् २०२३ सम्मको लागि तय गरिएको विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धी अन्तर्राष्ट्रिय नारा ‘कर्म मार्फत आशाको सृजना गरौं’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । साथै सातै प्रदेशको राजधानीमा प्रदेश स्तरीय र सबै जिल्ला र सदरमुकामहरूमा समेत समुदाय-प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ । 


सम्बन्धित समाचार
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा विभिन्न प्रहरी कार्यालयका प्रवक्ता सँग छलफल एवम् अन्तरक्रिया
२०८२-११-०५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले पत्रकार सम्मेलन वा प्रेस विज्ञप्तिमा देखिने प्रवृत्तिहरू, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूलाई नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम सुरू
२०८२-१०-१८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने तेस्रो समूहको ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक ई. भरत कुमार श्रेष्ठलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान ९ जना गरी कुल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव सम्पन्न
२०८२-१०-१०

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । सो अवसरमा उहाँले विद्यालयको वार्षिक मुखपत्र (दिप्तिका) को विमोचन गर्नुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष कार्कीले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, वार्षिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने उत्कृष्ट विद्यार्थी, उत्कृष्ट विद्यार्थीहरूको समूह, उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट शिक्षकहरू र उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो ।   कार्यक्रममा संघकी अध्यक्ष कार्कीले संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै विद्यालयले विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिका साथसाथै व्यवहारिक सीप, आचरण र सामाजिक जिम्मेवारीमा समेत सक्षम बनाउनुपर्ने बताउनुभयो । साथै विद्यालयको निरन्तर उन्नती तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले स्वागत मन्तव्य तथा विद्यालय सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूबाट गीत, सांस्कृतिक नृत्य तथा तेक्वान्दो कला समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, अभिभावकहरू, शिक्षकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान
२०८२-१०-०७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित मोटरसाइकल आउटराइडर्स तालिम २४ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर २१ गतेबाट संचालित ३५ कार्यदिन अवधि रहेको उक्त तालिममा  प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान २९ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

४७ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८२-१०-०६

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४७ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महशुस गराउनुपर्नेमा जोड  दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ७ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४४ जना गरी कुल ४७ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकउत्सवको अवसरमा गीति रचना प्रतियोगिता
२०८२-०९-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ७० औं वार्षिकउत्सव २०८२ को अवसरमा “राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गान (Anthem)” को लागि देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गरेको छ ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सोमबार प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित गर्दै ईच्छुक महानुभावहरूलाई सहभागिताको लागि आव्हान समेत गरेको छ । जसमा ईच्छुक महानुभावहरुले २०८२ माघ १५ गते कार्यालय समयभित्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको महाराजगंजस्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न सक्ने वा ईमेल ठेगाना npa_anthem@nepalpolice.gov.np मा पनि आफ्नो रचना पठाउन सक्नेछन् । निर्णायकबाट छनौट भएको उत्कृष्ट गीति रचनालाई ५१ हजार रूपैयाँ नगद र प्रशंसापत्र प्रदान गर्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । साथै उत्कृष्ट गीति रचनालाई संगीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानको रूपमा प्रहरीले प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।  प्रतियोगिता सम्बन्धी शर्त तथा थप जानकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको वेबसाइटमा राखिएको छ ।