प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न छ जना पक्राउ

२०७९-०९-२३

  • A
  • A-
  • A+
Share

 काठमाडौं, सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अछाम बन्नीगढी गाउँपालिका-६ घर भई काठमाडौं चाबहिल बस्नेहरू ३५ वर्षीय पृथ्वी बहादुर शाह, २५ वर्षीय विजय विक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका-८ बस्ने २७ वर्षीय चक्र बहादुर खत्री, दोलखा खोपाचागुं घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्नेहरू ४४ वर्षीय अनुप खड्का, नवलपरासी(पश्चिम) बर्दघाट नगरपालिका-४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने २७ वर्षीय रंग बहादुर साउद रहेका छन् ।  

काठमाडौं महानगरपालिका-८ सिफलमा रजिष्टर्ड कार्यालय रहेको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालि लगायत दर्जनौं कम्पनीहरुका नाममा शंकास्पद कारोबार देखिएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले सम्बन्धित निकायहरुबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरु संचालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उदेश्य भन्दा फरक प्रकृतिका कार्यहरू गरेको, एक जना अमेरिकी नागरिकको कम्प्युटरमा पहुँच पुर्‍याई एन्टीभाइरस नविकरण बापतको रकम पठाउनु भनि झुक्याई, विश्वास दिलाई निजको खाताबाट अमेरिकी डलर ट्रान्सफर गर्नुका साथै अन्य विदेशी नागरिकहरुलाई समेत झुक्याई, विश्वासमा पारी बेईमानीपूर्वक वायर स्क्याम गरी Swift मार्फत करिब ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर, १२ हजार ८ सय २५ GBP र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० रूपैयाँ ८० पैसा रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै गैह्र कानूनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उदेश्यले ठगी गरी प्राप्त गरेको रकम उनीहरूले संचालन गरेका विभिन्न कम्पनी तथा व्यक्तिहरुका बैंक खाताहरुमा जम्मा हुनासाथ प्राप्त रकमको स्रोत लुकाउने उदेश्यले अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको खातामा ट्रान्सफर गरी ठगी गरेको समेत खुल्न आएको छ ।  

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-११-०५

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली नगरपालिका-८ घर भएकी १९ वर्षीया सुनिता बस्याल रहेका छन् । कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका-४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-११-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने झापा अर्जुनधारा नगरपालिका-६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौं महानगरपालिका-१३ बस्ने गोरखा गण्डकी गाउँपालिका-१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रूपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रूपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रूपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका-२६ बाट र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-११-०५

कास्की, गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चन्दा ऐन सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।