प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसिटिभि फुटेज

२०७९-०९-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्क विहिन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो ।

यसैगरी गत भदौ २० गते दिउँसो काठमाडौं पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हराएकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा एक मोटरसाइकल  चालकले टिपी लगेको देखिए पश्चात चालकलाई झिकाई उक्त रकम महिलालाई फिर्ता दिलाउन प्रहरी सफल भयो ।

विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आई नम्बर नखुलेको भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा सिरहाका २८ वर्षीय पाण्डव दोङको नगद २ लाख रुपैयाँ र मोबाइल १ थान सहितको झोला छुटेकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामारा फलोअप गर्दा कलंकी खसीबजारमा पीडित ओर्लिएको गाडी नम्बर पत्ता लगाई चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगद सहितको झोला बुझाउन प्रहरी सफल भयो ।

यी त केही प्रतिनिधि घटना हुन् । यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङ कक्षमा दैनिकै विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषण गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू तल्लीन हुन्छन् । साथै सिसिटिभि मनिटरिङ कक्षले पिक आवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी प्रभावकारी प्रहरी परिचालन गर्ने गर्दछ । 

काठमाडौं उपत्यकामा सिसिटिभि क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । साथै उपत्यकाका मुख्य-मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनिकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सिसिटिभि क्यामेराको प्रभावकारिता बढ्दै गएको छ । 

नेपाल प्रहरीले आफ्नै अप्टिकल फाईबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरा मार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएकोमा हाल आईपी क्यामराहरू १०५१ वटा रहेका छन् भने उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयहरुमा समेत गरी  जम्मा ३२३१ वटा क्यामेराहरु संचालित छन् ।

समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनिकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारवाही गर्न, चोरी डकैती लगायतका आपराधिक क्रियाकलापलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न सहरहरूमा सिसिटिभि क्यामेरा जडान बृद्धि हुँदै गएको पाईन्छ । 

कुनै पनि सवारी दुर्घटना वा घटना पश्चात पीडितले सिसिटिभि फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्त पश्चात सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभि फुटेज प्राप्तिका लागि कारण सहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरे पश्चात मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ । कतिपय अवस्थामा पीडित आफै काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सिसिटिभि फुटेज हेर्न चाहेमा घटनाको गाम्भिर्यताका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरिन्छ । 

गत आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/ हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल २१७६ र चालु आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म ८६८ फुटेज माग भएकोमा गत वर्ष १२६४ र चालु आर्थिक वर्षमा ४६२ फुटेजहरु उपलब्ध गराईएको छ । सोही फुटेजहरुको आधारमा गत वर्ष ७८२ र चालु आर्थिक वर्षमा २६८ वटा घटनाहरुमा फुटेजको सहायताले घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । यसैगरी आर्थिक वर्ष ०७८/०८९ मा उपलब्ध गराईएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७४०७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही ३८४० जना र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३९८७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही १८५७ जनालाई  सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले सिसिटिभि क्यामेराको प्रभावकारिताको लागि VMS (Video Management Software) सहितको क्यामराहरुको संचालनलाई थप विस्तार गर्दै अझ बढी प्रभावकारी बनाउने उद्देश्य लिएको छ भने राजधानी प्रवेश गर्ने तथा बाहिरीने मुख्य नाकाहरुमा Lane Alignment सहितको सर्भिलेन्स सिष्टमको संचालन र सहरको मूख्य चोकहरुमा सिसिटिभिको मेरुदण्डको रुपमा रहेको अप्टिकल फाईबर प्रयोग गरी Public Address System समेत संचालनमा ल्याउने योजना रहेको छ ।  


           


सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा अनुशिक्षण कार्यक्रम सम्पन्न
२०८२-०८-२९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्न तथा सो अनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य-प्रभावकारिता र कार्यदक्षता अनुगमन एवम् मूल्याङ्कन गर्ने प्रयोजनको लागि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको मंसिर २५ गतेको बैठकबाट पारित कार्यसम्पदान र मूल्याङ्कन ढाँचा सम्बन्धमा उक्त अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकले यस प्रणालीले वस्तुनिष्ठ मूल्याङ्कनको आधार तयार गर्ने र संगठनलाई आगामी दिनमा कुनै पनि योजना बनाउन मद्दत पुग्ने बताउनुभयो । यस प्रणाली मार्फत विभिन्न प्रहरी इकाइहरूको तुलनात्मक अध्ययन गर्ने अवसर मिल्नुका साथै आफुले गरेको कामको मूल्याङ्कन समेत आफैले विश्लेषण गरी सुधार गर्ने अवसर प्राप्त गरी समग्रमा कार्यसम्पादनको स्तर वृद्धि हुने उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले अनुशिक्षणको उद्देश्य एवम् प्रभावकारिता बारे जानकारी दिनुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरले अनुशिक्षण कार्यक्रमको परिचय, उद्देश्य, कार्यसम्पादन अभिलेखका लागि निर्दिष्ट कार्यालयहरू, औचित्य, प्रतिवेदनको ढाँचा, सूचकहरूको संख्यात्मक विवरण, कार्यसम्पादनका मुख्य क्षेत्रहरू, प्रतिवेदन प्रणाली, मूल्याङ्कन प्रणाली, मूल्याङ्कन भार, उत्प्रेरणा र सुधार एवम् अपेक्षित उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको केन्द्रीय अभिलेख प्रणाली विकास गरी सो इकाइहरू वा सम्बद्ध कार्यालय प्रमुखहरूको कार्यसम्पादन तदारूकता, तत्परता, पहलकदमी एवम् समग्र कार्यसम्पादन स्तरको वस्तुगत मूल्याङ्कन/मापन गर्दै सो अभिलेख प्रणालीलाई सम्बद्ध प्रहरी इकाइहरूको कार्यसम्पादन स्तरको तुलनात्मक अध्ययनका साथै प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन समेत गर्ने प्रयोजनले 'कार्यसम्पादन र मूल्याङ्कन अभिलेख ढाँचा' तयार गरिएको हो । यो प्रणाली पुस १ गतेदेखि कार्यान्वयन हुनेछ ।विभिन्न कार्यालयहरूका प्रमुख र कर्मचारीहरूबाट सम्पादित कार्यहरूलाई प्रभावकारी रूपमा अभिलिखित गर्ने, कार्यसम्पादनको स्तरलाई वस्तुगत र परिमाणात्मक (अंकभार र तुलनात्मक विश्लेषण) रूपमा मापन गर्ने तथा प्राप्त नतिजाहरूलाई नीतिगत सूचना र निर्णय प्रक्रियामा सहायक सिद्ध हुने गरी विश्लेषण गर्ने प्रयोजनका लागि यस प्रणाली विकास गरिएको हो । यो अभिलेख प्रणाली सांगठनिक र इकाइगत कार्यसम्पादनको प्रभावकारिता र कार्यदक्षता मापनका लागि उपयोगी हुने र यस प्रतिवेदनको कार्यान्वयन प्रहरी कार्यालयहरूको आवधिक मूल्याङ्कन प्रणालीलाई यथार्थपरक, वस्तुनिष्ठ र समयसापेक्ष समेत बनाउन उपयोगी हुनेछ । 

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-०८-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटwww.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न
२०८२-०८-२६

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको मनोबल वृद्धि गर्दै समाजमा पुनर्स्थापना गराउन यस सुधार केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गर्न तथा केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउन केन्द्रका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सरोकारवाला निकायहरू र नागरिक समाजबाट महत्वपूर्ण सुझाव तथा सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।