प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपहरण तथा शरीर बन्धक गरी फिरौती लिने तीन जना पाकिस्तानी नागरिक पक्राउ

२०७९-०९-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, अपहरण तथा शरीर बन्धक गरी फिरौती लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पाकिस्तानी नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-४ बस्ने पाकिस्तानी नागरिकहरू ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन रहेका छन् ।

वैदेशिक रोजगारीको लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमै पूरा गर्नुपर्छ भनि एकजना पाकिस्तानी नागरिकलाई भिजिट भिसामा नेपाल ल्याई बुढानिलकण्ठस्थित घरमा बन्धक बनाई २५ लाख ६६ हजार ६ सय ९७ नेपाली रूपैयाँ फिरौती रकम लिने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंसँगको समन्वयमा बुढानिलकण्ठ नगरपालिका-४ बाट पक्राउ गरेको हो ।

पाकिस्तानमा रहेका पीडितका भाइलाई मेरो क्यानडाको लागि फलाईट छ, ३० घण्टा मोबाइल अफ हुन्छ सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर ३० घण्टापछि पुन: क्यानडा पुगेँ, ईमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाए पश्चात पीडितको भाइले उक्त नेपाली रूपैयाँ बुझाए पश्चात पीडितलाई मंगलबार राति सिनामंगलस्थित सडकमा पाकिस्तान फर्किनु भनी छाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरूलाई अपहरण गर्न नहुने र शरीर बन्धक लिन नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।





सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।