नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०७-११
- A
- A-
- A+
काठमाडौं, मकवानपुर, मनहरी गाउँपालिका-७ स्थित सडकबाट नियन्त्रित लागूऔषध ३ सय ४० एम्पुल नुर्फिन, ३ सय ६ एम्पुल फेनारगन र ३ सय एम्पुल डाईजेपाम सहित भारत बिहार मोतिहारी बस्ने २२ वर्षीय सदाम अन्सारी र १६ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.७ ख २०१९ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१५ चोरसाँघु बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-७ मनकामना वतन भएका २७ वर्षीय देबेन्द्र विकलाई नियन्त्रित लागूऔषध ४० एम्पुल बुप्रिनुर्फिन, ४० एम्पुल डाईजेपाम र ४० एम्पुल फेनारगन सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । देबेन्द्रले लागूऔषध ओसार पोसार तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले खानतलासी गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध बरामद गरी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।