प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न २ जना पक्राउ

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

सप्तरी, डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डिजेल लोड भएको टयाङ्कर चोरी गरी डिजेल बेच्ने कञ्चनरुप नगरपालिका-९ बस्ने २९ वर्षीय नबराज भुजेल र चोरीको डिजेल खरीद गर्ने खडक नगरपालिका-७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साह रहेका छन् । 

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट माघ ११ गते बिहान को.१ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा टयाङ्करका चालकले माघ ११ गते साँझ कञ्चनरुप नगरपालिका-८ स्थित रहेको बिकि पम्पमा पार्किङ्ग गरी आफ्नो घर गएकोमा उक्त ट्याङकर चोरी भएको र माघ १५ गते बिहान शम्भुनाथ नगरपालिका-२ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले टयाङ्कर जाँच गर्दा टयाङ्करको ५ वटा च्याम्बरमा रहेको २० हजार लिटर डिजेलमध्ये १६ हजार लिटर चोरी भएको अवस्थामा फेला पारेको थियो । घटनाको आवश्यक अनुसन्धानको क्रममा नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

नबराज भुजेल समेतले माघ १४ गते राति पार्किङ्ग गरेको स्थानबाट डिजेल लोड भएको टयाङ्कर चोरी गरी १६ हजार लिटर डिजेल बिक्री गरेको र श्याम कुमार साहले चोरी भएको डिजेल खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरू उपर चोरी मुद्दा शिर्षकमा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-११-०५

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली नगरपालिका-८ घर भएकी १९ वर्षीया सुनिता बस्याल रहेका छन् । कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका-४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-११-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने झापा अर्जुनधारा नगरपालिका-६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौं महानगरपालिका-१३ बस्ने गोरखा गण्डकी गाउँपालिका-१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रूपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रूपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रूपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका-२६ बाट र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-११-०५

कास्की, गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चन्दा ऐन सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।