प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीद्वारा आयोजित राष्ट्रिय दलित आयोगका पदाधिकारी एवम् कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ । 

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधान, ऐन र कानूनलाई क्रियाशिल बनाउन राष्ट्रिय दलित आयोगको गठन भएको र आयोगको भूमिकालाई प्रभावकारी बनाउन र दलितसँग सम्बन्धित कानूनको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कानून कार्यान्वयनमा नेपाल प्रहरीले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

दलित विरूद्ध दैनिक जसो घटना घटिरहेको भएता पनि मुद्दा दर्ता अत्यन्त न्यून रहेको बताउँदै राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माले पहुँच नहुनेहरूको लागि न्यायको सबैभन्दा पहुँच हुने कार्यालय नै प्रहरीको हुने भएकोले प्रहरीले कुनै पनि विभेद नगरी न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । समाजिक सञ्जाल मार्फत दलित समुदायको मान प्रतिष्ठमा आँच आउने गतिविधि हुने गरेकोले त्यस्ता गतिविधिमा संलग्नलाई कानूनको दायरामा ल्याउन आग्रह गर्दै अध्यक्ष विश्वकर्माले शक्ति र सार्वजनिक पद धारण गरेको आधारमा दलित माथि दमन र दुर्व्यहार गर्ने कार्यलाई निरूत्साहित गर्न प्रहरीले आवश्यक कार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले आयोगप्रति नेपाल प्रहरीको अपेक्षालाई कार्यान्वयन गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै दलितको विषयमा शून्य सहनशिलता नीति अपनाएर सोही अनुरूप दलितहरूको समस्यालाई सम्बोधन गर्न राज्यका सवै सरोकारवाला निकायहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो । 

सो अवसरमा राष्ट्रिय दलित आयोगकी सदस्य मीना देवी सोवले राष्ट्रिय दलित आयोग र नेपाल प्रहरीवीचको यो अन्तरक्रिया अत्यन्तै प्रभावकारी भएकोले हरेक तीन/तीन महिनामा यस्ता अन्तरक्रिया आयोजना हुनुपर्ने बताउनुभयो । साथै उहाँले यस्तो अन्तरक्रिया कार्यक्रममा महिला प्रहरीको सहभागीता बढाउन समेत आग्रह गर्नुभयो । 

यसै अवसरमा राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्कीले स्कुले जीवनमा प्रहरीबाट प्राप्त प्रेरणालाई स्मरण गर्दै आफू प्रहरी संगठनप्रति सकारात्मक र प्रहरी कर्मचारीप्रति हार्दिकता रहेको बताउनुभयो । नेपाल प्रहरीले दलित सेल गठन गरेको प्रति धन्यवाद व्यक्त गर्दै जातीय विभेदका घटनामा निर्मम ढंगले अनुसन्धान गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीले गर्ने कामहरू कनूनको दायराभित्र रहेर सम्पादन हुने उल्लेख गर्दै नेपाल प्रहरीले नियमित रूपमा आयोगसँग समन्वय गरी दलितसँग सम्बन्धित समस्या समाधान गर्न सदैव प्रतिवद्ध रहेको बताउनुभयो । 

प्रहरी महानिरीक्षक सिंहले दलित समुदायलाई होच्याएर वा प्रतिष्ठामा आँच आउने गतिविधि गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन समेत प्रहरी क्रियाशिल रहेको बताउँदै सामाजिक सञ्जालमार्फत देश बाहिर रहेर त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिन कठिन भएता पनि त्यसतर्फ समेत आवश्यक कदम चालिने बताउनुभयो । दलितहरूको प्रतिनिधित्वका लागि नेपाल प्रहरीको भर्ना प्रकृयामा राज्यले अंगिकार गरेको समावेशी प्रावधानलाई अक्षरस पालना गरिएको समेत उहाँले बताउनुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरी दलित समुदायको सबैभन्दा बढी प्रतिनिधित्व भएको संगठन रहेको बताउनु हुँदै दलित समुदायको प्रतिनिधित्वको लागि नेपाल प्रहरी सदैव सकारात्मक रहेको समेत बताउनुभयो । राष्ट्रिय दलित आयोगका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थितिका लागि आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर रुपमा अन्तरक्रिया आयोजना हुने विश्वास व्यक्त गर्नुभयो । 


सो अवसरमा राष्ट्रिय दलित आयोगका निमित्त सचिव मनिता श्रेष्ठले नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्व उत्साहजनक रहेको चर्चा गर्दै नीतिगत सुधारको लागि प्रहरीबाट लिखित सुझावको अपेक्षा रहेको र यसले आगामी दिनमा योजना  निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सेवाग्राहीको विभेदसँग सम्बन्धित मुद्दाहरूको उचित सम्बोधनमा महत्वपूर्ण दायित्व निर्वाह गर्न समेत उहाँले नेपाल प्रहरीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले दलित समुदायको हकहित संरक्षणमा नेपाल प्रहरी अन्तर्गत दलित समुदायसँग सम्बन्धित नेपालमा बिद्यमान कानूनी व्यवस्था, नेपाल प्रहरीमा दलित समुदायको प्रतिनिधित्वको वर्तमान अवस्था, दलित सेलको काम कर्तव्य, दलित समुदाय माथि हुन सक्ने अपराध, विभेद, हिंसा र यसका स्वरूपहरू, दलित समुदायका नागरिकहरूलाई प्रहरी सेवा प्रवाह तथा कामकारवाहीमा प्रहरी कर्मचारीले ध्यान दिनुपर्ने कुराहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

अन्तरक्रियामा सहभागीहरूले जातीय विभेद लगायत दलितसँग सम्बन्धित समस्याहरूको समाधानका सम्बन्धमा आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।   

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।









सम्बन्धित समाचार
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा विभिन्न प्रहरी कार्यालयका प्रवक्ता सँग छलफल एवम् अन्तरक्रिया
२०८२-११-०५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले पत्रकार सम्मेलन वा प्रेस विज्ञप्तिमा देखिने प्रवृत्तिहरू, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूलाई नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम सुरू
२०८२-१०-१८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने तेस्रो समूहको ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक ई. भरत कुमार श्रेष्ठलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान ९ जना गरी कुल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव सम्पन्न
२०८२-१०-१०

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । सो अवसरमा उहाँले विद्यालयको वार्षिक मुखपत्र (दिप्तिका) को विमोचन गर्नुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष कार्कीले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, वार्षिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने उत्कृष्ट विद्यार्थी, उत्कृष्ट विद्यार्थीहरूको समूह, उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट शिक्षकहरू र उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो ।   कार्यक्रममा संघकी अध्यक्ष कार्कीले संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै विद्यालयले विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिका साथसाथै व्यवहारिक सीप, आचरण र सामाजिक जिम्मेवारीमा समेत सक्षम बनाउनुपर्ने बताउनुभयो । साथै विद्यालयको निरन्तर उन्नती तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले स्वागत मन्तव्य तथा विद्यालय सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूबाट गीत, सांस्कृतिक नृत्य तथा तेक्वान्दो कला समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, अभिभावकहरू, शिक्षकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान
२०८२-१०-०७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित मोटरसाइकल आउटराइडर्स तालिम २४ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर २१ गतेबाट संचालित ३५ कार्यदिन अवधि रहेको उक्त तालिममा  प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान २९ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

४७ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८२-१०-०६

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४७ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महशुस गराउनुपर्नेमा जोड  दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ७ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४४ जना गरी कुल ४७ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकउत्सवको अवसरमा गीति रचना प्रतियोगिता
२०८२-०९-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ७० औं वार्षिकउत्सव २०८२ को अवसरमा “राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गान (Anthem)” को लागि देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गरेको छ ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सोमबार प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित गर्दै ईच्छुक महानुभावहरूलाई सहभागिताको लागि आव्हान समेत गरेको छ । जसमा ईच्छुक महानुभावहरुले २०८२ माघ १५ गते कार्यालय समयभित्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको महाराजगंजस्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न सक्ने वा ईमेल ठेगाना npa_anthem@nepalpolice.gov.np मा पनि आफ्नो रचना पठाउन सक्नेछन् । निर्णायकबाट छनौट भएको उत्कृष्ट गीति रचनालाई ५१ हजार रूपैयाँ नगद र प्रशंसापत्र प्रदान गर्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । साथै उत्कृष्ट गीति रचनालाई संगीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानको रूपमा प्रहरीले प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।  प्रतियोगिता सम्बन्धी शर्त तथा थप जानकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको वेबसाइटमा राखिएको छ ।