४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता उद्घाटन
२०७९-१०-२०
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालन हुने ४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ शुक्रबार उद्घाटन भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी इन्टरपोल को १००औं सदस्य भएको र इन्टरपोल को १००औं वार्षिक उत्सवको अवसरमा प्राप्त भएको फुटबल रेफ्रीलाई हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा टेवा पुर्याउने चर्चा गर्दै मानव जिवनमा खेलकुद अतिनै महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता प्रतियोगिताले एक कुसल खेलाडीको पहिचान गर्न, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो कुसलता प्रदर्शन गर्ने सक्ने क्षमतावान खेलाडी उत्पादन गर्न थप सहयोग पुर्याउने उहाँले बताउनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक थापाले संगठनभित्र आफ्नै व्यवसायिकतामा अहोरात्र खटिने जनशक्ति केवल प्रहरीको रूपमा मात्र नभई खेलकुदको माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो देशको पहिचान बनाउन सफल हुने बताउनुभयो ।
कार्यक्रममा प्रहरी नयाव उपरीक्षक रूकेश तण्डुकारले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
माघ २९ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयको टिम गरी जम्मा १० टिमको सहभागिता रहेको छ ।