अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ
२०७९-११-२४
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ६ किलो ९ सय ग्रामसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत गुजरात मोती भावदी ठेगाना भएका ३० वर्षीय निमेश अशोकभाई दयानी, सर्लाही हरिहरपुर नगरपालिका-३ ठेगाना भएका २८ वर्षीय फैज आलम र गोरखा गण्डकी गाउँपालिका-४ ठेगाना भएका २३ वर्षीय रुपक अर्याल रहेका छन् । अमेरिकाबाट दुबई हुँदै काठमाडौंमा ‘चकलेट एण्ड चाइल्ड गेम आइटम’ उल्लेख गरिएको पार्सलमार्फत आएको उक्त गाँजामध्ये ४ किलो ५ सय ग्राम गाँजा बुझि लैजान लागेका निमेश र फैजलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले गाँजा, भारतीय आधार कार्ड र ८० हजार नेपाली रूपैयाँ तथा निमेश र फैज बस्दै आएको काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट १ लाख ४० हजार भारतीय रुपैयाँसमेत फेला पारी पक्राउ गरको हो । साथै अमेरिकाबाट दुबई हुँदै काठमाडौंमा पार्सलमार्फत आएको २ किलो ४ सय ग्राम गाँजा बुझ्ने अर्याललाई काठमाडौं नागार्जुन नगरपालिका-१ खरिबोटस्थित एक रेष्टुरेण्टबाट प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्रामसहित ललितपुर बालकुमारी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१२ घर भएका २४ वर्षीय अजय श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित सोही गाउँपालिका-५ बस्ने २२ वर्षीय देवेन्द्र चौधरी (समिर)लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमर्खोदबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।