प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय र बुढानिलकण्ठ नगरपालिकाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानिलकण्ठ नगरपालिकाबीच बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । 

बुढानिलकण्ठ नगरपालिकाको कार्यालय हात्तीगौडामा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र बुढानिलकण्ठ नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो । 

सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि जडानले घटित अपराधहरूको छिटो छरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दर्घुटना, छुटेका सामानको पहिचान लगायत विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो । 

सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवम् नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुभयो । सिसिटिभि जडान पश्चात त्यसको उचित रेखदेख र  मर्मत सम्भार पनि हुनेपर्नेमा उहाँले जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । 

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम आर्यालले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिनुभयो । 

बुढानिलकण्ठ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो । बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रभित्र सिसिटिभि जडानको लागि लागत ईस्टिमेट बमोजिम ५ करोड रूपैयाँको बोलपत्र आव्हान गरी चालू आ.ब. २०७९/८० मा २ करोड ५० लाख विनियोजित रकम पेश्किवापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौता बमोजिम हुने बाँकी रकम आगामी आ.ब.२०८०/०८१ मा भुक्तानी हुने गरी बुढानिलकण्ठ नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने संख्या निर्धारण गरिने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । 

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
हेभी सवारी चालक तालिम सुरू
२०८०-०६-०४

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १४ औं समूहको हेभी सवारी चालक तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक ई.अनुप श्रेष्ठले बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्दै हेभी सवारी साधन चलाउन र सामान्य मर्मत सम्भार गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान १४ जना गरी जम्मा ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।  

हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८०-०५-२९

काठमाडौं, नेपाली महिलाहरूको महान चाड हरितालिका तीज २०८० को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले कार्यक्रममा उपस्थित सम्पूर्ण महिला प्रहरी कर्मचारीहरु एवं नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्नुभयो । शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयभित्र कार्यरत महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । 

३० जना प्रहरी कर्मचारीलाई विपद व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८०-०५-२६

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ३१औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक बिकले तालिमले प्रशिक्षार्थीहरूको व्यक्तिगत जीवनशैलीमा सकारात्मक भूमिका खेल्ने तथा कार्यक्षेत्रमा थप उर्जा प्रदान गर्ने चर्चा गर्दै तालिममा हासिल गरेका ज्ञान एवम् सीपलाई प्रकोप तथा विपद्को समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत साउन ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।कार्यक्रममा विपद व्यवस्थापन सम्बन्धि श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८०-०५-२४

काठमाडौं,  नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  तालिम समापनको अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । प्रहरी उपरीक्षक कर्णले नेपाल प्रहरीमा रहेका परिमार्जित भएर आएका नयाँ प्रविधिका सवारी साधनहरुको बारेमा प्रशिक्षार्थीहरूलाई तालिममा ज्ञान, सीप प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अन्जन राज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ ४ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८०-०५-२२

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित हरितालिका तिज २०८० को अवसरमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्‍भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्‍भाव वृद्धि गर्न योगदान पुर्‍याउने विश्चास उहाँले व्यक्त गर्नुभयो । सोही अवसरमा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा कविता वाचन, नृत्य लगायतका विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष श्रीमती अन्जना अर्याल, सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्मा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, नेपाल प्रहरी श्रीमती संघकी संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरू, केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु तथा सदस्यहरू लगायत आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

बहुआयामिक चुनौतिहरूलाई सम्बोधन गर्न सुदृढ अन्तर्राष्ट्रिय सहयोग आवश्यक- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
२०८०-०५-२१

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप-क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।  इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा प्रधानमन्त्री दाहालले समारोहलाई दिप प्रज्वलन गरी विधिवत रूपमा उद्‍घाटन गरी विशेष संस्मरणात्मक आवरणमा टाँचा लगाउनुका साथै ‘इन्टरपोल कफि टेबल बुक’ विमोचन समेत गर्नुभयो ।  प्रधानमन्त्री दाहालले डिजिटल युगमा प्रविधिको दुरूपयोगबाट भएका अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आपसी सूचना आदान प्रदान हुनुपर्ने उल्लेख गर्नुभयो । नागरिकहरू भय र शोषणबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्ने चर्चा गर्दै मानवअधिकारको संरक्षणलाई प्राथमिकतामा राखी र न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्तहरू पालना गरी कानून कार्यान्वयनको सुनिश्चित गर्दै कानून कार्यान्वयन गर्ने निकाय र समुदायबीच विश्वास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।प्रधानमन्त्री दाहालले इन्टरपोलसँगको साझेदारीमा नेपाल प्रहरीको उपलब्धी र योगदानको स्मरण गर्ने ‘इन्टरपोल कफि टेबल बुक’ सार्वजनिक गरिएको चर्चा गर्नुहुँदै पुस्तक प्रहरीको कडा परिश्रम र व्यावसायिकताको प्रमाण भएको बताउनुभयो । कानून र व्यवस्था कायम राख्न, अन्तर्राष्ट्रिय अपराधसँग लड्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीका प्रयासहरू उक्त पुस्तकले प्रदर्शन गरेको बताउनुहुँदै ‘विशेष संस्मरणात्मक आवरण’ जारी गर्नाले नेपाल र इन्टरपोलबीचको बलियो सम्बन्धको प्रतीक, विश्वव्यापी अपराध विरुद्धको लडाईंमा आवश्यक एकता र सहकार्यको प्रतिनिधित्व गरेको उल्लेख गर्नुभयो ।  समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय अपराध र आतंकवाद विरुद्धको विश्वव्यापी लडाईंमा इन्टरपोल अमूल्य साझेदार भएको बताउनुहुँदै अन्तर्राष्ट्रिय प्रहरी सहयोग अभिवृद्धि गर्न, महत्वपूर्ण सूचनाको आदान प्रदानलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको उल्लेख गर्नुहुँदै एनसिबी काठमाडौंले अन्तर्राष्ट्रिय अपराध, मानव बेचबिखन, लागूऔषध ओसारपसार र अन्य गैरकानूनी गतिविधिहरु विरुद्ध लड्न अथक प्रयास गरिरहेको चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय प्रहरी सहयोगलाई सुदृढ गर्ने हाम्रो प्रतिबद्धता रहेको बताउनुहुँदै नेपाल सरकार र सम्बद्ध निकायहरू अन्तर्राष्ट्रिय सहयोगी र साझेदारहरूसँग समन्वय अभिवृद्धि गर्न दृढ संकल्पित रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै अन्तर्राष्ट्रिय अपराध विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । मानव बेचबिखन, साइबर अपराध, आतंकवाद, लागूपदार्थ ओसार पसार जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न यस्तो प्रतिबद्धता महत्त्वपूर्ण रहने चर्चा गर्दै सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले विश्वमा नयाँ सुरक्षा खतराहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोग महत्त्वपूर्ण रहेको चर्चा गर्नुहुँदै ‘ग्लोबल भिलेज’ को अवधारणाले अन्तर्राष्ट्रिय अपराध विरूद्ध प्रभावकारी रूपमा लड्नका लागि कानून कार्यान्वयन गर्ने निकायबीचको सहकार्यको आवश्यकतामा जोड दिनुभयो । अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसले पनि प्रहरीमा महिलाको महत्वपूर्ण भूमिकालाई उजागर गरेको उल्लेख गर्नुहुँदै  नेपाल प्रहरीमा बढ्दो महिला सहभागिताले कानून कार्यान्वयनमा थप योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । हाल नेपाल प्रहरीमा ११ प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको र समुदायको माग तथा आवश्यकता अनुसार संख्या बढाइने उहाँले उल्लेख गर्नुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त समारोहमा अन्तर्राष्ट्रिय समन्वयमा प्रहरीको भूमिका र महत्वका बारेमा तयार पारिएको डकुमेन्ट्री भिडियोसमेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास बैरागी, महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल, राजदूतहरू, गृह सचिव लगायत निजामती सेवा तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।