अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्न व्यक्ति पक्राउ
२०८०-०२-२८
- A
- A-
- A+
ललितपुर, वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर चौदण्डीगढी नगरपालिका-७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले एक जनालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइ मोबाइल सफ्टवेयर कम्पनीमा ३ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख २१ हजार रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।