अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८०-०३-०९
- A
- A-
- A+
धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ६ सय १३ किलोग्रामसहित भारत मोतिहारी मलायथाना नगदाहग्राम बस्ने २७ वर्षीय राजिब तिवारीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी जोगीमाराबाट खटिएको संयुक्त टोलीले काठमाडौंबाट भारततर्फ जाँदै गरेको एचआर ३८ यु ३४३१ नम्बरको कन्टेनरलाई जाँच गर्ने क्रममा चालकको सिट माथि फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कन्टेनर चालक तिवारीलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित जुम्ला, जुम्ला गाउँपालिका-९ बस्ने २४ वर्षीय प्रकाश बुढालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ खयरबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय मिलिग्रामसहित भारत घर भएका २८ वर्षीय कार्तिक सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-३ हुम्से दुम्सेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक नेम्वाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले ना.४३ प १०३४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय बिबेक गुरौलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.५८ प ४२४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गुरौलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका-९ रमुदहवाबाट अवैध लागूऔषध चरेश करिब ४ केजीसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्ण बहादुर घर्ती मगर र उनकै श्रीमती ३९ वर्षीया मशान्ती घर्ती मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, कञ्चनरुप नगरपालिका-२ बरमझीया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ मिलिग्रामसहित भारत बिहार राज्य मोतिहारी थाना रक्सौल ग्रामपंचायत पनसोखा-५ धुपवर टोल बस्ने ४२ वर्षीया लालमती देवी रामलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।