अवैध लागूऔषधसहित ९ जना पक्राउ
२०८०-०३-१६
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-१ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर १३ ग्रामसहित सोही उपमहानगरपालिका-३ चटकपुरस्थित पसल गरी बस्ने डोटी बोगटान नगरपालिका-६ घर भएका २५ वर्षीय भिम बोगटीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार कार्यालय कैलालीमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेको व्यक्तिलाई भेट्न आएका बोगटीलाई प्रहरीले जाँच गर्ने क्रममा स्याम्पुको डिव्बाभित्र लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ११०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७ ग्राम ७३ मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ८ ग्राम ७० मिलिग्राम र नगद २० हजार ८ सय रूपैयाँसहित सोही ठाउँ बस्ने २६ वर्षीय बिकाश चन्दसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ३ ग्राम ४७ मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ बस्ने २७ वर्षीय भरत सिह र ३० वर्षीय नरेन्द्र सिह ठगुन्ना रहेका छन् । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२००३ प ७९७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, लेटाङ नगरपालिका-३ बस्ने ४३ वर्षीय तेजेन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६६ ट्याब्लेट र स्पासपेन १ सय ८० ट्याब्लेटसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।