प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ

२०८०-०५-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, विभिन्न सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बहुदामाई नगरपालिका-८ बस्ने ३० वर्षीय राज कुमार पण्डीत र रौतहट कटहरीया नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश कुमार यादव रहेका छन् । 

सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमा जमजम ईलेक्ट्रोनिक्स मार्फत लक्की ड्रमा आईफोन जितेको र कस्टम क्लियरेन्सको लागि पैसा पठाउनु पर्छ भन्दै पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा उनीहरुको संलग्नता रहेको खुल्न आएपछि उनीहरुलाई ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो । उनीहरुबाट नगद ४९ लाख ९५ हजार रुपैयाँ, मोबाईल ७ थान, सिम १ सय ८३ थान, एटिएम कार्ड १२ थान र राउटर १ थान प्रहरीले बरामद गरेको छ । 

उनीहरु उपर विद्युतीय माध्यम सम्बद्ध ठगी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
क्यानडा पठाई दिने भनी अनलाईन मार्फत ठगी गर्ने दुई जना पक्राउ
२०८०-०५-१९

काठमाडौं, सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय महावीर प्रसाद साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली बिज्ञापन पोष्ट गरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइदिन्छु, मासिक ५ लाख ४५ हजार रूपैयाँ तलव हुन्छ, प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ रकम पठाउन लगाई उनीहरुले ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८०-०५-१३

भक्तपुर, सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा केटी साथीहरूसँग नजिक भई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरूको दुरूपयोग गरी नक्कली फेसबुक आइडी बनाई उक्त भिडियोहरू पीडितको आफन्तहरूलाई समेत पठाई  चरित्र हत्या गरेको घटनामा संलग्न चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी पठाइएको छ । 

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०५-०५

  काठमाडौं, सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्ने २९ वर्षीय तुफान केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको भनि रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरेको र यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्विरहरूमा अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी चरित्रहत्या गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने सात जना पक्राउ
२०८०-०३-२८

उदयपुर, सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको   हो । साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

नक्कली प्रोफाइल बनाई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-०२-३०

काठमाडौं, सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका-१४ स्थायी वतन भएका ४२ वर्षीय राम कुमार सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पीडितको तस्विर र नाम राखी नक्कली प्रोफाइल खोली अश्लील तस्विर तथा भिडियोहरूमा अनुहार जोडी दुःख, हैरानी तथा चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट सुनारको संलग्नता खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पोखराबाट पक्राउ गरेको हो ।  उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट छ दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाडौं, अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  पीडितसँग चिनजान गरी ईसेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाईदिने भन्दै फरक ब्यक्तिको फोटो राखी ईसेवा तथा खल्ती वालेटहरु खोली विभिन्न बहाना बनाई झुक्याई पीडितको बैंक खाता तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई खाताबाट अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।