प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्रेक प्याडहरूमा लुकाई छिपाई ल्याएको सुन तस्करीमा संलग्न हालसम्म ३२ जना पक्राउ

२०८०-०५-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, ब्रेक प्याडहरूमा लुकाई छिपाई अवैध सुन पैठारी तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा विदेशी नागरिकहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनको कारोबारमा संलग्न ११ जना, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना र कम्पनी खडा गर्ने माल बस्तु व्यवस्थापक २ जना गरी जम्मा ३२ जना छन् भने १८ जना फरार रहेका छन् । 

रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपैयाँ बराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ ।

सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको, २ ठाउँमा सुन गाल्ने गरिएको, ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवम् विभिन्न प्रकारका विद्युतिय उपकरणहरूमा सुन आयत गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ । 

राजश्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १ सय ६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो । परीक्षण पछि सुन रहेको एकिन भए पश्चात राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी पैठारी राजश्व छलि मुद्दा दर्ता भएको र १९ दिन सम्मको अनुसन्धानबाट १६ जनालाई पक्राउ गरी संगठित अपराध मुद्दामा अनुसन्धानको लागि उक्त विभागबाट गत साउन २१ गते फाइल प्राप्त भई केन्द्रीय अनुसन्धान व्यूरोले साउन २२ गतेबाट अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको थियो । 



सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८२-०९-०३

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ कोशीपुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-२ बस्ने २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले धरानबाट चतरापुलतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१६ प ५७३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कबिराज र मोटरसाइकलमा सवार अपितलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झुठ्ठा विवरण पेश गरी नागरिकता तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०८२-०९-०३

काठमाडौं, झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ शान्तिटोल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भएका ४३ वर्षीय यम बहादुर बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने झापा कचनकबल गाउँपालिका-३ घर भएका ५१ वर्षीय कृष्ण बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-९ घर भएका ४१ वर्षीय सूर्य बहादुर खड्का रहेका छन् । झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाई विभिन्न व्यक्तिहरू तेस्रो मुलुक जाने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई नागरिकता, लिखत किर्ते र संगठित अपराध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०९-०२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ भोटेवहाल बस्ने सोही महानगरपालिका-२१ सेतोवहाल घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१५ घर भएका ५० वर्षीय लाल बहादुर बराइलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।