प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्रेक प्याडहरूमा लुकाई छिपाई ल्याएको सुन तस्करीमा संलग्न हालसम्म ३२ जना पक्राउ

२०८०-०५-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, ब्रेक प्याडहरूमा लुकाई छिपाई अवैध सुन पैठारी तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा विदेशी नागरिकहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनको कारोबारमा संलग्न ११ जना, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना र कम्पनी खडा गर्ने माल बस्तु व्यवस्थापक २ जना गरी जम्मा ३२ जना छन् भने १८ जना फरार रहेका छन् । 

रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा बरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपैयाँ बराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ ।

सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको, २ ठाउँमा सुन गाल्ने गरिएको, ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवम् विभिन्न प्रकारका विद्युतिय उपकरणहरूमा सुन आयत गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ । 

राजश्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १ सय ६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो । परीक्षण पछि सुन रहेको एकिन भए पश्चात राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी पैठारी राजश्व छलि मुद्दा दर्ता भएको र १९ दिन सम्मको अनुसन्धानबाट १६ जनालाई पक्राउ गरी संगठित अपराध मुद्दामा अनुसन्धानको लागि उक्त विभागबाट गत साउन २१ गते फाइल प्राप्त भई केन्द्रीय अनुसन्धान व्यूरोले साउन २२ गतेबाट अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरेको थियो । 



सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-११-०५

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली नगरपालिका-८ घर भएकी १९ वर्षीया सुनिता बस्याल रहेका छन् । कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका-४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-११-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने झापा अर्जुनधारा नगरपालिका-६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौं महानगरपालिका-१३ बस्ने गोरखा गण्डकी गाउँपालिका-१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रूपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रूपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रूपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका-२६ बाट र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-११-०५

कास्की, गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चन्दा ऐन सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।