प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरायसी विवादमा आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

२०८०-०६-२१

  • A
  • A-
  • A+
Share

सल्यान, घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-४ खार्बन बस्ने उनकै कान्छी बुहारी शर्मिला बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

गणेसी रोका असोज १५ गते दिउँसो बारीमा धानको भारी लिन जान्छु भनी गएकोमा बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानसमेतबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुन: विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुन: सलले घाँटी कसी हत्या गरेको र घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनी उपर जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।