प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एउटै परिवारका चार जनाको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

२०८०-०७-२४

  • A
  • A-
  • A+
Share

मुगु, एउटै परिवारका चार जनाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छायाँनाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्ख राज शाही र छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहोरा रहेका छन् । 

छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, ५ महिनाको रहर बोहोरा र उनकै छोरी ७ वर्षीया अप्सरा बोहोराको कात्तिक ८ गते राति आफ्नै घरमा हत्या गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौं, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत र जिल्ला प्रहरी कार्यालय मुगुबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गोर्ख राज शाहीलाई लुकीछिपी बसेको अवस्थामा सोमबार दिउँसो सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ पञ्चकोशी टोल र गोपाल बोहरालाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो । 

गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई २ वर्ष बसेर नेपाल फर्किएको र श्रीदेवी बोहोराको श्रीमान दीपक बोहोराले कतारमा राम्रो कम्पनीमा काम गरेको उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिषा पठाइदिन आग्रह गरेको तर दीपकले सो कुरा अस्वीकार गरेकोले रिसइवीका कारण दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुल्न आएको छ ।  

गोपालले गोर्ख शाहीलाई भेटी श्रीदेवी बोहोरासँग भएको सुन तथा नगद लुटपाट गर्ने सल्लाह गरी श्रीदेवी आफ्नो छोराछोरीसहित माइतीघरबाट फर्केर घरमा आई खाना खाई बसेकोमा गोपाल र गोर्खले घरबाहिरबाट ढोका खोल्न लगाई घरभित्र प्रवेश गरी धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहारी गरी उनीहरूको हत्या गरी श्रीदेवीले कानमा लगाएको २.५ तोलाको सुनको रिङ, २५ लालको सुनको तिलहरी र मोबाइल १ थान लुटेर भागेको खुल्न आएको छ ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८२-०९-०३

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ कोशीपुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-२ बस्ने २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले धरानबाट चतरापुलतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१६ प ५७३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कबिराज र मोटरसाइकलमा सवार अपितलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झुठ्ठा विवरण पेश गरी नागरिकता तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०८२-०९-०३

काठमाडौं, झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ शान्तिटोल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भएका ४३ वर्षीय यम बहादुर बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने झापा कचनकबल गाउँपालिका-३ घर भएका ५१ वर्षीय कृष्ण बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-९ घर भएका ४१ वर्षीय सूर्य बहादुर खड्का रहेका छन् । झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाई विभिन्न व्यक्तिहरू तेस्रो मुलुक जाने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई नागरिकता, लिखत किर्ते र संगठित अपराध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०९-०२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ भोटेवहाल बस्ने सोही महानगरपालिका-२१ सेतोवहाल घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१५ घर भएका ५० वर्षीय लाल बहादुर बराइलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।