अवैध लागूऔषधसहित पक्राउ
२०८०-०९-१५
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-२३ बस्ने ३० वर्षीय रियाज देवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बीआर १ पीबी ३३१४ नम्बरको भारतीय सुमोलाई प्रहरीले जाँच गर्न क्रममा सुमोमा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी चालक रियाजलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ गणेशपुर बस्ने ३८ वर्षीय दिनेश रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७३ मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरसमेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशी सडक खण्डबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १२ ग्रामसहित गोसाईकुण्ड गाउँपालिका-१ थुमन बस्ने २३ वर्षीय सिंग बहादुर तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी स्याफ्रुबेशीबाट खटिएको प्रहरीले प्र.३-०२ ००२ प ५२३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक सिंग बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।