अवैध लागूऔषधसहित ६ जना पक्राउ
२०८०-०९-२५
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुर्फिन १ एम्पुलसहित खोटाङ घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने १९ वर्षीय सुशान राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा हाल वतन नखुलेका बल्खु डेरा गरी बस्ने चित कुमार सुनारको कोठाबाट डाईजेपाम ३१ एम्पुल, फेनारगन ३३ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद ६१ हजार ५ सय ५० रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार सुनारको खोजी गरिरहेको छ ।
उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगडा क्याम्पस डाँडा नजिकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ६ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने ५३ वर्षीय बल बहादुर कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा कार्कीले गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित धनकुटा नगरपालिका-१ हिले बस्ने २२ वर्षीय तिलक राना मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.३० प ४५१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक मगरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय सचिन प्रधान र भोजपुर षडानन्द नगरपालिका-२ बस्ने २३ वर्षीया प्रतिमा राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले को.४० प २४३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम २ सय मिलिग्रामसहित स्याङजा भिरकोट नगरपालिका-१ बस्ने ३४ वर्षीय अनिल गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग.१ ख ५४०६ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।