अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८०-१०-०१
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-१३ आर्वाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ४० ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने धादिङ घर भएका २१ वर्षीय सुशान्त थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बनदेबीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ मिलिग्राम, सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीका टुक्राहरू ७ ग्राम ८४ मिलिग्रामसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-५ बस्ने २३ वर्षीय प्रकाश सुनार, सोही ठाउँ बस्ने २४ वर्षीय राजु सार्की र कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध तथा पहेंलो धातुका टुक्राहरूसहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१२ हापुरस्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ बस्ने २७ वर्षीय दिपेन्द्र रोकालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
स्याङजा, वालिङ नगरपालिका-९ भकुण्डेबाट नियन्त्रित लागूऔषध नुर्फिन ४९ एम्पुल, डाईजेपाम ४९ एम्पुल र फेनरागन ४९ एम्पुलसहित पर्वत कुश्मा नगरपालिका-१० बस्ने २३ वर्षीय अजय नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ति चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ७७ एम्पुल, फेनारगन ७८ एम्पुल र डाईजेपाम ७८ एम्पुलसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थाना भर्याङ बस्ने ३७ वर्षीय सरोज कुमार श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।