प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक कुँवरबाट इन्टरपोलद्वारा संचालित दुई वटा प्रशिक्षण कार्यक्रम उद्‍घाटन

२०८०-१०-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इन्टरपोल महासचिवालयद्वारा संचालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गतका दुई वटा प्रशिक्षणको संयुक्त रूपमा उद्‍घाटन गर्नुभएको छ । 

दातृ निकायमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ उक्त परियोजना अन्तर्गतको SOTERIA Operational Training for Border Management Officials विषयक र INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षण कार्यक्रमको प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबिच उद्‍घाटन गर्नुभएको हो । 

उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणले इन्टरपोल उपकरण र प्रणालीहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्नका लागि सहभागीहरूलाई सीप, ज्ञान प्रदान गर्ने तथा अन्तर्राष्ट्रिय प्रहरी सहयोग र विभिन्न अपराध परिदृश्यहरूमा इन्टरपोल उपकरणहरूको जागरूकता बढाउने बिषयलाई सम्बोधन गर्ने उल्लेख गर्नुभयो । सीमा व्यवस्थापन अधिकारीहरूको लागि संचालित प्रशिक्षणले आपराधिक गतिविधिहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न र सीमा व्यवस्थापन क्षमतालाई बलियो बनाएर अन्तर्राष्ट्रिय अपराधहरू विरुद्ध लड्ने प्रतिबद्धतालाई अझ जोड दिने उहाँले उल्लेख गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले विश्वले यौन उत्पीडन र दुर्व्यवहारसँग सम्बन्धित कठिनाइहरूको सामना गरिरहेको अवस्थामा विपन्न र कमजोर व्यक्तिहरूको हित, मर्यादा र सम्मानको रक्षा गर्न परियोजनाले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । प्रशिक्षणबाट प्राप्त ज्ञान सिप सहभागीहरुको कार्य क्षेत्रमा लाभदायक हुने र अधिक सुरक्षित विश्वव्यापी समुदाय निर्माण गर्न सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा INTERPOL Project Soteria का Criminal Intelligence Officer, Frazer Waldron ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा दुवै प्रशिक्षणहरूका प्रशिक्षकको रुपमा INTERPOL Project Soteria अन्तर्गतबाट ५ जना Officials हरुको उपस्थिति थियो । 

उक्त प्रशिक्षणमध्ये त्रिभुवन विमानस्थल कार्यालय गौचरमा संचालन हुने SOTERIA Operational Training for Border Management Officials विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ जना अधिकृतहरु र अध्यागमन विभागका ७ जना अधिकृतहरु गरी जम्मा २० जना र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालन हुने INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षणमा नेपाल प्रहरीका अधिकृतहरु २० जना अधिकृतहरुको सहभागिता रहको छ । प्रशिक्षण माघ २ देखि ५ गतेसम्म संचालन हुने छ । 


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८२-१२-१९

दाङ, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय गढवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनको लागि गरेको सहयोगको चर्चा गर्दै नवनिर्मित भवनलाई सफलतापूर्वक समयमै सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्नुभयो । नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको एवम् नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको बताउँदै नवनिर्मित भवनबाट प्रवाह हुने सेवा नागरिकमैत्री हुनुका साथै पीडा र अन्यायमा परेका व्यक्तिहरूको गुनासो सम्बोधन गर्न समेत सक्षम हुने बताउनुभयो । नागरिकको समस्या प्रति थप संवेदनशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्म अनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Senior Advisor एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Infrastructure Manager शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बेलायत सरकारको सहयोगमा कुल २ करोड ६० लाख ३३ हजार ५ सय ४९ रूपैयाँ ३५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।  उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८२-१२-१८

रूपन्देही, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले स्रोत साधनको सीमितताको बाबजुद नागरिकहरू प्रतिको जिम्मेवारीको भावना, कामना तथा नागरिकहरूको अपार सहयोग र समर्थनले नागरिकहरू प्रति अझ उत्तरदायी भई काम गर्न प्रहरीलाई सधै उत्प्रेरित गरेको चर्चा गर्नुभयो । यस नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले नागरिकहरूले प्राप्त गर्ने प्रहरी सेवामा सहज र सुरक्षित पहुँच निर्माण गर्न मद्दत पुग्ने उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्म अनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । विगत लामो समयदेखि बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनको लागि सहयोग उपलब्ध गराउँदै आएको चर्चा समेत उहाँले गर्नुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बेलायत सरकारको सहयोगमा कुल २ करोड ४१ लाख ४३ हजार ७ सय ५३ रूपैयाँ १२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।  उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।  

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न
२०८२-१२-१८

नवलपरासी पश्चिम, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ ।  समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय परिसरमा नवनिर्मित “आर्म ब्याज” नमुना स्तम्भको अनावरण समेत गर्नुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले सम्बोधनको क्रममा शारीरिक र मानसिक रूपमा कठिन तर गर्व गर्न लायक यस तालिमलाई सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । तालिमको दौरानमा आर्जन गरेका ज्ञान, सीप, कौशल, आत्मविश्वास र साहस देशको आन्तरिक सुरक्षा, विपद् तथा प्रकोपको उद्दार, आंतकवाद नियन्त्रण र विशिष्ट व्यक्तिको सुरक्षा लगायतमा कोसेढुङ्गा सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । तालिमको अवधिमा प्राप्त सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनका अन्य कैयौं पक्षमा समेत उपयोगी र लाभदायक हुने उल्लेख गर्दै दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरूलाई आगामी दिनमा अनुशासित जीवनलाई अवलम्बन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।        प्रहरी महानिरीक्षक कार्कीले कार्यक्षेत्रमा जनअपेक्षा अनुरूपको कानुन सम्मत र विश्वासयोग्य सेवा प्रवाह गर्न सक्दा मात्र नागरिकले वास्तविक शान्ति सुरक्षाको अनुभूति गर्न सक्ने बताउँदै दीक्षित प्रशिक्षार्थीहरूले कार्यक्षेत्रमा कुनै पनि प्रकारका प्रलोभन, भय वा दबाबबाट विचलित नभई कानुनको मार्गमा अडिग रहँदै उच्च व्यावसायिकता, नैतिकता एवम् इमानदारितालाई आत्मसात् गरी मुलुक र जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा तालिम संयोजक प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ७ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ६८ जना गरी जम्मा ९३ जना प्रशिक्षार्थीहरू सहभागिता रहेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रशिक्षार्थीहरूले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अप्रेशन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन तथा एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल डेमोन्स्ट्रेशन समेत प्रदर्शन गरेका थिए । समारोहमा सुनवल नगरपालिकाका प्रमुख बिमला अर्याल, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट मौलो पूजा सम्पन्न
२०८२-१२-१२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चैते दशैंका अवसरमा बिहीबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कार्कीले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कार्कीले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।  नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवम् महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।  

मकालु हिमाल आरोहण गर्न लागेका प्रहरी नायव निरीक्षकलाई शुभकामना तथा झण्डा हस्तान्तरण
२०८२-१२-०९

काठमाडौं, संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल, मकालु हिमाल आरोहण गर्न त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई राष्ट्रिय झण्डा र नेपाल प्रहरीको झण्डा हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आरोहणमा जान लागेका प्रहरी नायव निरीक्षक चौधरीलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   झापा शिवसताक्षी नगरपालिका-७ निवासी प्रहरी नायव निरीक्षक नन्दलाल चौधरी २०५५ सालमा प्रहरी जवान पदबाट सेवा प्रारम्भ गरी हाल जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत रहेका छन् । उहाँले २०८२ साल कात्तिक ५ गते सोलुखुम्बु जिल्लामा रहेको ६४७६ मिटरको मीरा पिकको सफल आरोहण समेत गर्नुभएको थियो । 

नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-१२-०४

काठमाडौं,प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोली एवम् बचनलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै यसले संगठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । हाम्रो धर्म र कर्म नै प्रहरी कार्य भएको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनावद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताउनुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामद लगायतमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो । साथै आगामी दिनहरूमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्य गर्नुपर्ने तथा हिरासत व्यवस्थापनमा समेत विशेष सतर्कता अपनाई कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  साथै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हालै काज सरूवा भई आ-आफ्नो कार्यक्षेत्र जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षकहरूलाई उत्कृष्ट कार्य सफलताको शुभकामना दिनुका साथै समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।