अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८०-१०-१७
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ बैंक रोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३३ मिलिग्रामसहित सोही महानगरपलिका-१७ बस्ने १९ वर्षीया अनिता बैठालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा बैठाले उक्त पदार्थ विराटनगर महानगरपालिका-१७ घर भई सोही महानगरपालिका-१६ बर्मा टोल डेरा गरी बस्ने ३० वर्षीया सरस्वती गुरूङबाट ल्याएको खुल्न आएपश्चात प्रहरीले गुरूङको कोठा तलासी गर्दा डिजिटल तराजु १ थान फेला पारी उनलाई समेत पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ बकाईनोडाँडा बस्ने ३३ वर्षीय चित्र कुमार रपाल (वि.क)लाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २५ ग्राम, मोबाइल ५ थान र डिजिटल तराजु १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका-५ बस्ने २२ वर्षीय स्मार्ट थेवेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, लहान नगरपालिका-१२ भोटिया टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम, डिजिटल तराजु १ थान र नगद २५ हजार ९ सय ९० रूपैयाँसहित सोही ठाउँ घर भई सोही नगरपलिका-१२ भोटिया टोल डेरा गरी बस्ने २३ वर्षीय अजय कुमार पुर्वे सुडीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुडीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।