अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८०-१०-२५
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-९ कफुरफोरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २४ मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ २ किलो र नगद ४४ हजार २ सय ६० रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-२ बस्ने २८ वर्षीय सुनिल पुन र सोही नगरपालिका-१३ बस्ने २६ वर्षीय निरोज मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय रत्नानगर टाँडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कटेजभित्र लुकिछिपी बसेका उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-५ साइमार्गस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सुर्खेत विरेन्द्रनगर नगरपालिका-३ बस्ने २८ वर्षीय रूपेश भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नवीन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका-८ ढकाल टोल बस्ने २३ वर्षीया गीता विष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ मेचिनगर नगरपालिका-१० बस्ने ३१ वर्षीय मेग्देन गुरूङले ल्याउन लगाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।