अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८०-११-०७
- A
- A-
- A+
मोरङ, केराबारी गाउँपालिका-१० बगैचाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम ४ सय मिलिग्राम, नगद १४ हजार ४ सय ७० रूपैयाँ र मोबाइल २ थानसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बारा, प्रसौनी गाउँपालिका-१ नकटुवा चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो २ सय ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१३ रानीघाट बस्ने २० वर्षीय गल्लु यादव र बारा प्रसौनी गाउँपालिका-४ खुटवा बस्ने २६ वर्षीय फुलमान अंसारी रहेका छन् । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-२ मणिमुकुन्द टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ फुलवारी बस्ने २६ वर्षीय अमृत महरा समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।