अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ
२०८०-११-२९
- A
- A-
- A+
मकवानपुर, भिमफेदी गाउँपालिका-२ स्थित भैंसेबाट अवैध लागूऔषध चरेश करिब १५ किलोसहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३१ वर्षीय प्रशान्त तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले बा.प्र-०२-०२०प ८८३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका-६ सुन्दरनगर बस्ने १९ वर्षीय अरुण गाईने र २२ वर्षीय सुदिप विक रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले अरुणलाई ४ ग्राम १ सय ३० मिलिग्राम र सुदिपलाई २ ग्राम ५ सय २० मिलिग्रामसहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१२ सरेडागीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फाल्गुनन्द गाउँपालिका-३ राँके बस्ने २४ वर्षीय रोमन भन्ने रमन फेन्जुङ र ईलाम, ईलाम नगरपालिका-६ बस्ने २१ वर्षीय समिर योगी रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले प्र.१-०३-००१ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेल स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।