अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-२१
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ पकनाजोलबाट अवैध लागूऔषध पोल्यान्ड करिब २ सय ५० ग्राम, करिब ६० ग्राम गाँजा, जरायोको सिङ जस्तो देखिने १ थान टुक्रा र १ थान खुकुरी सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-११ घर भएका २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका-६ घर भएका मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन् । पकनाजोलस्थित उनीहरूको डेरा कोठामा लागूऔषध विक्रीका लागि लुकाई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागूऔषध र सामान सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम, लुपिजेसिक र फेनारगन गरी जम्मा २३ एम्पुल, ५० एम्पुल नाईट्राजेपाम, १९ ट्याब्लेट स्पास्मो प्रोक्सिभोन सहित सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय मिलन तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पैदल आउँदै गरेका मिलनलाई वडा प्रहरी कार्यालय भनुचोकबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-३ नमुना टोल बस्ने बाबुराम थारु र सोही ठाउँ बस्ने ३१ वर्षीय सन्तोष तामाङलाई १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर र नगद ११ हजार १ सय १० रुपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बाबुरामको घरमा लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बाबुरामको साथबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।