प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

२०८०-१२-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले २०७९ चैत १० गतेदेखि २०८० फागुन मसान्तसम्म विगत एक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति, नियुक्ति, बढुवा, सरूवा, एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै तथ्याङ्क विश्‍लेषण समेत गर्नुभयो । सो अवधिमा भएका गम्भीर प्रकृति एवम् राष्ट्रिय चर्चामा आएका अपराध घटनाहरूको सफल अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता, प्रहरी कार्य, सुरक्षा तथा राजस्व संकलन, बन्द हड्ताल/विरोधका गतिविधि, अवैध/वेवारिसे हातहतियार नष्ट, प्रहरी प्रशासन, मनोबल तथा कल्याण, प्रहरी कल्याणकारी कार्यक्रम, नेपाल प्रहरी श्रीमती संघबाट सम्पादित कार्यक्रमहरू, प्रदेश प्रहरी कार्यालयका अभियानहरू, नीति तथा योजना कार्यान्वयनको अवस्था, प्रहरी समायोजन एवम् उपलब्धी/भावी योजना सम्बन्धी उपस्थित सञ्चारकर्मीहरूलाई उहाँले विस्तृत रूपमा जानकारी दिनुभयो । 

प्रहरी नायव महानिरीक्षक ढकालले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाबाट अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान गर्ने, सम्बन्धित अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्ने, प्रविधिलाई जोड दिने लगायतका विषयलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले कार्य गर्दै आइरहेको बताउनुभयो । कार्ययोजना तथा प्रदेश प्रमुखहरूले प्रहरी महानिरीक्षकज्यूसँग गरेको कार्यसम्पादन सम्झौता नै प्रहरी अधिकृतहरूको मूल्याङ्कनको कडि भएको र उक्त सम्झौता बमोजिम सम्पन्न भएका कार्यहरू सन्तोषजनक रहेको र आगामी दिनमा विस्तार गर्दै लैजाने उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक ढकालले भन्नुभयो, “प्रहरी महानिरीक्षकज्यूबाट पनि विशेष गरी सम्पूर्ण कामहरूको अतिरिक्त प्रहरी शुद्धिकरण हुनुपर्छ, इमानदार हुनुपर्छ, व्यावसायिक हुनुपर्छ, निष्ठावान हुनुपर्छ तबमात्रै हामीले नागरिकलाई उचित सेवा दिन सक्छौं, नागरिकलाई सुशासन दिन सक्छौं, नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिन सक्छौं भन्ने मान्यतामै हाम्रो नेतृत्व र संगठन अगाडि बढिराखेको छ ।”   

प्रहरी नायव महानिरीक्षक ढकालले जबरजस्ती करणी एवम् आत्महत्या जस्तो अपराध परिवारमै, चिनजानकै व्यक्तिबाट धेरै हुने गरेको तथ्याङ्कले देखाएको बताउँदै जबरजस्ती करणी एवम् महिलाप्रति हुने दुर्व्यवहार न्यूनीकरण गर्नका लागि प्रहरीले विभिन्न अभियानहरू नै संचालन गरेको बताउनुभयो । आत्महत्या रोक्नको लागि सचेतनाको अतिरिक्त स्थानीय विज्ञहरू एवम् नागरिकसँग समन्वय परामर्श दिने कार्य समेत भएको उल्लेख गर्दै आत्महत्या न्यूनीकरण गर्न प्रहरीले मात्रै सम्भव नहुने हुँदा परिवारबाट अभिभावकत्वको साथै समाजका अगुवा एवम् अन्य संघसस्था/निकाय तथा स्थानीय तह समेतले समन्वय गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । गस्ती पेट्रोलिङलाई बढाउने, प्रहरीको उपस्थिति बढाउने लगायत सचेतना अभियान फैलाउने काम समेत तीव्र गतिमा भइरहेको उहाँले चर्चा गर्नुभयो ।  

प्रहरी नायव महानिरीक्षक ढकालले जनसंख्या, शहरीकरण, जनघनत्व आर्थिक क्रियाकलापहरू अन्यको तुलनामा जहाँ धेरै हुन्छ त्यहाँ अपराधका घटनाहरू पनि बढि हुने उल्लेख गर्दै अपराध किन सिर्जना भइरहेको छ, अपराधका घटना किन हुन्छन् भन्ने सन्दर्भमा पनि प्रहरी संगठनले चासो राख्दै तथ्य संकलन र अनुसन्धान गर्ने नीति लिएको बताउनुभयो । स्थानीय तह लगायत सरोकारवाला निकाय अनुसन्धान भई सुझाव प्राप्त भएमा त्यस्ता सुझावबाट अपराध रोकथाम गर्न सहयोग पुग्ने विचार व्यक्त     गर्नुभयो । अहिलेको अवस्थामा राष्ट्रकै समस्याको रूपमा देखा परेको युवावर्गहरू विदेश जाने परिपाटीको असर नेपाल प्रहरीमा पनि रहेको हुँदा नेपाल प्रहरीमा भर्नाको लागि स्थानीय युवाहरूलाई आकर्षित गर्न मातहत प्रहरी कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू संचालन गरी प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो । संगठनको हितको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै समाजलाई सुरक्षित, शान्त बनाउने अभियानमा एकसाथ हिँड्न सकौं भन्ने कामना समेत उहाँले व्यक्त गर्नुभयो । 

विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  


सम्बन्धित समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न
२०८१-०२-११

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गर्नुभयो । गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरूले आफ्नो जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई एक कुशल प्रहरीले प्रदान गर्ने सेवाको अनुभूति हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । तालिमका दौरानमा गरेको मेहेनतले भोलिका दिनमा कार्यक्षेत्रमा आउन सक्ने हरेक चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास लिएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु । साथै, कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने कुरामा पनि म विश्वस्त छु ।’ प्रधानमन्त्री दाहालले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यवसायिक एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सम्भव हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य जनशक्ति उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो । उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो । नेपाल प्रहरीलाई सक्षम, सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यावसायिकता र वृतिविकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो । सुरक्षा फौजमा रहेर देशको सेवा गर्ने अवसर सबैलाई प्राप्त नहुने बताउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘अनेकौं चुनौतिपन सँगै आफूलाई योग्य प्रमाणित गरेर तपाईंहरूले राष्ट्र सेवाको ऐतिहासिक अवसर प्राप्त गर्नुभएको छ । राष्ट्रले गरेको लगानी र दिएको जिम्मेवारी प्रति आत्मबोध गर्दै यहाँहरूले इमानदार र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्‍वस्त छु ।’ विधिको शासन र कानूनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, योजना र कार्यक्रमलाई अक्षरस पालना गर्दै शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा नागरिकमैत्री सेवा दिनेमा विश्‍वस्त रहेको उहाँले बताउनुभयो । प्रहरी कर्मचारीहरूको वृत्तिविकासलाई न्यायसंगत र सेवा सुविधालाई समायानुकूल बनाउन नीतिगत, कानूनी  व्यावसायिक र व्यवहारिक रूपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवा केवल रोजगारी मात्रै नभई एउटा विशिष्ट जीवनशैली भएको चर्चा गर्दै यस सेवामा आवद्ध हुन उच्चानुशासन पवित्र निष्ठा, अदम्य साहस, निरन्तर सिकाई र अविचलित समर्पणको आवश्यकता रहने बताउनुभयो । अपराधको अन्तर्राष्ट्रियकरण, बढ्दो आप्रवासन, संगठित अपराधको वृद्धि एवम् बदलिँदो संस्कृतिले उब्जाएका नवीन चुनौतिहरूको सामना गर्न समायानुकूल सक्षम, सक्रिय, व्यावसायिक प्रहरी अधिकृतहरू आज यस समारोहमाझ दीक्षित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी निरीक्षकहरूलाई एउटा मन्त्र सँधै मनन गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेका अधिकारहरूलाई शक्तिको रूपमा होइन यसलाई राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नु हुनेछ ।’ समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । साथै उहाँले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ मंसिर २५ गतेबाट शुरू भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १८ महिला सहित कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको जानकारी दिनुभयो ।प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।दीक्षान्त समारोहमा संघीय सांसद एवम् पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, प्रधानसेनापति प्रभुराम शर्मा, गृह सचिव एकनारायण अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू
२०८१-०२-०८

काठमाडौं, नेपाल सरकार गृहमन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ शुरू भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मकवानपुरको हेटौंडामा मंगलबार आयोजित समारोह बिच उक्त गोष्ठीको उद्‌घाटन गर्नुभयो ।  गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा संचालित उद्‍घाटन शत्रमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले गोष्ठीको उद्देश्यबारे जानकारी दिनुभएको थियो । गोष्ठीको उद्‍घाटन शत्रमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी बिष्णु राउत, गृह मन्त्रालयका पदाधिकारीहरू, बागमती प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी बुधबार सम्पन्न हुने कार्यक्रम रहेको छ ।

वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान विषयक गोष्ठी सम्पन्न
२०८१-०२-०५

काठमाडौं, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान विषयक एकदिने गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो ।कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो ।गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता रिजालले सम्पत्ति शुद्धिकरणमा अनुसन्धान र अभियोजनका लागि यस गोष्ठीमा भएको छलफल अत्यन्तै उपलब्धीमूलक भएको बताउनुभयो । साथै सम्पत्ति शुद्धिकरणमा संलग्न सबै सरोकारवाला निकायहरूले संवेदनशीलता अपनाई प्रचलित कानूनको अधिनमा रही कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सम्पत्ति शुद्धिकरणको अनुसन्धानको क्रममा देखिएका समस्या तथा चुनौतिलाई समाधान गर्न गोष्ठीमा भएको छलफल तथा अन्तरक्रिया फलदायी हुने विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपालले समेत गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो । नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका उपनिर्देशक स्वरूप श्रेष्ठले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण मुद्दाको अनुसन्धानको क्रममा गर्नुपर्ने समन्वयकारी निकाय सम्बन्धी जानकारी, वित्तिय जानकारी ईकाइको भूमिका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको उक्त गोष्ठीमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग नेपाल प्रहरी शाखा पुल्चोक ललितपुरका तर्फबाट प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी मुद्दाहरूको अनुसन्धान प्रक्रिया र पद्दतीहरूको सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले धन्यवाद मन्तव्य राख्नुभएको उक्त गोष्ठीमा नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका निर्देशक दिर्घ बहादुर रावल, उच्च/ विशेष/ जिल्ला सरकारी वकिल कार्यालयका पदाधिकारीहरू तथा नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।यसैगरी गोष्ठीमा नेपाल प्रहरीका विशिष्टिकृत ब्यूरोका प्रतिनिधिहरू, उपत्यकास्थित मुद्दा चल्ने प्रहरी कार्यालयका प्रमुख एवम् अनुसन्धान अधिकृतहरूका साथै जिल्ला प्रहरी कार्यालयहरू काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रसुवा र इलाका प्रहरी कार्यालय बनेपा र इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख एवम् अनुसन्धान अधिकृतहरूको समेत सहभागीता रहेको थियो ।

नेपाल प्रहरी श्रीमती संघद्वारा २८ जनालाई सिलाई कटाई उन्नत तालिम प्रदान
२०८१-०२-०१

काठमाडौं,अमर प्रहरी परिवार, अशक्त प्रहरी परिवार, बहालवाला प्रहरी परिवार र पूर्व प्रहरी परिवारका सदस्यहरूलाई व्यक्तित्व विकास गरी आत्मानिर्भर बनाउन सीपमूलक तालिम दिने उद्देश्यका साथ २८ जना सदस्यहरूलाई सिलाई कटाई उन्नत तालिम प्रदान गरिएको  छ ।नेपाल प्रहरी श्रीमती संघको आयोजना, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको समन्वय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरीको आर्थिक सहयोगमा प्रथम समूह अन्तर्गत ३ महिना अवधिको उक्त सीपमूलक तालिम प्रदान गरिएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिम समापन गर्नुभयो । सो अवसरमा संघकी अध्यक्ष कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा सिलाई मेसिन हस्तान्तरण गर्नुभयो ।  सो अवसरमा संघकी अध्यक्ष कुँवरले तालिमबाट हासिल गरेका व्यावसायिक ज्ञान र सीपलाई प्रयोग गरी व्यक्तित्व विकासका साथै स्वरोजगार भई प्रशिक्षार्थीहरू आत्मनिर्भर हुने अपेक्षा लिइएको बताउनुभयो । साथै आगामी दिनहरूमा अन्य सीपमूलक तालिम प्रदायक संघसंस्था तथा निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी संघले विभिन्न तालिमहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो । तालिम संयोजक श्रीमती अनिता गुरूङले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीहरू, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकाल, प्रशिक्षकहरू तथा प्रहरी कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।

‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सञ्चालन
२०८१-०१-३१

काठमाडौं, नेपाल प्रहरीको समन्वय र सहकार्य तथा International Police Peacekeeping Operations Support Programs (IPPOS) र United Nations Institute for Training and Research (UNITAR) को आयोजनामा महिला, शान्ति र सुरक्षा (Women, peace and Security-WPS) विषयक कार्यशाला शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सोमबार आयोजित एक कार्यक्रमबीच उक्त कार्यशालाको उद्‌घाटन गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले नेपाल प्रहरीले महिला प्रहरी अधिकृतहरूलाई सक्रिय रूपमा भर्ना र तालिम दिएर संयुक्त राष्ट्र संघीय लैंगिक समानता रणनीतिप्रति बलियो प्रतिबद्धता देखाएको चर्चा गर्नुभयो । उहाँले नेपाल प्रहरीले लैंगिक समानता, प्रवर्द्धन र सुरक्षा क्षेत्रमा महिला सशक्तिकरणमा आफ्नो समर्पण देखाउँदै संयुक्त राष्ट्र संघ शान्ति मिसनमा महिलाको सहभागिता समेत बढाएको उल्लेख गर्नुभयो । वर्तमान नीतिहरूको मूल्याङ्कन गर्न र लैंगिक समानता, लैंगिक मूल प्रवाहीकरण र शान्ति प्रक्रियामा महिला सहभागिताको प्रवर्द्धनमा अन्तरहरू पहिचान गर्न कार्यशाला सफल हुने विचार व्यक्त गर्नुभयो । कार्यशालामा हुने छलफल, विश्लेषण र सहकार्यको माध्यमबाट सहभागीहरूले भविष्यमा महिला, शान्ति र सुरक्षाका लागि गरिएका पहल कार्यान्वयन गर्न रणनीति विकास गर्न सहयोग पुग्ने विश्‍वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा IPPOS का प्रोग्राम म्यानेजर Marcus Cornelius र UNITAR का Masa Dikanovic ले कार्यशालाको उद्देश्य र महत्वबारे आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । आगामी जेठ ४ गते समापन हुने उक्त कार्यशालामा नेपाल प्रहरीबाट ७ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जनाको साथै अष्ट्रेलिया, बंगालादेश, भुटान, ब्राजिल, बुर्किना फासो, चीन, फिजी, गाम्बिया, जर्मनी, इन्डोनेशिया, नेदरल्याण्ड, नाइजर, रूवान्डा, सेनेगल, सामावो, तान्जेनिया, युएई लगायतका विभिन्न राष्ट्रका प्रहरी अधिकृतहरूको साथै UN Women, UN Light Coordination Mechanism (LCM) का प्रतिनिधि समेत गरी जम्मा ३१ जनाको सहभागिता रहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की
२०८१-०१-३१

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।