प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सम्पन्न भएको छ । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा छलफल समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै व्यक्ति विशेष भन्दा पनि सेवाग्राही केन्द्रीत प्रहरी सेवा प्रवाह तथा अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा काम गर्न विभाग कटिवद्ध रहेको   बताउनुभयो । प्रहरीबाट प्रवाह हुने अपराधका घटना लगायत जनचासो सम्बन्धी कुनै पनि सूचनाहरू नेपाल प्रहरीको मिडिया नीति, सांगठनिक कार्य नीतिको अधिनमा रहि सम्बन्धित कार्यालयका सूचना अधिकारी वा कार्यालय प्रमुख वा तोकिएको अधिकृतबाट प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । सो कार्यमा देखा परेका समस्याहरूलाई सुधार गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यसम्पादन हुने उहाँले बताउनुभयो । यस्ता कार्यक्रम मार्फत सूचना प्रवाहमा देखा पर्ने समस्या एवम् चुनौतिहरूको पहिचान भई त्यसको निराकरणका लागि अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् अपेक्षा अत्यन्तै फलदायी हुने र त्यसको कार्यान्वयनमा विभाग कटिवद्ध रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सारदा चालिसे र प्रेस काउन्सिल नेपालका शाखा अधिकृत महेन्द्र राज सिंह समेतले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्नुभएको थियो । सो क्रममा उहाँहरूले सञ्चार माध्यमहरूबाट सम्प्रेषण हुने कुनै पनि घटनाहरूले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभाव नपार्ने हिसाबले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुनै पनि पूर्वाग्रह नराखी सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले आपराधिक घटनाको समाचार सम्प्रेषण गर्ने सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले नेपाल प्रहरीको मिडिया नीति, नेपाल प्रहरीको अपेक्षा/ मातहत कार्यालयहरूबाट संकलित सुझावहरू बारे जानकारी दिनुभएको थियो । 

अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी विविध एवम् सो सम्बन्धी समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
३७ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८१-१२-३०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३७ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हेभी) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २९औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।    तालिम समापनका अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी नायव उपरीक्षक श्रेष्ठले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार २५ जना र प्रहरी जवान ८ जना गरी कूल ३७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान
२०८१-१२-२७

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन ११ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-१२-२६

काठमाडौं,  विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, ईमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।    

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-१२-२३

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा संचालित “लागूऔषध विरूद्धको महाअभियान” अन्तर्गत नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको सहकार्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।     कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध रोकथाम तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । लागूऔषध दुर्व्यसनको निराकरणको अभियान प्रहरीको एकल प्रयासले मात्र सम्भवन नहुने उल्लेख गर्दै यसका लागि सबै सरोकारवाला पक्ष तथा तहको संयुक्त प्रयास जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, बागमती प्रदेश नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ र ह्रदय रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान, औषधि व्यवसायीहरूको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रतिनिधि, नेपाल औषधि व्यवसायी संघ काठमाडौं, भक्तपुर र ललितपुरका अध्यक्ष तथा प्रतिनिधिहरू, औषधि व्यावसायीहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

आसरा सुधार केन्द्रकी अध्यक्ष रूपा थापाको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८१-१२-२२

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती रूपा थापालाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । उक्त अवसरमा नवनियुक्त अध्यक्ष श्रीमती रूपा थापाले आसरा सुधार केन्द्रकी निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई दोसल्ला ओढाई बिदाइ गर्नुका साथै उहाँलाई सम्मानपत्र तथा आसरा गतिविधिलाई समेटेर तयार पारिएको फोटो एल्बमसहितको मायाँको चिनो प्रदान गर्नुभयो । साथै सोही अवसरमा नव वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।  कार्यक्रममा केन्द्रकी नवनियुक्त अध्यक्ष थापाले केन्द्रमा आयोजना गरिएको आन्तरिक खेलकुद प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने उपचाररत सदस्यहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष थापाले केन्द्रले आफ्नो स्थापना कालदेखि नै सुधारात्मक उपायहरूको अवलम्बन गरी सामाजिक विसंगतीमा फसेका युवापिढीलाई सही बाटोमा ल्याई राष्ट्रको असल एवम् सक्षम नागरिकको रूपमा पुनर्स्थापना गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्नुभयो । लागूऔषधको प्रयोग सामाजिक समस्या पनि भएकोले यस्ता कुलतको न्यूनीकरण गर्नु आफैमा ठूलो सामाजिक कार्य भएको उल्लेख गर्दै केन्द्रको उन्नति र प्रगतीमा केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरू एवम् सरोकारवाला नागरिकहरूबाट महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी कोषाध्यक्ष श्रीमती नविना कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-१२-२०

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक आचार्यले चैत १५ गते तीनकुने लगायतका स्थानमा भएका अराजक गतिविधि सम्बन्धी सिलसिलेवार घटनाक्रमको बारेमा संक्षिप्त जानकारी दिनुभयो । सो अवसरमा विभिन्न सामाजिक सञ्जालबाट प्राप्त भएको उक्त गतिविधि समेटिएको भिडियो समेत प्रस्तुत गरिएको थियो । प्रहरी नायव महानिरीक्षक आचार्यले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै प्रदर्शनकारी अराजक भई निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको तथा अराजक गतिविधि नियन्त्रणमा लिनलाई प्रहरीले बल प्रयोगको सिद्धान्त अनुरूप संयमित भई कम भन्दा कम बल प्रयोग गरेको बताउनुभयो । साथै अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले उल्लेख गर्नुभयो । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।