प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन

२०८१-०१-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, असन्तुष्टी वा सरकारको विरोध लगायत विभिन्न कारणबाट बेलाबखत संगठित वा असंगठित रूपमा भिड वा हुलदंगा हुने गरेका छन् । विभिन्न किसिमका हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध, धर्ना, चक्काजाम, घेराउ लगायतका उग्र गतिविधि समाजका लागि संवेदनशील क्रियाकलापहरू हुन् ।

भीडलाई व्यवस्थापन गर्न प्रहरीको प्रमुख भूमिका रहन्छ । विभिन्न समयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी संयमता पूर्वक नीति, नियमको परिधिभित्र रहेर सक्रिय रूपमा काम गरी शान्ति सुरक्षा कायम गर्दै आइरहेको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले बल प्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्दै आइरहेको छ । 

भिड नियन्त्रणको क्रममा नेपाल प्रहरीले कम भन्दा कम क्षति होस् भनि विभिन्न रणनीति र उपकरणहरूको प्रयोग गर्ने  गर्दछ । यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “भिड नियन्त्रणको क्रममा घाइते हुनु, क्षति हुनु दुखद कुरा हो । त्यसलाई कम गर्न वा क्षति हुन नदिन नेपाल प्रहरीले भिड नियन्त्रण सम्बन्धि तालिमहरू नियमित रुपमा गराउने गर्दछ । व्यक्तिको मानव अधिकारको सम्मानका साथै स्थानीय र अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै भिडलाई व्यवस्थित गर्ने गरिएको छ । प्रहरी कर्मचारीहरूलाई व्यापक प्रशिक्षण र निरन्तर अभ्यासको व्यवस्था गरिएको छ । साधन स्रोतको उचित व्यवस्थापनमा ध्यान दिइएको छ ।” चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा नेपाल प्रहरीले १ हजार २९ जनालाई भिड नियन्त्रण सम्बन्धी तालिम प्रदान गरेको छ । 

उक्त नौ महिनाको अवधिमा देशभर ३ हजार ८२९ वटा विरोध तथा बन्दका कार्यक्रम भएका छन् । तीमध्ये २ हजार १९१ वटा विरोध र्‍याली, ९७२ वटा धर्ना, ३२२ वटा तालाबन्दी, १२४ पटक बाटो अवरोध, ५१ पटक अनसन, ४६ वटा सवारी साधन तोडफोड, २६ वटा सवारी साधन आगजनी, २० पटक हड्ताल, १४ पटक चक्काजाम र ६३ पटक बन्दका कार्यक्रम गरिएका थिए । भिड नियन्त्रणको क्रममा सो अवधिमा ३ जना प्रदर्शनकारीको दुखद मृत्यु भएको थियो । सो क्रममा प्रदर्शनकारीतर्फ १८५ जना र सुरक्षाकर्मीतर्फ २९१ जना घाइते भएका थिए । स्थितिलाई सामान्य बनाउन १ हजार ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको   थियो । ती कार्यक्रममा हुन सक्ने हुलदंगा र भिड नियन्त्रण गर्न जम्मा १ लाख १३ हजार ३८३ प्रहरी जनशक्ति परिचालन गरिएको थियो । जसमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत ४५ हजार ४३३ जना, कोशी प्रदेश अन्तर्गत २२ हजार जना, मधेश प्रदेश अन्तर्गत १४ हजार ८६३ जना, बागमती प्रदेश अन्तर्गत ४ हजार २७६ जना, गण्डकी प्रदेश अन्तर्गत २ हजार ६४४ जना, लुम्बिनी प्रदेश अन्तर्गत ९ हजार ५४१ जना, कर्णाली प्रदेश अन्तर्गत २ हजार ३४६ जना र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३ हजार १९८ जना रहेका थिए ।  

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष निर्देशनमा प्रहरीले लाठी चार्ज, अश्रुग्याँस, फोहरा र हवाई फायर समेत आवश्यकता र परिस्थित अनुसार बल प्रयोग गरी शान्ति कायम गर्ने/गराउने व्यवस्था रहेको छ । भिड नियन्त्रणको सिद्धान्तले बल प्रयोग गर्दा संयम अपनाएर सकेसम्म कम क्षतिमा नियन्त्रण गर्ने व्यवस्था गरेको छ । कानूनमा व्यवस्था भए बमोजिमका गैह्र घातक उपकरणको प्रयोग गरी नेपाल प्रहरीले काम गर्दै आएको छ । लाउड स्पिकरबाट सूचित गर्ने, मौखिक चेतावनी दिने, सम्झाउने पहिलो चरणमा पर्दछ । पानीको फोहोरा, लाठी, अश्रुग्याँस प्रयोग गरी भिडलाई एकत्रित हुन नदिन र दंगाग्रस्त क्षेत्रबाट हटाउने पहल गर्ने  गर्दछ । तोडफोड, आगजनी, नागरिक असुरक्षा र सुरक्षामा खटिएका कर्मचारीको ज्यानलाई असुरक्षित हुन पुग्ने जस्तो चरम परिस्थिति आएमा हवाई फायर गरेर पनि स्थितिलाई नियन्त्रणमा लिई भीडलाई व्यवस्थापन गर्ने प्रावधान रहेको छ ।  

भिड नियन्त्रणलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरी सक्रिय छ । जन धन तथा भौतिक क्षतिको न्यूनीकरण गर्न समेत नेपाल प्रहरी उत्तिकै क्रियाशील छ । चुनौति धैरै छन् । तर तिनको नेपाल प्रहरीले उचित तरिकाले सामाना गर्दै आइरहेको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “भिड नियन्त्रणलाई अझ व्यवस्थित बनाउन र जस्तो सुकै परिस्थितिलाई नियन्त्रण गर्न न्यूनतम बल प्रयोग, संयमता, स्पष्ट आदेश दिने गरिएको छ । भिड नियन्त्रणमा खटिनुको उद्देश्य, अपनाउनुपर्ने सुरक्षाका मापदण्ड, भिडको प्रकार, भिडसँग गरिने व्यवहार, असवावको प्रयोग लगायतका विषयमा सुरक्षामा खटिने टोलीलाई विस्तृत बिफ्रिङ गर्ने गरिएको छ । भिड नियन्त्रणको क्रममा सुरक्षाकर्मीहरूबाट भएका कमि कमजोरीको समीक्षा गर्ने गरिएको छ । जसबाट आगामी दिनमा त्यस्ता कमि कमजोरी नदोहरिने र भिड नियन्त्रण लगायतका काममा चुस्तता आउने गरेको छ ।” 



सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।