प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका-४  घर भएका  जीवा गौतम भन्ने रमेश बयालकोटी, कालिकोट ठेगाना भएका २७ वर्षीय दर्शन नेपाली, काठमाडौं महानगरपालिका-४ चन्डोल बस्ने मन्जु राना मगर, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-११ बस्ने २३ वर्षीय सहदेव रिजाल, दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३२ वर्षीय रबिन तामाङ र ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-४ बस्ने ३८ वर्षीया तिर्थ माया कार्की रहेका छन् । 

पक्राउमध्ये रमेश बयालकोटी र दर्शन नेपालीले बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोएसिया समेतका देशहरूमा पठाईदिन्छु भन्दै ४ सय २२ जनाबाट ३ करोड भन्दा बढि रकम ठगी गरेको खुल्न आएको छ । आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी भिसा प्लस प्रालि नामक कन्सलटेन्सी दर्ता गरेको, सामाजिक सञ्जालहरूमा विदेश जानको लागि अवसर रहेको भनि विज्ञापन पोष्ट गरी कन्सलटेन्सीमा बोलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीले महाराजगंजस्थित उक्त  कन्सलटेन्सी, जडिबुटिस्थित दर्शनको कोठा र ललितपुर एकान्तकुनास्थित रमेशको कोठाबाट ८४ राहदानी लगायत १ सय ८२ जनाको रेकर्ड फाइलहरू बरामद गरेको छ । 

यसैगरी पक्राउमध्ये मन्जु रानाले सर्भिया र चेक रिपब्लिकको पठाईदिन्छु भन्दै २१ जना पीडितहरूबाट १ करोड ६० लाख रूपैयाँ ठगी गरेको, सहदेवले क्यानडा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ ठगी गरेको, रबिनले अफ्रिका पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ ठगी गरेको र तिर्थ मायाले चेक रिपब्लिकको पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ४० हजार ठगी गरेको खुल्न आएको छ । 

पक्राउ परेकामध्ये रमेश बयालकोटी र दर्शन नेपालीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइने र अन्य व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।