प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हेड अफ एनसिबी कन्फरेन्समा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

२०८१-०१-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ ।

प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।

हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । साथै सदस्य राष्ट्रहरूबीच Expanding access to I-24/7, Sharing more criminal data, Intercepting criminal proceeds, Protecting children र Enhancing data protection लगायतका एजेन्डामा छलफल तथा सहमति भएको थियो ।

National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो प्रतियोगिता सम्पन्न
२०८२-०९-२१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित दोस्रो आइजीपी नेश्‍नल तेक्वान्डो प्रतियोगिता,२०८२ सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गर्नुभयो । साथै उहाँले विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षकहरू एवम् प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न इभेन्टमा विजयी खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा खेलाडीहरूको उज्वल भविष्यको कामना समेत गर्नुभयो । यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने, आत्मविश्वास विकास गर्ने तथा किताबी ज्ञानका अतिरिक्त खेल मार्फत पनि जीवनका अमूल्य पाठहरू सिक्ने अवसर प्रदान गरेको उल्लेख गर्दै प्रतियोगितामा खेलाडीहरूले देखाएको सक्रिय सहभागीता, प्रयास र लगनशीलताको उहाँले उच्च प्रशंसा गर्नुभयो । साथै विद्यालयस्तरको तेक्वान्दो खेल विकासलाई सुनिश्चित बनाउँदै नव प्रतिभाहरूको पहिचान गरी विद्यार्थीहरूमा खेलकुदको प्रवर्धन गर्न समेत यो प्रतियोगिताले योगदान दिएको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले विद्यालयको चौतर्फी विकास र समग्र विद्यार्थीहरूको वृहत्तर हितको लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव गम्भीर रहेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक/शिक्षिका तथा अभिभावक वर्ग समेतले सहकार्य गरी विद्यालयको उन्नतीको लागि सदैव क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य रामप्रसाद भुसालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४५ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको थियो । 

नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण : प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०९-१३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकहरूको अपार समर्थनको कारणले सुरक्षाकर्मीहरूले सफलतापूर्वक काम गरिरहेको चर्चा गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौं बसन्तपुरमा आइतबार आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा भदौ २३ र २४ गतेको “नव पुस्ताको आन्दोलन” पश्चातको सन्दर्भमा नेपाल प्रहरीले सञ्चालन गदै आइरहेको समदुाय-प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनसुन्धान, नागरिक सुरक्षा, विपद उद्दार, सामाजिक सद्भाव तथा अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम-नागरिक र नयाँ पुस्तामा स्थापित गराउने अवधारणा अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सद्‌भावना दुतहरूलाई ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुन:निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गर्नुभयो । साथै सामुदायिक सेवा केन्द्र महांकालको सहकार्यमा विभिन्न समाजसेवी, स्थानीय व्यवसायी तथा नागरिकको सहयोगमा प्राप्त १ थान टोयटा हाइस गाडी प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठले संयुक्त रूपमा प्रहरी वृत्त जनसेवालाई हस्तान्तरण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले यो अभियान नेपाल प्रहरीको मात्र नभई नागरिक र प्रहरीको साझा प्रयास भएको उल्लेख गर्दै यस्ता प्रयासले मात्र सुरक्षित समाज सिर्जना गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो । नागरिकको सौहार्दपूर्ण बोलीवचन व्यवहारले बस्ती, टोल र गाउँहरूमा सेवारत रहनको लागि प्रहरीलाई थप प्रेरित गर्ने बताउनुभयो । विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।  सो अवसरमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख तथा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, काठमाडौं महानगरपालिका-१७ का वडा अध्यक्ष नविन मानन्धर, वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, संगीतकार तथा गीतकार योगेश्वर अमात्य, कर्मयोग फाउण्डेसनका अध्यक्ष सौरभ रिमाल, अभियन्ता एवम् युवा समाजसेवी गणपतिलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठ लगायतले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।   जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका-२३ का वडा अध्यक्ष मचाकाजी महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गर्नुका साथै कुमा सागर एण्ड द ख्वप ब्याण्डले सांगीतिक प्रस्तुती समेत गरेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । 

सात जना नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०९-०७

काठमाडौं, खुला प्रतियोगिताद्वारा प्राविधिक प्रहरी समूहतर्फ प्राविधिक प्रहरी निरीक्षक पदमा नवनियुक्त भएका मध्ये विभागीयतर्फका ७ जना प्राविधिक प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट २०८१ चैत १५ गते प्रकाशित विज्ञापन अनुसार विभिन्न मितिमा प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ जना ७ जना र खुलातर्फ २७ जना गरी कुल ३४ जना प्राविधिक प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ पुस ६ गतेको निर्णयले पुस ७ गतेदेखि लागू हुने गरी उहाँहरू प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले खुलातर्फ नवनियुक्त हुनुभएका २७ जना मध्ये कार्यक्रममा उपस्थित २२ जना प्राविधिक प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कार्कीले खुला प्रतियोगिताबाट नेपाल प्रहरीको प्राविधिक समूहतर्फ प्रहरी निरीक्षक पदमा नियुक्ति लिनु भएका तथा प्रहरी सेवाका विभिन्न पदमा सेवारत रही आजै प्राविधिक प्रहरी निरीक्षक पदको दर्जानी चिन्हबाट सुशोभित हुनुभएका प्राविधिक प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । नागरिक सेवामा समर्पित हुने उत्कट अभिलाषाका साथ प्रहरी सेवालाई रोज्नु भएकोमा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरूलाई नेपाल प्रहरी संगठनमा हार्दिक स्वागत गर्दै निरन्तर व्यावसायिक उन्नयनको शुभेच्छा समेत व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुरक्षा कायम राख्न एवम् अन्य विविध जिम्मेवारी निर्वाहको क्रममा संगठनमा प्राविधिक सेवाको महत्व विस्तृत हुँदै गएको चर्चा गर्दै नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरूले सांगठनिक नीति, नियम र परिधिमा रही उत्कृष्टताका साथ प्रहरी सेवामा समर्पित रहने विश्वास व्यक्त गर्नुभयो । प्रहरी संगठनको श्रीवृद्धिको लागि सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । साथै आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी योजनाबद्ध ढंगले कार्यसम्पादन गर्न सबै प्रहरी कर्मचारीहरू केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो । 

३१ औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता सम्पन्न
२०८२-०९-०४

काभ्रे, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित ३१औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवम् म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले यस किसिमको खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो सीप प्रदर्शन गर्न र आत्मविश्वास विकास गर्न सहयोग पुर्‍याउने चर्चा गर्नुभयो । दैनिक शैक्षिक गतिविधिका साथसाथै खेल मार्फत जीवनका अमूल्य पाठहरू सिक्न महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै नवप्रतिभाहरूको पहिचान तथा खेलकुदको प्रवर्द्धन गर्न समेत यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने उहाँले बताउनुभयो । विद्यालय व्यक्तित्व विकासको आधारशिला भएको चर्चा गर्दै विद्यार्थीहरूको रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न विद्यालयले विभिन्न सिर्जनशील र रचनात्मक कार्यहरू संचालन गरी विद्यार्थीहरूको समग्र बौद्धिक एवम् व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माण गर्न विद्यालय परिवार सदैव क्रियाशील हुन उहाँले आग्रह गर्नुभयो । आज भएको फाइनल खेलमा नेपाल पुलिस स्कुल साँगा रातोले सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई १-० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगा रातो प्रथम, सैनिक आवासीय महाविद्यालय भक्तपुर द्वितीय र पिस पोइन्ट स्कुल बानेश्वर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले समेत गरिएको थियो ।   मंसिर १७ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५  टिमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरू, स्थानीय बासिन्दाहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०९-०३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ३ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई.हरि डंगोल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई.केविन जंग थापा, ई.रोसन सारू र ई.सुन्दर लाखे तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू दिपक केसी (खत्री), बिमल कार्की, ओम प्रकाश शर्मा र कृष्ण बहादुर बस्नेत रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । प्रहरी संगठनमा प्राविधिक समूहतर्फ रही व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा अझै उत्प्रेरित भई आफ्नो लगन र निष्ठालाई अक्षुण्ण राखी संगठनात्मक गतिशीलतामा थप योगदान पुर्‍याउन उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले आफ्नो बोली, वचन र व्यवहारलाई गुणस्तरीय बनाउनुपर्ने बताउँदै  नागरिकका समस्यालाई सम्बोधन गर्दै आफुलाई प्राप्त जिम्मेवारी उच्च मनोबल, सामूहिक भावना, सकारात्मक सोच एवम् इमानदारीपूर्वक सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आसन्न निर्वाचनलाई मध्यनजर गरी देखा पर्नसक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय एवम् सहकार्य गरी आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्न समेत उहाँले बताउनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. हरि डंगोलले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सबैको सामूहिक प्रयास आवश्यक - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०८-१३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।  प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा र लैङ्गिक हिंसा रहित प्रविधि, सुरक्षा र न्यायको विधि भन्ने नेपाल प्रहरीको नारा सहित नेपाल प्रहरी प्रधान कार्यालयमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिकीकरण समेत गर्नुभयो । साथै उहाँले लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैङ्गिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने उल्लेख गर्दै यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो । लैङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य र समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान केवल एउटा अभियान वा अवधिमा सीमित नरही वर्षभरी उत्तिकै उर्जाका साथ सम्बन्धीत सबै निकायहरूले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्रले लैङ्गिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीका सबै निकायहरूबाट सम्पादन भएका काम कारबाहीहरूलाई समेटेको चर्चा गर्दै यस तथ्यपत्रले महिला बालबालिका तथा जेष्ठ नागरिकको हितमा कार्यरत समस्त नेपाल प्रहरीका सकल दर्जाको सदैव प्रतिबद्धता रहेको र आगामी दिनमा लैङ्गिक हिंसा न्यूनीकरणमा समेत मार्गदर्शन गर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय एआइको विकास र प्रविधिको प्रयोगले हिंसा न्यूनीकरणमा थप चुनौती देखा परेको उल्लेख गर्दै नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षा प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी विभिन्न संघसंस्थाहरू, शैक्षिक संस्थाहरु, स्थानीय तह र महिला संजालहरूसँग समेत समन्वय गरी हिंसा विरूद्धका सचेतनामुलक कार्यक्रम संचालनलाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो । लैङ्गिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा गृहमन्त्रालयका उपसचिव मिना अर्याल, राष्ट्रिय महिला आयोगका उपसचिव रोसनी देवी कार्की, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई, युनिसेफ नेपाल चिफ अफ चाइल्ड प्रोटेक्सन Leon Muwoni र स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका उपसचिव कविता अर्यालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको  थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लैङ्गिक हिंसा नियन्त्रण: तथ्यमा वर्तमान अवस्था, विश्लेषण, प्रमुख चुनौती र भावी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।