अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-२७
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-४ बस्ने ५७ वर्षीय मोतिलाल तामाङलाई करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना.८ ख २४०५ नम्बरको माईक्रोमा सवार मोतिलाललाई बोरामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, कटारी नगरपालिका-६ स्थित बैधनाथ खोला र तावा खोलाको दोभानबाट करिब २४ किलोग्राम अवैध लागूऔषध गाँजा सोमबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले बोरामा ल्याउँदै गरेको उक्त गाँजा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।