प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शैलेश्‍वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक उद्यान र द लाइब्रेरी क्याफे उद्‍घाटन

२०८१-०१-२८

  • A
  • A-
  • A+
Share

उदयपुर, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा नव-निर्मित शैलेश्‍वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मृति उद्यान र द लाइब्रेरी क्याफेको शुक्रबार उद्‌घाटन गर्नुभएको छ । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट प्रहरी कर्मचारी र प्रहरीलाई सहयोग गर्नु हुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा तथा ८० वर्षभन्दा बढि उमेर भएका पूर्व प्रहरी कर्मचारीहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । साथै उहाँले शैलेश्‍वर शिव पाञ्चायन मन्दिरमा पुजा अर्चना समेत गर्नुभयो । 

उद्‌घाटन पश्‍चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नव-निर्मित मन्दिरले प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शान्ति मिल्नुका साथै आफ्नो कार्य सम्पादनमा पेशागत दायित्व निर्वाह गर्न, सतमार्ग र सदविवेक प्रयोग गर्न अन्तस्करण भावनाको बृद्धि हुने बताउनुभयो । धार्मिक आस्था एवं विश्‍वासले मानिसलाई सकारात्मक उर्जा प्रदान गर्ने, हौसला मिल्ने र गलत क्रियाकलाप गर्नबाट रोक्नुका साथै कार्य बोझबाट हुने तनाव कम गर्न समेत सहयोग पुग्ने विश्‍वास उहाँले ब्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले रचनात्मक सोचले निर्माण गरिएको क्याफेले प्रहरी र नागरिक बिचको सम्बन्धलाई नजिक बनाउन सेतुको भुमिका निर्वाह गर्नुका साथै प्रहरी कर्मचारीहरूमा पठन पाठनको विकास हुने विचार व्यक्त गर्नुभयो । बौद्धिक जगतका व्यक्तित्वहरूसँग शान्ति सुरक्षा सम्बन्धी समसामयिक विषयवस्तुमा बौद्धिक मन्थन एवं चिन्तन गर्ने थलोको रूपमा लाइब्रेरी क्याफे प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले मन्दिर निर्माण भएबाट प्रहरी कर्मचारीहरूमा सकारात्मक उर्जाको प्रवाह भई कार्य क्षमतामा वृद्धि हुने चर्चा गर्दै नयाँ परिकल्पना स्वरूप रहेको लाइब्रेरी क्याफेबाट ज्ञानगुनका साथै नयाँ ऐन, नीति, नियम, कानूनको बारेमा जानकार रहन अवसर मिल्ने बताउनुभयो । 

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा. कैलाश कुमार राई, त्रियुगा नगरपालिकाका उप-प्रमुख महेश्‍वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनाम, विभिन्न स्थानिय पालिकाहरूका प्रमुख, जन-प्रतिनिधिहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय भद्र भलादमी, नागरिक समाजका प्रतिनिधिहरू, पुर्व प्रहरी कर्मचारीहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैह्र-सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।   

उक्त कार्यक्रम पश्‍चात प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र जिल्लास्थित अमर प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारीहरू बिच समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल समेत भएको थियो ।


सम्बन्धित समाचार
अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. प्रदीप शम्शेर जबराप्रति श्रद्धाञ्जली अर्पण
२०८१-१२-३०

काठमाडौं, ७८ वर्षको उमेरमा चैत ३० गते दिवंगत हुनुभएका अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित नेपाल प्रहरीद्वारा अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण समारोहको आयोजना गरियो । श्रद्धाञ्जली समारोहमा गृहमन्त्री रमेश लेखक, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू तथा नेपाली सेनाका उपरथी समेतले स्व. शम्शेरको पार्थिव शरीरमा फूलमाला चढाई अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराको पार्थिव शरीरलाई आज प्रहरी वृत्त गौशालाको प्राङ्गणमा राखी दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली अर्पण गरी तत् पश्चात पशुपति आर्यघाट सम्म शवयात्रा गरिएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू, सिनियर प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरू एवम् स्व. शम्शेरका आफन्तजनले समेत उहाँको पार्थिव शरीरमा फुलमाला चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. प्रदीप शम्शेर जबराले २०२७ पुस १४ गते प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरी २०५७ कात्तिक १५ गतेदेखि २०५९ पुस १४ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रही अनुकरणीय प्रहरी अधिकृतको रूपमा संगठनमा उच्च व्यवसायिक छवि निर्माण गर्नुभएको थियो ।  

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०८१-१२-३०

काठमाडौं, नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी २०७८ असार १५ गते भएको समझदारीमा उल्लेखित व्यवस्थामा सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दिपक थापा र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सम्झौताको लागि वाणिज्य बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले सुरक्षित र समुन्नत समाज निर्माण गर्ने पवित्र लक्ष्यका साथ अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो ।  सम्झौता अनुसार नेपाल राष्ट्र बैंकले तोकेको आधारभुत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले पेशाकर्मी सरल कर्जमा १.७५ प्रतिशत, घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा २ प्रतिशत, शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/शहिद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता) राष्ट्रिय वाणिज्य बैंकको नियम अनुसार २० (बीस) वर्षसम्मको रू ५०,००,००० (पचास लाख) सम्म घर कर्जा तथा नयाँ सवारी साधन खरिद ७ वर्षको लागि गाडी कर्जा उपलब्ध हुनेछ । प्रहरी कर्मचारीहरूलाई वार्षिक दुर्घटना भई मृत्यु वा पूर्ण अपाङ्ग भएमा रू ५,००,००० (पाँच लाख) को बिमा हुनेछ । नियमअनुसार विदामा रहेका बाहेक अन्य खातावाला कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बिमा दाबी नहुने गरी बिमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बिमा बापत उपलब्ध गराउने गरी नाम उल्लेख गरी बिमा गराउनु पर्नेछ । उक्त बिमाको लागि प्रतिव्यक्ति रू १०० (एक सय) शुल्क लिई बिमा गर्न सकिने छ । यसैगरी सेवा निवृत्त भएका पूर्व प्रहरी कर्मचारीहरूलाई तीन पाङ्ग्रे अटो रिक्सा खरिद तथा सञ्चालनका लागि बैंकको पेन्सनर कर्जा कार्यविधि बमोजिम कर्जा स्व: पूँजी अनुपात ८० प्रतिशत बैंक कर्जा र २० प्रतिशत स्वयमले व्यहोर्ने गरी कर्जा सुविधा प्राप्त हुने र सो कर्जा रकम सीमा कायम गर्दा ६ वर्षको पेन्सन रकम बराबर वा अटो रिक्साको परल मूल्यमा नबढ्ने गरी अधिकतम रू ५,००,००० (पाँच लाख मात्र)  मध्ये जुन कम हुन्छ सोहीको आधारमा कर्जा सीमा प्रदान गरिने छ । साथै कर्जा ५ वर्षको वा बढिमा ६० किस्तामा भुक्तानी हुने गरी अवधि कायम हुनेछ । नेपाल प्रहरी कल्याणकारी शाखाको सिफारिसमा प्रहरी परिवार, अमर/शहिद तथा अशक्त प्रहरी परिवार संलग्न रहने लघुउद्यम स्थापना, कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय स्थापना तथा सञ्चालन गर्न बैंकको विद्यमान कर्जा कार्यविधिको अधिनमा रही व्यवसायको वित्तीय आवश्यकता अनुसार कर्जा उपलब्ध हुने र सो कर्जाको बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । साथै घर कर्जा, एसएमइ तथा कृषी कर्जाको लागि कर्जा सुरक्षा बापत घर/जग्गा अचल सम्पत्ति धितो रोक्का हुने तथा नेपाल प्रहरी संगठनमा सेवा गरी निवृत्तिभरण (अवकाश) प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीहरूको पेन्सन बचत खाता राष्ट्रिय वाणिज्य बैंकमा खोली भुक्तानी लिएको हुनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारी २०८२ वैशाख १ गते बाट लागु हुनेछ ।    उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न
२०८१-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा आउने सर्वसाधारण नागरिकको सेवा गर्ने हेतुले अस्पताल परिसरमा नवनिर्मित ‘नेपाल प्रहरी अस्पताल स-शुल्क फार्मेसी’को उद्‍घाटन गर्नुका साथै उक्त फार्मेसीको अवलोकन समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८१’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुलाई इकोकार्डियोग्राफी मेसिन हस्तान्तरण गर्नुका साथै लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दीपा नुच्छे प्रधानलाई आईसियु भेन्टिलेटर एण्ड प्यासेन्ट मोनिटर मेसिन हस्तान्तरण गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक थापाले अस्पतालको नवनिर्मित फार्मेसीको लागि लजेस्टिक सहायता गर्नुहुने Key Concept Nepal प्रा.लि काठमाडौंका कार्यकारी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी वर्षभरिको  कार्यसम्पदान र सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र समेत उहाँले प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवम् अस्पताललाई हालको स्तरसम्म पुर्‍याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गर्नुभएको भूमिका तथा योगदानको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारी तथा तिनका परिवारजनले प्राप्त गर्ने सेवा सुविधा र गुणस्तरको आधारमा प्रहरी कर्मचारीको मनोबल, उत्प्रेरणा र हौसलामा समेत अभिवृद्धि भई कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको मानवीय व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र समग्र संगठनलाई केन्द्रबिन्दुमा राखि स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय एवम् सेवाग्राहीमैत्री बनाउँदै नेपाल प्रहरी अस्पताललाई “Center For Health Excellence” को रूपमा विकास गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीहरूलाई आव्हान गर्नुभयो । अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्न तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती रूपा थापाले हिटिङ गिजर र फिजियोथेरापी ट्रेड मिल अस्पतालका फिजियोथेरापी विभाग प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. कुशल रानाभाटलाई हस्तान्तरण  गर्नुभयो । साथै संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरी आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्नुभयो । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सन्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू, भिजिटिङ कन्सल्टेन्टहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई शुभकामना तथा ब्यानर हस्तान्तरण
२०८१-१२-२५

काठमाडौं, सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको   छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।  सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र आरोहण कार्यक्रम सम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

प्रहरी महानिरीक्षक दिपक थापाबाट मौलो पूजा सम्पन्न
२०८१-१२-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले चैते दशैंका अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापाले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक थापाले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । 

नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन
२०८१-१२-१७

काठमाडौं, नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच गोष्ठी समापन गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रशिक्षण प्रदायक इकाइहरूले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता तथा देखिएका समस्या एवम् सुधारका लागि आवश्यक पक्षहरू समेतको समीक्षा गर्दै आगामी दिनहरूमा तालिम संचालन गर्दा दूरदृष्टि पुग्नुपर्ने विषयका सम्बन्धमा गोष्ठी फलदायी रहने अपेक्षा रहेको बताउनुभयो । साइबर क्राइम, क्रिप्टोकरेन्सी, आर्थिक तथा वित्तिय अपराध सम्बन्धी अनुसन्धानका क्षेत्रलाई समेत सम्बोधन हुने तालिमका कार्यक्रम आगामी तालिम क्यालेण्डर निर्माणका क्रममा समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले संगठनलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन तथा विकास गर्ने कार्यमा नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । नेपाल प्रहरीमा संचालन हुने तालिमहरूलाई अझ वैज्ञानिक, व्यवस्थित र उद्देश्य मुलक बनाउने लक्ष्यसहित आयोजना गरिएको गोष्ठीमा प्राप्त महत्वपूर्ण र विश्‍लेषणात्मक राय, सुझाव र सल्लाहहरूले तालिम क्यालेण्डर तर्जुमा र संचालन कार्यमा अतुलनीय योगदान पुगेको विचार उहाँले व्यक्त गर्नुभयो ।  प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले गोष्ठीको सार सङ्क्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरू समेतले सुझाव तथा टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा आगामी आर्थिक वर्ष २०८२/०८३ को तालिम क्यालेण्डर निर्माण सम्बन्धमा तालिम आवश्यकता पहिचान, हालसम्म तालिम प्राप्त जनशक्ति र तालिम प्राप्त गर्न बाँकी जनशक्ति विवरण, प्रशिक्षण निकायले आफ्नो प्रशिक्षण ईकाइको विशिष्टता तथा विज्ञता अनुसारको तालिम प्रस्ताव, प्रहरी जवान तथा प्रहरी हवल्दारहरूको तालिम तथा वृत्ति विकासको अवसर समेतलाई ध्यान दिनुपर्ने लगायतका विषयहरूमा छलफल भएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।