प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी जवानको हत्यामा संलग्न सात जना पक्राउ

२०८१-०२-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका-१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु, जरंखु, मनमैजु लगायतका सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्दै आएका भक्तपुर चाँगुनारायण घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर घर भएकी १८ वर्षीया किशोरी, स्याङ्जा आधीखोला घर भएकी २१ वर्षीया बिपना/बसन्ती भन्ने बसुन्धारा कार्की तथा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती घर भएका २१ वर्षीय बुद्द लामा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती घर भएका ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय नाबालक रहेका छन् ।  

प्रहरी जवान घिमिरेको काठमाडौं तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकी नाग टोलस्थित निर्माणाधीन घरमा शव फेला परेपश्चात प्राविधिक विश्‍लेषण तथा अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-१६ स्थित बाईस धारा जंगलबाट पक्राउ गरेको हो । 

ड्युटी सकेर घर जाने क्रममा तारकेश्वर नगरपालिका-११ स्थित खाजा घरमा भेट भएका पूर्व परिचित सचिन र १८ वर्षीया किशोरीले बिरामी भएकोले आश्रयस्थल पुर्‍याईदिने बहानामा घटनास्थलमा लगी अन्य अभियुक्तहरूको सहयोगमा रड, इँटा समेतको प्रयोग गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । लुटपाट तथा महिलासँगको विवाद लगायतका कारण हत्या भएको हुन सक्नेतर्फ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।