प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विवाहको वहानामा चीन पुर्‍याइ मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ ठेगाना भई  चीनको Heilongjiang province को Harbin City मा बसोबास गर्ने ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२७ ठमेलबाट पक्राउ गरेको हो । 

मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा ५ वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाई फकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई २०८० वैशाख १ गते चीनमा पुर्‍याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । मनमायाले पीडितलाई नेपाली ५ लाख रूपैयाँमा बेचबिखन गरेको समेत खुल्न आएको छ । पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा २०८० असार १ गते नेपाल फर्कन सफल भएका थिए ।

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 


सम्बन्धित समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ
२०८२-०४-२३

काठमाडौं, संगठित रूपमा कानून विपरित मानव अङ्ग मृगौला झिकी मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक  पाँचखाल नगरपालिका-१० घर भएका ३५ वर्षीय कुमार भन्ने राज कुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भएका २४ वर्षीय समिर नेपाली र सोही नगरपालिका-४ घर भएका ४७ वर्षीय राकेश नेपाली रहेका छन् । मानव बेचभिखन ब्यूरोबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं महानगरपालिका-२६ मित्रनगर नयाँबसपार्कबाट र राकेशलाई टोखा नगरपालिका-३ बानियाँटारबाट बुधबार तथा राज कुमारलाई काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बाट बिहीबार पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रमममा उनीहरूले पीडितलाई विभिन्न प्रलोभन देखाई २०८२ जेठ महिनामा भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्‍याएको, मृगौला निकाले बापत ६ लाख रूपैयाँ रकम आउने, नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएकोमा पीडितले ईन्कार गर्दा डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा २०८२ साउन ९ गते वाँया मृगौला झिकेको खुल्न आएको छ । साथै उनीहरूले पीडतबाट झिकिएको मृगौला चर्को मुल्यमा बिक्रि गरी मानव अंगको गैरकानूनी व्यापार गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट संगठित अपराध निवारण ऐन, २०७० बमोजिम ७ दन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०४-०८

काठमाडौं, भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ घर भएका ४५ वर्षीय रेशम बहादुर खत्री रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौं बल्खुबाट र रेशम बहादुरलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा पर्सा वीरगंज महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा पीडितलाई भारतमा चालकको काममा लगाई दिन्छुभनि प्रलोभन देखाई २०८२ वैशाख १९ गते बिहान काठमाडौं बल्खुबाट पर्सा वीरगंज पुर्‍याई वीरगंजमा रेशम बहादुरले रिसिभ गरी थप प्रलोभनमा पारी भारतको रक्सौल हुँदै पटना पुर्‍याएको खुल्न आएको छ । साथै पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाईनामिक कम्पनीमा प्रतिव्यक्ति १० हजार भारतीय रूपैयाँ तिर्न लगाई तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको, फेसबुक मेसेन्जरमा अन्य मानिसहरूसँग समेत नयाँ आईडि बनाई कुरा गर्न लगाई विभिन्न प्रलोभनमा पारी भारत बोलाई अनलाईन स्क्यामिङको काम गर्न बाध्य बनाएर २ लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागज समेत गरी करिब २ महिना सम्म बन्धक बनाई राखेको समेत खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०३-०६

पर्सा, मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिका-२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितहरूको उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप  अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०१-१३

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमारे भन्ने चमार तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घर वतनबाट पक्राउ गरेको हो । चमार तामाङ समेतले काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौ, तिमी जस्तो केटीले बढी सुन ल्याउन सक्छौ भनी विश्वास दिलाई २०४४ पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बईस्थित रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठीमा पुर्‍याई भारतीय ८० हजार रूपैयाँमा बेचबिखन गरी उक्त वेश्यालयमा जबरजस्ती ७ वर्ष सम्म वेश्यावृत्तिको काममा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले २०५२ फागुन १ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा तामाङ विरूद्ध जाहेरी दिएकोमा प्रारम्भिक अनुसन्धान सम्पन्न पश्चात अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भई थप अनुसन्धानको लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सक्कल मिसिल प्राप्त भएको थियो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०१-१०

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको घटनामा संलग्न रही वारदात मिति देखि फरार रहेका आशिषलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२२

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-९ बस्ने इलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनि माया लिम्बु भन्ने चिन माया लामा लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ दिपज्योति मार्गबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।