प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

२०८१-०२-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । 

समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गर्नुभयो । गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरूले आफ्नो जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई एक कुशल प्रहरीले प्रदान गर्ने सेवाको अनुभूति हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

तालिमका दौरानमा गरेको मेहेनतले भोलिका दिनमा कार्यक्षेत्रमा आउन सक्ने हरेक चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास लिएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु । साथै, कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने कुरामा पनि म विश्वस्त छु ।’ 

प्रधानमन्त्री दाहालले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यवसायिक एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सम्भव हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य जनशक्ति उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो । 

उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो । नेपाल प्रहरीलाई सक्षम, सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यावसायिकता र वृतिविकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो । 

सुरक्षा फौजमा रहेर देशको सेवा गर्ने अवसर सबैलाई प्राप्त नहुने बताउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘अनेकौं चुनौतिपन सँगै आफूलाई योग्य प्रमाणित गरेर तपाईंहरूले राष्ट्र सेवाको ऐतिहासिक अवसर प्राप्त गर्नुभएको छ । राष्ट्रले गरेको लगानी र दिएको जिम्मेवारी प्रति आत्मबोध गर्दै यहाँहरूले इमानदार र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्‍वस्त छु ।’ विधिको शासन र कानूनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, योजना र कार्यक्रमलाई अक्षरस पालना गर्दै शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा नागरिकमैत्री सेवा दिनेमा विश्‍वस्त रहेको उहाँले बताउनुभयो । प्रहरी कर्मचारीहरूको वृत्तिविकासलाई न्यायसंगत र सेवा सुविधालाई समायानुकूल बनाउन नीतिगत, कानूनी  व्यावसायिक र व्यवहारिक रूपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।  

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवा केवल रोजगारी मात्रै नभई एउटा विशिष्ट जीवनशैली भएको चर्चा गर्दै यस सेवामा आवद्ध हुन उच्चानुशासन पवित्र निष्ठा, अदम्य साहस, निरन्तर सिकाई र अविचलित समर्पणको आवश्यकता रहने बताउनुभयो । अपराधको अन्तर्राष्ट्रियकरण, बढ्दो आप्रवासन, संगठित अपराधको वृद्धि एवम् बदलिँदो संस्कृतिले उब्जाएका नवीन चुनौतिहरूको सामना गर्न समायानुकूल सक्षम, सक्रिय, व्यावसायिक प्रहरी अधिकृतहरू आज यस समारोहमाझ दीक्षित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो । 

प्रहरी नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी निरीक्षकहरूलाई एउटा मन्त्र सँधै मनन गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेका अधिकारहरूलाई शक्तिको रूपमा होइन यसलाई राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नु हुनेछ ।’ 

समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । साथै उहाँले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ मंसिर २५ गतेबाट शुरू भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १८ महिला सहित कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको जानकारी दिनुभयो ।

प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।

दीक्षान्त समारोहमा संघीय सांसद एवम् पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, प्रधानसेनापति प्रभुराम शर्मा, गृह सचिव एकनारायण अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा अनुशिक्षण कार्यक्रम सम्पन्न
२०८२-०८-२९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्न तथा सो अनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य-प्रभावकारिता र कार्यदक्षता अनुगमन एवम् मूल्याङ्कन गर्ने प्रयोजनको लागि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको मंसिर २५ गतेको बैठकबाट पारित कार्यसम्पदान र मूल्याङ्कन ढाँचा सम्बन्धमा उक्त अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकले यस प्रणालीले वस्तुनिष्ठ मूल्याङ्कनको आधार तयार गर्ने र संगठनलाई आगामी दिनमा कुनै पनि योजना बनाउन मद्दत पुग्ने बताउनुभयो । यस प्रणाली मार्फत विभिन्न प्रहरी इकाइहरूको तुलनात्मक अध्ययन गर्ने अवसर मिल्नुका साथै आफुले गरेको कामको मूल्याङ्कन समेत आफैले विश्लेषण गरी सुधार गर्ने अवसर प्राप्त गरी समग्रमा कार्यसम्पादनको स्तर वृद्धि हुने उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले अनुशिक्षणको उद्देश्य एवम् प्रभावकारिता बारे जानकारी दिनुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरले अनुशिक्षण कार्यक्रमको परिचय, उद्देश्य, कार्यसम्पादन अभिलेखका लागि निर्दिष्ट कार्यालयहरू, औचित्य, प्रतिवेदनको ढाँचा, सूचकहरूको संख्यात्मक विवरण, कार्यसम्पादनका मुख्य क्षेत्रहरू, प्रतिवेदन प्रणाली, मूल्याङ्कन प्रणाली, मूल्याङ्कन भार, उत्प्रेरणा र सुधार एवम् अपेक्षित उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको केन्द्रीय अभिलेख प्रणाली विकास गरी सो इकाइहरू वा सम्बद्ध कार्यालय प्रमुखहरूको कार्यसम्पादन तदारूकता, तत्परता, पहलकदमी एवम् समग्र कार्यसम्पादन स्तरको वस्तुगत मूल्याङ्कन/मापन गर्दै सो अभिलेख प्रणालीलाई सम्बद्ध प्रहरी इकाइहरूको कार्यसम्पादन स्तरको तुलनात्मक अध्ययनका साथै प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन समेत गर्ने प्रयोजनले 'कार्यसम्पादन र मूल्याङ्कन अभिलेख ढाँचा' तयार गरिएको हो । यो प्रणाली पुस १ गतेदेखि कार्यान्वयन हुनेछ ।विभिन्न कार्यालयहरूका प्रमुख र कर्मचारीहरूबाट सम्पादित कार्यहरूलाई प्रभावकारी रूपमा अभिलिखित गर्ने, कार्यसम्पादनको स्तरलाई वस्तुगत र परिमाणात्मक (अंकभार र तुलनात्मक विश्लेषण) रूपमा मापन गर्ने तथा प्राप्त नतिजाहरूलाई नीतिगत सूचना र निर्णय प्रक्रियामा सहायक सिद्ध हुने गरी विश्लेषण गर्ने प्रयोजनका लागि यस प्रणाली विकास गरिएको हो । यो अभिलेख प्रणाली सांगठनिक र इकाइगत कार्यसम्पादनको प्रभावकारिता र कार्यदक्षता मापनका लागि उपयोगी हुने र यस प्रतिवेदनको कार्यान्वयन प्रहरी कार्यालयहरूको आवधिक मूल्याङ्कन प्रणालीलाई यथार्थपरक, वस्तुनिष्ठ र समयसापेक्ष समेत बनाउन उपयोगी हुनेछ । 

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८२-०८-२६

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि २१ जना र प्रहरी सहायक निरीक्षक पदका लागि ४ सय ३८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइटwww.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी निरीक्षक पदको लागी पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् भने प्रहरी सहायक निरीक्षक पदको लागी पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न
२०८२-०८-२६

काठमाडौं, आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको मनोबल वृद्धि गर्दै समाजमा पुनर्स्थापना गराउन यस सुधार केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गर्न तथा केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउन केन्द्रका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सरोकारवाला निकायहरू र नागरिक समाजबाट महत्वपूर्ण सुझाव तथा सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आसरा सुधार केन्द्रकी सचिव शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा उपचाररत सदस्यहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

मोटरसाइकल आउट राइडर्स तालिम सुरू
२०८२-०८-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको मोटरसाइकल आउट राइडर्स तालिम आइतबारबाट सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले उक्त तालिमको उद्‍घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिई योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अशोक केसीले ३५ कार्य दिनको उक्त तालिममा १ जना प्रहरी सहायक निरीक्षक र २९ जना प्रहरी जवान गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता
२०८२-०८-१४

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता  भएका छन् । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो ।  साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका Lucas Philippe नियुक्त हुनुभएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो ।उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गर्नुभएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८२-०८-१०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३०औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।