प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

२०८१-०२-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । 

समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गर्नुभयो । गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरूले आफ्नो जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई एक कुशल प्रहरीले प्रदान गर्ने सेवाको अनुभूति हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

तालिमका दौरानमा गरेको मेहेनतले भोलिका दिनमा कार्यक्षेत्रमा आउन सक्ने हरेक चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास लिएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु । साथै, कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने कुरामा पनि म विश्वस्त छु ।’ 

प्रधानमन्त्री दाहालले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यवसायिक एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सम्भव हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य जनशक्ति उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो । 

उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो । नेपाल प्रहरीलाई सक्षम, सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यावसायिकता र वृतिविकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो । 

सुरक्षा फौजमा रहेर देशको सेवा गर्ने अवसर सबैलाई प्राप्त नहुने बताउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘अनेकौं चुनौतिपन सँगै आफूलाई योग्य प्रमाणित गरेर तपाईंहरूले राष्ट्र सेवाको ऐतिहासिक अवसर प्राप्त गर्नुभएको छ । राष्ट्रले गरेको लगानी र दिएको जिम्मेवारी प्रति आत्मबोध गर्दै यहाँहरूले इमानदार र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्‍वस्त छु ।’ विधिको शासन र कानूनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, योजना र कार्यक्रमलाई अक्षरस पालना गर्दै शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा नागरिकमैत्री सेवा दिनेमा विश्‍वस्त रहेको उहाँले बताउनुभयो । प्रहरी कर्मचारीहरूको वृत्तिविकासलाई न्यायसंगत र सेवा सुविधालाई समायानुकूल बनाउन नीतिगत, कानूनी  व्यावसायिक र व्यवहारिक रूपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।  

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवा केवल रोजगारी मात्रै नभई एउटा विशिष्ट जीवनशैली भएको चर्चा गर्दै यस सेवामा आवद्ध हुन उच्चानुशासन पवित्र निष्ठा, अदम्य साहस, निरन्तर सिकाई र अविचलित समर्पणको आवश्यकता रहने बताउनुभयो । अपराधको अन्तर्राष्ट्रियकरण, बढ्दो आप्रवासन, संगठित अपराधको वृद्धि एवम् बदलिँदो संस्कृतिले उब्जाएका नवीन चुनौतिहरूको सामना गर्न समायानुकूल सक्षम, सक्रिय, व्यावसायिक प्रहरी अधिकृतहरू आज यस समारोहमाझ दीक्षित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो । 

प्रहरी नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी निरीक्षकहरूलाई एउटा मन्त्र सँधै मनन गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेका अधिकारहरूलाई शक्तिको रूपमा होइन यसलाई राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नु हुनेछ ।’ 

समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । साथै उहाँले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ मंसिर २५ गतेबाट शुरू भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १८ महिला सहित कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको जानकारी दिनुभयो ।

प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।

दीक्षान्त समारोहमा संघीय सांसद एवम् पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, प्रधानसेनापति प्रभुराम शर्मा, गृह सचिव एकनारायण अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा विभिन्न प्रहरी कार्यालयका प्रवक्ता सँग छलफल एवम् अन्तरक्रिया
२०८२-११-०५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले पत्रकार सम्मेलन वा प्रेस विज्ञप्तिमा देखिने प्रवृत्तिहरू, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूलाई नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम सुरू
२०८२-१०-१८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने तेस्रो समूहको ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक ई. भरत कुमार श्रेष्ठलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान ९ जना गरी कुल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव सम्पन्न
२०८२-१०-१०

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । सो अवसरमा उहाँले विद्यालयको वार्षिक मुखपत्र (दिप्तिका) को विमोचन गर्नुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष कार्कीले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, वार्षिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने उत्कृष्ट विद्यार्थी, उत्कृष्ट विद्यार्थीहरूको समूह, उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट शिक्षकहरू र उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो ।   कार्यक्रममा संघकी अध्यक्ष कार्कीले संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै विद्यालयले विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिका साथसाथै व्यवहारिक सीप, आचरण र सामाजिक जिम्मेवारीमा समेत सक्षम बनाउनुपर्ने बताउनुभयो । साथै विद्यालयको निरन्तर उन्नती तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले स्वागत मन्तव्य तथा विद्यालय सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूबाट गीत, सांस्कृतिक नृत्य तथा तेक्वान्दो कला समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, अभिभावकहरू, शिक्षकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान
२०८२-१०-०७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित मोटरसाइकल आउटराइडर्स तालिम २४ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर २१ गतेबाट संचालित ३५ कार्यदिन अवधि रहेको उक्त तालिममा  प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान २९ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

४७ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८२-१०-०६

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४७ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महशुस गराउनुपर्नेमा जोड  दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ७ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४४ जना गरी कुल ४७ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकउत्सवको अवसरमा गीति रचना प्रतियोगिता
२०८२-०९-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ७० औं वार्षिकउत्सव २०८२ को अवसरमा “राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गान (Anthem)” को लागि देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गरेको छ ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सोमबार प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित गर्दै ईच्छुक महानुभावहरूलाई सहभागिताको लागि आव्हान समेत गरेको छ । जसमा ईच्छुक महानुभावहरुले २०८२ माघ १५ गते कार्यालय समयभित्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको महाराजगंजस्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न सक्ने वा ईमेल ठेगाना npa_anthem@nepalpolice.gov.np मा पनि आफ्नो रचना पठाउन सक्नेछन् । निर्णायकबाट छनौट भएको उत्कृष्ट गीति रचनालाई ५१ हजार रूपैयाँ नगद र प्रशंसापत्र प्रदान गर्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । साथै उत्कृष्ट गीति रचनालाई संगीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानको रूपमा प्रहरीले प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।  प्रतियोगिता सम्बन्धी शर्त तथा थप जानकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको वेबसाइटमा राखिएको छ ।