प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री रमेश लेखक

२०८१-०५-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ । 

इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । 

सो अवसरमा गृहमन्त्री लेखकले समारोहलाई दिप प्रज्वलन गरी विधिवत रूपमा उद्‍घाटन गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ को विमोचन गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा लिखित ‘नेपाल प्रहरी’ गीत सार्वजनिक समेत गर्नुभयो । 

गृहमन्त्री लेखकले दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ग्लोबल कलेज अफ म्यानेजमेन्टका रूचि खरेल, द्वितीय हुने जेभियर एकेडेमीका प्रत्युश महर्जन र तृतीय हुने विश्वनिकेतन माविका निर्मल विक तथा उक्त प्रतियोगिताका मुल्याङकन कर्ताहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै इन्टरपोलको १००औं बार्षिकोत्सवको अवसरमा इन्टरपोल महासचिवालयद्वारा सन् २०२३ मा आयोजित Global Video Contest प्रतियोगितामा नेपाल प्रहरीद्वारा निर्माण गरिएको “Let’s Save the Planet” विषयक भिडियो सर्वोत्कृष्ट घोषित भएको हुँदा उक्त भिडियो निर्माण गर्नुहुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठलाई समेत उहाँले सम्मानपत्र प्रदान गर्नुभयो । 

गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने बताउनुभयो । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको उल्लेख गर्नुहुँदै यस कार्यक्रमले कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहयोगको संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको बताउनुभयो । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै अपराधको चुनौतिहरूलाई सम्बोधन गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको बताउनुभयो । 

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठित अपराध, साइबर अपराध, आतंकवाद, आर्थिक अपराध लगायतका अपराध विरुद्ध लड्न एवम् त्यसता अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदान प्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा सामना गर्न सकिने उहाँले बताउनुभयो । 

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त समारोहमा अन्तर्राष्ट्रिय समन्वयमा प्रहरीको भूमिका र महत्वका बारेमा तयार पारिएको डकुमेन्ट्री भिडियोसमेत प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडाल, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायतको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-२९

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रमबीच एक दिवसीय गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कास्कीको पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार निर्मूल गर्ने एवम् तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु वर्तमान सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उक्त पूर्वनिर्धारित कार्य पुरा गर्न आवश्यक सुरक्षा व्यवस्थापनको कार्य भइरहेको बताउनुभयो । स्वच्छ निर्वाचननै लोकतन्त्रको प्रमुख मर्म रहेकोले यसका लागि आवश्यक छलफलको लागि सरकार सदैव तयार रहेको बताउँदै गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीलाई मध्यनजर गरी जेनजी आन्दोलनमा लुटिएका हतियारहरू फिर्ता गर्न र कारागारबाट भागेका कैदीबन्दीहरूलाई फिर्ता गर्न मन्त्रालयले विशेष अपरेशन चलाइरहेको बताउनुभयो ।सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेरिएको राजनीतिक परिस्थिति र थपिएको सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउँदै प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीले न्यून साधनस्रोतका वावजुद उच्च मनोबलका साथ कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । समाजमा देखापरेका सुरक्षा चुनौतीहरूको सामना गर्न प्रहरी सदैव तयार रहेको बताउँदै गोष्ठीबाट प्राप्त भएका निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गरी प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन र आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वयका साथ कार्यसम्पदान गर्ने उहाँले बताउनुभयो । नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव गोविन्द रिजाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-१६

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले जनताहरूलाई सुरक्षाको अनुभूति दिन, प्रभावकारी सेवा प्रवाह र सुशासन स्थापित गर्न यो गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो । विधिको शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गर्दै आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै देखिएका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उहाँले बताउनुभयो । सीमित स्रोत र साधनको बाबजुद सुरक्षा निकायहरूले निर्वाह गरेका कार्यहरू प्रशंसनीय रहेको चर्चा गर्दै सुरक्षा निकायहरूलाई अझ व्यावसायिक र साधन स्रोत सम्पन्न बनाउन आफ्नो साथ र सहयोग निरन्तर रहि रहने समेत उहाँले बताउनुभयो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था र अपराध सम्बन्धी प्रमुख समस्या तथा चुनौतीहरूको पहिचान गरी ती चुनौतीहरूको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गर्न गोष्ठी उपलब्धीमूलक भएको बताउनुभयो । गोष्ठीबाट प्राप्त भएको निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न तथा आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वय गरी कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।  नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-०९

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीले प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई पूर्णरूपले सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो । राजश्व चुहावट नियन्त्रणमा शुन्य सहनशीलताको नीति अबलम्बन गरी व्यावसायिक ढंगले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै आसन्न चुनावलाई निष्पक्ष र शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशमा देखिएका सुरक्षा चुनौतीहरूको पहिचान गरी उपयुक्त रणनीतिको तर्जुमा गर्दै ती चुनौतीहरूको सम्बोधन गर्न तथा एकीकृत र समन्वयात्मक रूपमा काम गर्नको लागि आयोजना गरिएको यस गोष्ठी महत्वपूर्ण र उपलब्धिमुलक भएको बताउनुभयो । सीमा अपराध, साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना र विपतजन्य घटनाहरू लगायत विभिन्न सामाजिक अपराधहरू चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्न सचेतना, समायानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य गरी प्रदेशको समग्र सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचनलाई लक्षित गरी प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको बिदाइ
२०८२-०७-२६

काठमाडौं, गृहमन्त्री ओम प्रकाश अर्यालले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई शुभकामना सहित बिदाइ गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री अर्यालले ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले अवकाश पछिको दिनमा पनि प्रहरी संगठनलाई सुदृढ गर्न एवम् देशको आन्तरिक सुरक्षालाई सुदृढ गर्नको लागि योगदान दिनुहुनेछ भन्ने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।   कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले ३० वर्ष प्रहरी सेवामा रहेर नेपाल र नेपाली जनतालाई पुर्‍याउनु भएको अमुल्य योगदानको प्रशंसा गर्नुभयो । आगामी दिनमा मुलुकमा शान्ति सुरक्षा कायम गर्न प्रहरी महानिरीक्षक खापुङ्गले प्राप्त गरेका अनुभव समेत प्राप्त भइरहने अपेक्षा रहेको बताउँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत उहाँले दिनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्दै नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनका साथै मन्त्रालयबाट भएको समन्वय, सहकार्य र सद्‌भाव प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता - गृहमन्त्री ओमप्रकाश अर्याल
२०८२-०६-३०

काठमाडौं, ३१ असोज, गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै उहाँले उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड समेत दिनुभयो । ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताउनुभएको हो ।  समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो । सो अवसरमा गृहमन्त्री अर्यालले सुनसरी इनरूवा नगरपालिका-१ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार बेदराज भण्डारीकी छोरी वेनिका भण्डारी र मोरङ रतुवामाई नगरपालिका-५ का अमर प्रहरी स्वर्गीय प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको छोरा निखिल ठाकुरलाई अच्युत-मिना अमर प्रहरी पुरस्कार तथा बैतडी शिवनाथ गाँउपालिका-२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका-५ का अमर प्रहरी जवान राम बहादुर साउदको छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोति कला मिथिला अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो ।   सो अवसरमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०८२” को लोकार्पण एवम् नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको “प्रहरी स्मारिका, २०८२” को लोकार्पण समेत गर्नुभयो । ‍  समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री अर्यालले अभाव, प्रभाव र दबाबको बाबजुद हरेक विषम परिस्थितिलाई प्रहरी संगठनले दृढतापूर्वक सामना गर्दै राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको चर्चा गर्दै आमनागरिक र राज्यले सामना गरेका हरेक विषम परिस्थितिमा निस्वार्थ सेवाभावका साथ प्रभावकारी कार्यसम्पादन गरेको बताउनुभयो । निष्पक्ष अनुसन्धान र प्रचलित कानुनको कार्यान्वयन कानुनी राज्यका आधार भएको र निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनको साथै राज्यमा दण्डहीनताको अन्त्य समेत गर्ने उल्लेख गर्दै नेपाल प्रहरीले कुनै स्वार्थ तथा शक्तिको प्रभाव र दबाबमा नपरी आचरण, व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार गर्दै निष्पक्ष अनुसन्धानमा केन्द्रीत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । गृहमन्त्री अर्यालले वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू, प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू बढ्दै गएको र अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै त्यस्ता अपराधहरूको नियन्त्रण, रोकथाम तथा सफल अनुसन्धान गर्न नेपाल प्रहरी हरदम तयार हुनुपर्ने बताउनुभयो । साथै बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहना अनुरूप उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्न उहाँले प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीलाई साधन स्रोतले सुसज्जित बनाई सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह मन्त्रालय सदैव कटिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री अर्यालले शहादत प्राप्त अमर प्रहरी कर्मचारीहरूको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले अमर प्रहरीका परिवारहरूलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   समारोहमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द, पूर्व आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराल, गृहसचिव रामेश्वर दंगाल, सशस्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य बिशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी नेपालको संविधान प्रचलित ऐन कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति सांगठनिक रूपमा पूर्णत निष्ठावान रहदै आएको बताउनुभयो । हालको राजनीतिक परिवर्तनको परिस्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिले विमुख नभएको र विमुख हुने कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै सांगठनिक सुदृढीकरण, आधुनिकीकरण र स्रोत साधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तिकरणसँग जोडिएको हुँदा यी विषयहरू नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीलाई आजको स्थिति सम्म आइपुग्न हाम्रा सत् प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपबाट सहयोग पुर्‍याउनुहुने अग्रज प्रहरी कर्मचारीहरू, विभिन्न संघ संस्थाहरू तथा सर्वसाधारण नागरिकहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-१७

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team को अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोत साधन र तालिमको कमिका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको चर्चा गर्नुभयो । सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उहाँले उपस्थित कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्कता र भावी योजना लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।