अवैध लागूऔषध सहित पक्राउ
२०७८-०९-१४
- A
- A-
- A+
भक्तपुर, चाँगुनारायण नगरपालिका-३ झौखेलबाट १३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ झौखेल बस्ने ५३ बर्षीया बुद्धलक्ष्मी सुवाल र सोही ठाउँ बस्ने ४५ वर्षीया गुमरथुकु सुवाल रहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बुद्धलक्ष्मीको साथबाट ९ किलो र गुमरथुकुको साथबाट ४ किलो ३ सय ग्राम गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-११ दुधेबाट ३ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ र नगद ७ हजार रुपैयाँ सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शिबसताक्षी नगरपालिका-११ बस्ने २१ वर्षीय सौरभ कडेरिया, सोही ठाउँ बस्ने २२ वर्षीय निशान न्यौपाने र सोही नगरपालिका-११ बस्ने पाँचथर यासोक गाउँपालिका-२ घर भएका २८ वर्षीय प्रकाश खड्का रहेका छन् । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।